पाँचथरको फाल्गुनन्द गाउँपालिका इलामको देउमाई र पाँचथरको फिदिम नगरपालिका तथा पाँचथरकै कुम्मायक र मिक्लाजुङ गाउँपालिकासँग जोडिएको छ ।उर्वर फाल्गुनन्द गाउँपालिकाको प्रमुख आयस्रोत धान, मकै, तोरी, दाल र कोदो, सुन्तला, कागती, किवी, एभोकाडो र अकबरे खुर्सानी आदि हो । मेची राजमार्गले छोएको राँके बजार यहाँको मुख्य व्यापारिक नाका हो ।
यस गाउँपालिकामा नेपालका १६ औँ विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देलको समाधिस्थल, सिलौती, सुकेपोखरी, लोहकिल, छालासुकुवा, नाम्सामी र केसामी जस्ता दर्जनभन्दा धेरै धार्मिक र पर्यटकीय स्थल छन् । यसै गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेसँग गोरखापत्रका फिदिम समाचारदाता राधा लुइटेलले गर्नुभएको कुराकानी :
गाउँपालिकाको नेतृत्वमा आएपछि के कस्ता परिवर्तन ल्याउन सफल हुनुभयो ?
स्थानीय सरकारसँग सम्बन्धित काममा नागरिकले झमेला बेहोर्नु नपरोस् भन्ने हाम्रो ध्येय छ । सात वटा वडा रहेको यस गाउँपालिकाका नागरिकको सजिलोका लागि हामीले योजना सम्झौता, सामाजिक सुरक्षा भत्ता वितरण र बैङ्क खाता खोल्ने जस्ता काम टोलटोलमा पुगेर गर्न थाल्यौँ । नागरिकले ससाना कामका लागि गाउँपालिका र बैङ्क धाउनुपर्ने बाध्यता अन्त्य भयो । असार मसान्तमा भुक्तानी लिन आउने सेवाग्राहीले पनि लाममा बस्नु परेको छैन ।
यस गाउँपालिकाको कृषि क्षेत्रको प्रवर्धनका लागि के कस्ता नीति बनाउनुभएको छ ?
हाम्रो प्राथमिकता कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन नै हो । हामीले किसानलाई प्रोत्साहन गर्न यो वर्षदेखि ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार दिन थालेका छौँ । ५० मुरीदेखि एक सय मुरी धान फलाउनेलाई नगद ३० हजार र एक सय मुरीभन्दा धेरै फलाउनेलाई ५० हजार रुपियाँ नगदसहित पुरस्कृत गरिने भएपछि बाँझो रहेको जमिन खनजोत गरेर उत्पादन बढाउन किसानलाई हौसला मिलेको छ । अर्को वर्षदेखि किसानका खलासम्म पुग्ने मोटरबाटो निर्माण र स्तरोन्नति, यान्त्रिकीकरणमा सहयोग तथा मकै र आलु जस्ता बालीलाई प्रोत्साहन गर्न मापदण्ड बनाएर थप किसान पुरस्कृत गर्ने योजना छ ।
पर्यटन विकासका के कस्ता योजना बनाउनुभएको छ ?
पर्यटन विकास गर्न स्थानीय तहसँग भएको स्रोतसाधन मात्रै पर्याप्त हुँदैन । त्यसैले हामी प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्दै छौँ । स्थानीय उत्पादनलाई प्रवर्धन गर्न राँके बजारमा अकबरे खुर्सानीको स्तम्भ, गुम्बाडाँडामा आलुको स्तम्भ निर्माण भएका छन् । नेपालका १६ औँ विभूति महागुरु फाल्गुनन्दको समाधिस्थल रहेको सिलौती, सुकेपोखरी र लोहकिल जस्ता स्थानमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेर केही काम थालनी भएको छ ।
निकै उर्वर माटो रहेको यस गाउँपालिकाले किसानका उत्पादनको बजारीकरणका लागि पनि केही काम गर्दै छ कि ?
