रामेछाप समाचारदाता
रामेछाप, माघ १४ गते । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै पालिकामा १६ वर्षपारि नागरिकता जारी अभियान सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीलाई अपराध नियन्त्रणसम्बन्धी सचेतना तथा जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा जानकारी दिन छलफल गर्ने उद्देश्यले जिल्ला प्रशासनले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
दुई नगरपालिका र छ वटा गाउँपालिका रहेको जिल्लाको लिखुतामाकोशी गाउँपालिकाबाट गत भदौ १६ गतेबाट जिल्ला प्रशासनले यो अभियान सुरु गरेको थियो । शनिबार मन्थली नगरपालिकामा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी छलफल तथा अन्तव्रिर्mया कार्यक्रम गरी यो अभियानको समापन गरिएको छ ।
कार्यक्रममा नागरिकतालगायत सरकारी कागजात बनाउन आवश्यक पर्ने कागजातको बारेमा जिल्ला प्रशासन रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले जानकारी गराउनुभएको थियो । उहाँले नेपालको संविधान र ऐन कानुन अनुसार प्रदान गरिने वंशज, अङ्गीकृत, गैरआवासीय नेपाली र सम्मानार्थ नेपाली नागरिकताका बारेमा जानकारी गराउँदै नागरिकता सिफारिस गर्दा वडाध्यक्ष र वडा सचिवले ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला प्रशासनमा आउने ९० प्रतिशत समस्या १६ वर्ष पुग्नसाथ नागरिकता नलिएकै कारण उत्पन्न भएको पाइएपछि जिल्लाका सबै पालिकामा १६ वर्षपारि नागरिकता जारी अभियान सञ्चालन गरिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “छोरा हुन् वा छोरी १६ वर्ष पूरा हुनेबित्तिकै नागरिकता बनाइदिने कुरामा अभिभावक सचेत हुनु पर्छ । अज्ञानताको कारणले कतिपय नागरिकले समयमा नै नागरिकता नलिँदा धेरै दुःख खेप्नु परेको देखेका छौँ । यही कुरालाई ध्यानमा राखेर यो अभियान सबै पालिकामा सञ्चालन हुन्छ ।”
“नागरिकता समयमा नै बनाइदिने हो भने धेरै समस्या समाधान हुन्छ, समयमा नागरिकता नबन्दा महिलाहरूले धेरै दुःख पाएका छन्, समयमा नै नागरिकता बनाइदिने कुरामा जनप्रतिनिधिको ठुलो भूमिका हुन्छ,” उहाँले भन्नुभयो, “१६ वर्ष पुग्नसाथ नागरिकता नलिँदा र विवाहपश्चात् नागरिकतामा पति कायम नगरेकै कारण ४० वर्ष कटेका महिलाहरू विभिन्न समस्यामा पर्ने गरेको उहाँको भनाइ छ ।
मन्थली नगरपालिका–७ का वडाध्यक्ष भुवनहरि प्रसाईले जिल्ला प्रशासनले सञ्चालन गरेको १६ वर्षपारि नागरिकता जारी अभियानले अनभिज्ञताका कारण द्विविधा भएको धेरै विषयहरूमा प्रस्ट बनाएको बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले प्रशासनले सञ्चालन गरेको यो अभियानले नागरिकको मौलिक हकभन्दा पहिलो रहेको नागरिकताको सवालमा धेरै कुरा प्रस्ट पारेको बताउनुभयो । बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले नागरिकताबारे जनप्रतिनिधि र कर्मचारीहरू प्रस्ट नहुँदा हुने कमजोरीका कारण जनताले दोहोरो तेहेरो दुःख पाइरहेको कुरामा सबै सचेत बन्नुपर्ने बताउनुभयो ।