• ९ मंसिर २०८१, आइतबार

हिमालयन हाइड्रो एक्स्पो वैशाखमा

blog

काठमाडौँ, माघ १५ गते । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । हरेक दुई वर्षमा गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२ गतेदेखि १४ गतेसम्म गर्न लागेको इप्पानले जनाएको छ ।

एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने निश्चित गरेको छ । यही सम्भावनालाई यथार्थमा रूपान्तरण गर्ने गरी जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।

एक्स्पोमा जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरू, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, सिमेन्ट, डन्डीलगायतका सामग्रीको प्रदर्शनी हुने छ । यससँगै जलविद्युत्, सोलार, हाइड्रोजनलगायतका विषयमा सेमिनार तथा छलफलसमेत आयोजना गरिने इप्पानले जनाएको छ ।

एक्स्पोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाहरूका बिचमा प्रतिस्पर्धा गराउनुका साथै विभिन्न विद्युत् आयोजनाका बारेमा जानकारी दिन डेमोहरू प्रस्तुत गर्ने तय गरिएको जनाइएको छ । एक्स्पोमा दुई सयभन्दा बढी स्टल रहने र करिब २५ अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने अपेक्षा इप्पानको छ ।