किसानको उत्पादन सोझै गाउँपालिकाले खरिद गर्नेभन्दा पनि फलफूल र तरकारी बालीको भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने र स्थानीय उत्पादन प्रवर्धन गर्ने प्रकृतिका थुप्रै काम गरेका छौँ । जसले किसानले उत्पादन गरेका वस्तु तत्काल बिक्री नभए कुहिएर जाने अवस्था आउने छैन ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा के कस्ता योजना छन् ?
गाउँपालिकाका माध्यमिक विद्यालयमा मातृभाषामा पठनपाठन सुरु भएको छ । गाउँपालिका मातहतमा रहेका सबै कार्यालयका बोर्ड र डिजिटल बोर्डहरू लिम्बू भाषामा लेख्ने प्रावधान मिलाइएको छ । यहाँका विद्यालयमा लिम्बू, राई र तामाङ भाषालाई ऐच्छिक रूपमा पठनपाठनको व्यवस्था मिलाइएको छ । यसबाट मातृभाषाको संरक्षण र प्रवर्धन हुनुका साथै रोजगारी प्रवर्धनसमेत भएको छ ।
स्वास्थ्यतर्फ पालिकाका ज्येष्ठ नागरिकलाई घर घरमै पुगेर औषधी वितरण र स्वास्थ्य परीक्षण गर्ने, वडा वडामा गर्भवती परीक्षणका लागि घुम्ती भिडियो एक्सरे सेवा सञ्चालन गरिएको छ । पालिकामा रहेका अति विपन्न नागरिकलाई स्वास्थ्य बिमा गरिदिनेदेखि गरिब परिचयपत्र वितरण गरेर सेवा सुविधामा प्राथमिकीकरण गर्ने जस्ता काम अगाडि बढेका छन् ।
नागरिकका गुनासा र मागलाई कुन माध्यमबाट कसरी सम्बोधन गर्दै आउनु भएको छ नि ?
हामी गाउँपालिकामा निर्वाचित भएपछि नागरिकको सेवालाई नै केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाएका छौँ । गुनासा र सुझाव ग्रहण गर्न सार्वजनिक सुनुवाइ वडा वडामै पुगेर गर्र्छौं । नागरिकका आवश्यकता र गुनासा के छन् ? सार्वजनिक सुनुवाइसँगै औपचारिक र अनौपचारिक कार्यक्रममा सुन्छौँ । आवश्यकताको प्राथमिकीकरण गरेर नीति कार्यक्रममै समावेश गर्दै योजना अगाडि बढाउने पद्दति सुरुवात गरेका छौँ । जसले नागरिक र स्थानीय सरकारबिच सामीप्यता बढेको छ ।
गाउँपालिका र वडामा सडक सञ्जालको अवस्था कस्तो छ ?
गाउँपालिकाका सात वटै वडामा कच्ची नै भए पनि सडक पुगेको छ । केही सडकमा स्तरवृद्विको काम भइरहेको छ । मर्मत सम्भारका लागि गाउँपालिकाकै एक्साभेटर तैनाथ छ । जसले सबै वडामा पालैपालो पुगेर सडक मर्मत गर्छ । यहाँका सबै सडकलाई स्तरवृद्धि गरी बाह्रैमास चल्न सक्ने बनाउने हाम्रो प्रयास छ । सडकको अवस्था राम्रो भएमा यहाँ उत्पादित कृषि र खाद्यसामग्री निर्यात गर्न, आवश्यक सामग्री आयात गर्न र बिरामी परेका बखत स्वास्थ्य संस्था जान सहज हुने छ ।
यहाँले यस पालिकामा भोग्नु भएका केही चुनौती पनि छन् कि ?
मुख्य चुनौती भनेको स्रोतको सीमितता हो । सङ्घ र प्रदेशबाट प्राप्त हुने बजेट सीमित छ । वित्तीय समानीकरण र राजस्व बाँडफाँटको रकम क्रमशः घट्दो छ । दरबन्दी अनुसार कर्मचारी छैनन् । लोक सेवा आयोगमा स्थायी कर्मचारी पदपूर्तिका लागि माग गरिएको छ । करारमै नियुक्त कर्मचारीमार्फत भए पनि प्रशासनिक र प्राविधिक सेवा उपलब्ध गराउँदै आएका छौँ ।