• २७ वैशाख २०८२, शनिबार

सुविधासम्पन्न स्थानीय सरकार

blog

घरदैलोमै स्थानीय सरकार आएपछि विकास निर्माणका लागि जिल्ला सदरमुकाम र राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्थानीय सरकार स्थापना भएसँगै सिंह दरबारको अधिकार गाउँ गाउँमा पुग्न थालेको हो । अधिकार गाउँ गाउँमा पुग्ने गरी स्थानीय सरकार गठन भए पनि गाउँमा कार्यालय बस्ने खालका भवनको अभाव थियो । अभावबिच नै गाउँका सामान्य कच्ची घरका कोठाबाट स्थानीय सरकारले कार्य गर्न थालेका थिए । अहिले उनै स्थानीय सरकारले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गरेका छन् भने कुनै सरकारका भवन निर्माणाधीन अवस्थामा छन् । घरदैलोमै स्थानीय सरकार आएपछि विकास निर्माणका लागि जिल्ला सदरमुकाम र राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । ससाना कामका लागि जिल्ला र काठमाडौँ धाउँदा समय र पैसा दुवैको बचत हुनुका साथै सहज रूपमा गाउँबाटै सेवा प्राप्त गर्न सकिएको छ । 

धुर्कोट गाउँपालिकाले बर्बोटको सामान्य कच्ची घरबाट सेवा प्रवाह गर्न थालेको थियो । सामान्य ढुङ्गा र माटोबाट बनेको कच्ची घरबाट सरकारको सेवा प्रवाहमा कठिन नै थियो । जेनतेन सेवा प्रवाह गर्दै आएको धुर्कोटले पछि बहुउद्देश्यीय सभा हल निर्माण गरेर सेवा प्रवाह गर्दै आएको छ । पालिकाको प्रशासकीय भवनको निर्माण भने अन्तिम चरणमा पुगेको छ । 

सामान्य कच्ची घरबाटै सेवा प्रवाह गरेको मालिका गाउँपालिकाले विभिन्न समस्या झेल्दै सभा हल र अहिले पालिकाकै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गरेको छ । गत फागुन १ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा भवनको उद्घाटन गराई पालिकाले औपचारिक रूपमा प्रशासकीय भवनबाट सेवा प्रवाह गरेको छ । तत्कालीन समयमा त्यस टेलिफोन र इन्टरनेटले समेत काम नगर्ने स्थानमा सेवा प्रवाहमा झेल्नु परेको समस्या तत्कालीन गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले स्मरण गर्नुभयो । असार मसान्तको समयमा विद्युत् पनि नहुनुका साथै इन्टरनेटमा आउने समस्याका कारण भुक्तानी प्रक्रियामा समस्या आउने उहाँले अहिले पनि ताजै भएको बताउनुहुन्छ । आफूहरू निर्वाचित हुँदा कार्यालयको कुनै व्यवस्था नभएकाले ठुलीचौरमा शपथग्रहण स्मरण गर्दै अहिले आफ्नै सुविधासम्पन्न भवन बन्नु र त्यहाँबाट सेवा प्रवाह गर्न पाउनु सुखद पक्ष भएको उहाँ बताउनुहुन्छ । 

सदरमुकाम तम्घासमै रहेको रेसुङ्गा नगरपालिकाले पनि स्थापनाकालदेखि नै भाडाकै घरबाट सेवा प्रवाह गरेको थियो । अहिले भने नगरले पनि आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गरेको छ । यस्तै मुसीकोट नगरपालिकाले पनि स्थापनाकालदेखि नै भाडाकै घरबाट सेवा प्रवाह गरेको थियो । मुसीकोट नगरले केही महिना पहिले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरी प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराई सेवा प्रवाह गरेको छ । 

रुरुक्षेत्र गाउँपालिकाले स्थापनाकालदेखि कृषि सेवा केन्द्रको भवनबाट सेवा प्रवाह गरेको थियो । रुरुक्षेत्रले अहिले घिउँबेँसीमा सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरी सेवा प्रवाह गरेको छ । मदाने गाउँपालिकाले साबिकको गाविस कार्यालयबाट सेवा प्रवाह गरेको छ भने प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । चन्द्रकोट गाउँपालिकाले स्थापनाकालदेखि नै चन्द्रकोट क्याम्पसको भाडाको भवनबाट सेवा प्रवाह गरेको छ । चन्द्रकोट क्याम्पस चलाउने आफूहरूको पनि दायित्व भएको र सिधै क्याम्पसलाई अनुदान दिनुभन्दा खाली क्याम्पसको भवनलाई भाडामा लिएर सेवा प्रवाह गर्दै दुवै पक्षको हित हुने भएकाले क्याम्पसको भवन भाडामा लिई सेवा प्रवाह गरेको तत्कालीन गाउँपालिका अध्यक्ष दोर्णबहादुर खत्रीले बताउनुभयो । हाल उक्त गाउँपालिकाको प्रशासकीय भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ । 

लामो समयसम्म भाडाकै घरबाट सेवा प्रवाह गरेका सत्यवती र छत्रकोट गाउँपालिकाले हाल गाउँपालिकाको सभा हलबाट सेवा प्रवाह गर्दै आएका छन् । यस्तै स्थापनाकालदेखि नै भाडाकै घरबाट सेवा प्रवाह गर्दै आएको इस्मा गाउँपालिकाले केही महिनापहिलेदेखि विद्यालयको भवनबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ । गुल्मीदरबार गाउँपालिकाले तीन वटा भवनको मासिक झन्डै ७५ हजार रुपियाँ भाडा तिरेर भाडाकै घरबाट सेवा प्रवाह गरेको छ । उसले प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया अगाडि बढेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । यस्तै कालीगण्डकी गाउँपालिकाले दुई वटा भवन भाडामा लिएको छ । उसले मासिक ९० हजार भाडा तिर्ने गरेको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले जानकारी दिनुभयो । पालिकाको प्रशासकीय भवन निर्माणका लागि केही जग्गा अपुग भएको र किन्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।  

Author

तिलाचन पाण्डे