राममणि दाहाल
हेटौँडा, माघ १६ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अहिले हामीले प्राप्त गरेका उपलब्धिहरू वीर सपुतहरूकै बलिदानबाट सम्भव भएको बताउनुभएको छ । आज मङ्गलबार माघ १६ मा सहिद दिवस मनाउँदै गरेको सन्दर्भमा सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले यस्तो बताउनुभएको हो ।
उहाँले सहिदहरूको सङ्घर्ष र त्यागको मर्मलाई सदैव आत्मसात् गर्नुपर्ने भन्दै सन्देशमा नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुति दिनुहुने वीर सहिदहरूलाई एक दिन मात्र सम्झिएर उहाँहरूले देख्नुभएको सपना साकार पार्न नसकिने बताउनुभयो । प्रमुख शर्माले सन्देशमा भन्नुभएको छ, ‘सहिदहरूका सपना साकार पार्न र उहाँहरूले देखाउनुभएको मार्गमा हिँड्नका लागि प्रण गर्ने दिनका रूपमा आजको दिनलाई सम्झनुपर्दछ । ’
नेपालका वीर सपुतहरूले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन उहाँहरूको बलिदानको सम्मानमा सहिद दिवस मनाउँदै आइएको भन्दै प्रमुख शर्माले हामीले प्राप्त गरेका उपलब्धिहरू वीर सपुतहरूकै बलिदानबाट सम्भव भएको बताउनुभयो ।
प्रमुख शर्माले सन्देश जारी गर्दै राष्ट्र,राष्ट्रियता,स्वतन्त्रता,समानता,नागरिक हक अधिकारको रक्षालगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।