• २७ पुस २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड उदयपुर आउनुहुने

blog

उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन । तस्विरः भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, माघ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उदयपुर आउनुहुने भएको छ । सरकारी लगानीमा सञ्चालित मुलुकको सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगको जलजलेस्थित प्लान्ट क्षेत्रको स्थलगत निरीक्षण र रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न माघ २० गते प्रधानमन्त्री प्रचण्ड उदयपुर आउनुहुने भएको हो ।

केही दिन पहिले मात्र नेपाल सरकारले उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमतामा वृद्धि गर्न १६ करोड रुपियाँ अनुदान दिने निर्णय गरेलगत्तै प्रधानमन्त्रीको यो उद्योग निरीक्षणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि यहाँ आउनुहुने उदयपुर सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष केशव बस्नेतले जानकारी दिनुभयो । 

उद्योगको जलजलेस्थित प्लान्ट क्षेत्रको स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाको भुट्टारस्थित प्रशासनिक भवन उद्घाटन गर्न जानुहुने र सोही क्रममा सिदालिस्थित उद्योगको खानी क्षेत्रको समेत हवाई अवलोकन गर्नुहुने कार्यक्रम रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताउनुभयो ।

प्रधानमन्त्रीले उद्घाटन गरेपछि सोही भवनबाट पालिकाले जनतामा सहजतापूर्वक प्रशासनिक सेवा प्रवाह गर्ने रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताउनुभयो । सात करोड ८७ लाख रुपियाँको लागतमा हालै निर्माण सम्पन्न भएको सुविधासम्पन्न सो भवनका २८ वटा कोठाहरू रहेको पालिकाका लेखा अधिकृत भुपध्वज रायमाझीले बताउनुभयो ।