• २७ पुस २०८१, शनिबार

कोशीको परिणाम अप्रत्याशित

blog

फाइल तस्बिर

काठमाडौँ, माघ १७ गते । सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको एक सिटमा आएको परिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार झन्डै चार घण्टा भएको छलफलमा शीर्ष नेताबिच १९ सिटमध्ये गठबन्धनले एक सिट गुमाएको सन्दर्भमा गम्भीर समीक्षा गरेर अघि बढ्ने समझदारी पनि भएको छ । बैठकपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले परिणामका सन्दर्भमा फेरि पनि छलफल गर्ने समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभा निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रूपले गम्भीर छलफल भएको छ । कोशी प्रदेशमा जुन अप्रत्याशित परिणाम आएको छ, यो गम्भीर र चिन्ताजनक छ । अझै छलफल गर्ने निर्णय भएको छ ।”

गठबन्धनको साझा सरोकार

नेता लेखकले कोशी प्रदेशको विषय कुनै एक दलको मात्रै नभएको बताउनुभयो । उहाँले गठबन्धनका दलको गम्भीर सरोकार यो विषयमा रहेको र यसमा गम्भीर विश्लेषण गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “कोशी प्रदेशको विषय प्रधानमन्त्री र कांग्रेस सभापतिको मात्रै सरोकारको विषय होइन, समग्रमा यो गठबन्धनकै सरोकारको विषय हो । सबैलाई थाहा छ, गठबन्धनले १९ जना नै हाम्रा साझा उम्मेदवार हुन् भनेर उम्मेदवारी दिइसकेपछि यो पार्टी र त्यो पार्टीको उम्मेदवार भन्ने सवाल नै भएन ।”

उहाँले कोशी प्रदेशको परिणामले गठबन्धनमा कुनै असर नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन एकीकृत छ, हामी सबै एकै ठाउँमा छौँ भन्ने समझदारी नेताबिचमा छ । यो परिणाम अप्रत्याशित भन्ने कुरामा सबै गम्भीर हुनुहुन्छ ।” 

उहाँले गोप्य मतदान भएकाले मतदानका विषयमा तत्काल कसैलाई दोषी भन्न नमिल्ने बताउनुभयो । उहाँले ‘कसले फ्लोरक्रस ग¥यो, कसले मत दिएन भन्ने कुरामा समीक्षा हुने बताउँदै गोप्य मतदान भएकाले यसले मत दियो, यसले दिएन भन्ने तहसम्मै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो अहिले नै छलफल हुने विषय पनि होइन । तर यसले गठबन्धनलाई प्रतिकूल प्रभाव पारिहाल्ने कुरा छैन । किनभने यो हामी सबैको साझा विषय भएकाले साझा ढङ्गले नै हामी छलफल र विश्लेषण गर्छौं ।”

कोशी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेत्री रुक्मिणी कोइराला विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री चम्पादेवी कार्की पराजित हुनुभयो । 

संसदलाई बिजनेस दिने

गठबन्धन दलका शीर्ष नेताको बैठकमा संसद्लाई क्रियाशील बनाउने सन्दर्भमा पनि छलफल भएको छ । नेता लेखकका अनुसार सरकारले विधेयक तयार गरिरहेको र ती विधेयकहरू संसद्मा प्रस्तुत गर्ने सन्दर्भमा छलफल भएको छ । 

उहाँले संसदीय समितिमा रहेका विधेयकलाई चाँडै संसद् बैठकमा लैजाने समझदारी शीर्ष नेताबिच भएको बताउनुभयो । साथै गठबन्धन दलका संसदीय दलका प्रमुख सचेतक र सचेतक बसेर विधेयकका सन्दर्भमा थप छलफल गर्ने निर्णय पनि भएको छ । यसैबिच मधेश प्रदेशमा सरकारबाट बाहिरिएको जनमत पार्टीका सन्दर्भमा गठबन्धन दलबिच छुट्टै बैठकमा छलफल हुने भएको छ ।