• २७ पुस २०८१, शनिबार

बुटवलको पार्किङ समस्या समाधान गर्न पहल सुरु

blog

पार्किङस्थल खोजीका लागि गठित कार्यदलको बैठक । तस्विरः छविलाल पाण्डे ।

छविलाल पाण्डे 

बुटवल, माघ १२ गते । बुटवलको पार्किङ समस्या समाधान गर्न गठित कार्यदल पार्किङ स्थानको खोजी तथा व्यवस्थापनमा जुटेको छ । कार्यदलको बुटवल उद्योग वाणिज्य सङ्घमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेर एउटा निष्कर्षमा पुग्नेगरी तयार गरिएको कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो । 

बुटवलको पार्किङ समस्या समाधानको लागि बुटवल उद्योग वाणिज्य सङ्घको अग्रसरतामा बुटवल उपमहानगरपालिका ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्वपक्षीय पार्किङ व्यवस्थापन कार्यदल गठन गरिएको थियो । 

सोही कार्यदलको बैठकले पार्किङ समस्या समाधानको लागि स्थानको पहिचान गरी ती स्थानलाई व्यवस्थापन मिलाउन प्राविधिक पक्षलाई समेत विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्ने निर्णय गरिएको कार्यदलका संयोजक समेत रहनुभएका बुटवल ५ का वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तत्कालको लागि लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गा, लुम्बिनी प्रदेश प्रमुखको कार्यालयको छेउमा रहेको खाली जग्गा, बुटवल बालमन्दिर लगायतका स्थानलाई पार्किङको रूपमा प्रयोग गर्न सकिन्छ । ती ठाउँलाई कसरी प्रयोग गर्ने, पार्किङको लागि सम्भावित सवारी साधन कति छन्, कति ठाउँ चाहिन्छ जस्ता कुराहरूलाई स्थलगत निरीक्षण गरी प्राविधिकसँग विश्लेषण गरेर अगाडि बढ्ने उहाँले जानकारी गराउनुभयो । 

पार्किङ व्यवस्थापनको लागि कार्यदलले सुरुवाती समयमा बजार क्षेत्र वडा नं. ४, ५, ६ र ८ मा पर्ने अमरपथ, संगमपथ, राममन्दिर लाइन, बिपी चोक, ट्राफिकचोक तथा अस्पताललाई (भुड्की चोक) मा पार्किङको वैकल्पिक व्यवस्थापनमा जुटेको हो । 

यो दीर्घकालीन व्यवस्थापन भने होइन । दीर्घकालीन समस्या समानको लागि योजना बनाएर काम गर्नुपर्छ । पार्किङ समस्यालाई दिगो रूपमा समाधान गर्नको लागि सबैभन्दा पहिला व्यवस्थापन योजना निर्माण गर्नुपर्ने बुटवल उपमहानगरपालिकाका इन्जिनियर गोविन्द पङ्गेनी बताउनुहुन्छ । 

लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गामा कम्प्लेक्स बनाउने योजना छ । त्यस्तै पूर्वपश्चिम महेन्द्र राजमार्गको तिनाउ पुलमा सिग्नेचर ब्रिज बनाउने योजना छ । यी पूर्वाधार निर्माण गर्दा पार्किङ मात्रै नभएर यहाँको ट्राफिक व्यवस्थापन पनि अझै कठिन हुनेछ । इन्जिनियर पङ्गेनीका अनुसार त्यसलाई पनि मध्येनजर गरेर पार्किङ व्यवस्थापनको योजना बनाउनुपर्छ । 

बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार समेत खस्किँदै गएको र व्यापार व्यवसायलाई लयमा फर्काउनको लागि पार्किङ व्यवस्थापन अति आवश्यक भएको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो । उहाँले पार्किङ समस्या समाधान हुन सकेन भने भोलिका दिनमा बजार नै विस्थापित हुनसक्ने र त्यतिबेला आफ्ना घरका सटरहरू खाली हुने स्थिति आउन नदिनको लागि समयमै गम्भीर हुन त्यस क्षेत्रका घरधनीलाई आग्रह गर्नुभयो । 

ट्राफिक व्यवस्थापन योजना स्थानीय सरकारले पनि स्वामित्व ग्रहण गर्ने खालको हुनुपर्छ । जसले गर्दा कार्यान्वयन गर्न सहज हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलकी प्रहरी निरीक्षक शोभा पाण्डे बताउनुहुन्छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले पार्किङका लागि आउने सवारी साधन, ठुला गाडिलाई बजारमा छिर्न दिने नदिने, रिक्साको सहज व्यवस्थापन सबैकुराको सम्बोधन हुनेगरी योजना बनाउन सकियो भने कार्यान्वयनमा पनि सहज हुने र त्यसले ट्राफिक व्यवस्थापनलाई पनि सहयोग गर्ने बताउनुभयो ।