• २२ वैशाख २०८१, शनिबार

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

blog

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी झक्कुप्रसाद सुवेदी र विष्णुदेवी सुवेदी । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी हुनुभएको हो । 

घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको परिसरमा  भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई पराजित गर्दै सुवेदी र सापकोटा विजयी हुनुभएको हो । 

निर्वाचनमा सुवेदीले ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुनुभएको छ । विजयी सुवेदीले प्रदेशसभातर्फ २ हजार ७ सय ५६ र स्थानीय तहतर्फ २ हजार ६ सय ७९ मतभार प्राप्त गरी विजयी हुनुभएको हो । 

त्यसैगरी, सापकोटा ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुनुभएको हो । सापकोटाले प्रदेशसभाअन्तर्गत २ हजार ७ सय ५७ र स्थानीय तहतर्फ २ हजार ६ सय ७९ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवार झपेन्द्र घर्ती क्षेत्रीले तीन हजार ३९ मतभार र केसी  दुई हजार ८ सय ६७ मत प्राप्त गर्नुभयो । घर्तीले प्रदेशसभाअन्तर्गत एक हजार ६ सय ४३ र स्थानीय तहतर्फ एक हजार तीन सय ९६ मतभार प्राप्त गर्नुभएको हो । त्यसैगरी, केसीले प्रदेश सभा अन्तर्गत एक हजार पाँच सय ३७ र स्थानीयतर्फ एक हजार तीन सय ३० मतभार प्राप्त गर्नुभयो ।

त्यसैगरी, महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिंहले दुई सय ५० मतभार र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले दुई सय ५० मतभार प्राप्त गर्नुभयो । 

बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको  निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये  ३ सय ३ मत खसेको थियो । निर्वाचनमा बाँके नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय निर्वाचनमा सहभागी नभएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय बिरामी भएका कारण र नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले आफूलाई थाहा नभएका कारण निर्वाचनमा सहभागी हुन नसकेको जानकारी गराउनुभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । श्रीवास्तव जनता समाजवादी पार्टी र उपाध्याय लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको थियो ।