गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १६ गते । मन्थली–चिसापानी–पुरानागाउँ सात किलोमिटर सडक निर्माण कार्य अलपत्र छाडिएको र नियामक निकाय रमिते बनेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् ।
मन्थली नगरपालिका–८ का चिसापानीवासीले विकास निर्माणमा भएको ढिलासुस्ती र नियामक निकायको गैरजिम्मेवारीप्रति खबरदारी गर्दै सङ्घर्ष समितिसमेत निर्माण गरेका छन् । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नागरिक सरोकार तथा सङ्घर्ष समितिका संयोजक प्रकाशकुमार श्रेष्ठले सो सडक निर्माणमा भएको लापरबाहीप्रति ठेकेदार कम्पनी, सांसद, प्रदेश सभा सदस्य, स्थानीय तह, नियामक निकाय, जिल्ला समन्वय समितिलगायत निकायमा जानकारी गराइए पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।
संयोजक श्रेष्ठका अनुसार बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७६/७७ मा टेन्डर भई सो सडक निर्माण कार्य थालिएको हो । २०७८ पुस २८ गतेसम्म सडक निर्माण गरी हस्तान्तरण गर्नुपर्ने थियो । सात किलोमिटर सडक कालोपत्रेसम्म गर्ने सो ठेक्कामा १९ करोडमा एमएस कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो । सो ठेक्काको १५ करोड ३२ लाख ७६ हजार ६८७ रुपियाँ भुक्तानी भए पनि दुई किलोमिटर मात्र कालोपत्रे भएको बताइन्छ ।
संयोजक श्रेष्ठका अनुसार समयमा सडक निर्माण नगरी अलपत्र छाडेको विषयमा स्थानीयले चर्को विरोध गरेपछि वडा कार्यालयको अग्रसरतामा निर्माण व्यवसायी र भौतिक पूर्वाधार विकास कार्यालयबिच २०७९ पुस ६ गते बैठक बसी २०७९ चैत मसान्तसम्म सडक निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । निर्माण कार्यमा ढिलासुस्ती र लापरबाही गरिएपछि भौतिक पूर्वाधार विकास कार्यालय रामेछापमा समेत जानकारी गराइएकोमा गैरजिम्मेवारीपूर्ण जवाफ पाएको संयोजक श्रेष्ठले बताउनुभयो । तथापि सडक अझै अलपत्र रहेको र धुलो सडकका कारण विद्यालयको अध्यापन र स्थानीयवासीलाई समस्या परेको स्थानीय राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
सङ्घर्ष समितिले निर्माण कम्पनीको ढिलासुस्ती र नियामक निकायको गैरजिम्मेवारीप्रति प्रचारात्मक आन्दोलन, ध्यानाकर्षण, धर्ना र बजार बन्दसम्मको कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
मन्थली नगरपालिका–८, चिसापानीमै निर्माणाधीन स्वास्थ्य चौकी र भीमेश्वर माध्यमिक विद्यालयको भवनसमेत समयमा निर्माण सम्पन्न हुन नसकेको प्रति सङ्घर्ष समितिले चासो व्यक्त गरेको छ ।