हरेक वर्ष जस्तै यस पटक पनि शीतलहरका कारण तराई/मधेशको जनजीवन निकै कष्टकर बनेको छ । शीतलहरकै कारण बर्सेनि सरदर ४० जनाको ज्यान जाने गरेको नेपाल प्रहरीको तथ्याङ्कमा देखिनुले यसको भयावह स्थितिको आकलन गर्न सकिन्छ । विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा अत्यन्त चिसो शीत निरन्तर खसिरहन्छ । मौसमविद्हरूका अनुसार सापेक्षिक आद्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत भएर कुहिरोका रूपमा पृथ्वीको सतहमा रहन्छ । जसले गर्दा जमिनको सहतनजिकको वायुमण्डल चिसो र त्यसभन्दा माथिल्लो भागको वायुमण्डल न्यानो हुन्छ । दिन छिप्पिँदै जाँदा पृथ्वीको सतहको तापक्रम पनि बढ्दै गएर वायुमण्डलको जलकण पुनः जलवाष्पमा परिणत हुन्छ । यसरी कुहिरोको तह बाक्लिँदै गएर सूर्यका किरण पृथ्वीको सतहसम्म आउन नसकेको अवस्थालाई नै शीतलहर भनिने गरिएको मौसमविद्हरूको भनाइ छ ।
न्यून तापक्रम, जलवाष्पको प्रचुरता, प्रशस्त धुलीकण र कुहिरो फटाउने सामथ्र्यको सौर्यताप पृथ्वीको सतहसम्म नआइपुग्नु नै शीतलहरको प्रमुख कारण मानिएको छ । सामान्यतः अन्य अवस्थामा खासै चिसो अनुभव गर्न नपरेको क्षेत्रका बासिन्दाका लागि हप्तौँसम्म यस किसिमको चिसो वातावरण एकाएक भोग्नुपर्दा सहन क्षमतामा कमी हुनुका कारण तराई/मधेशमा शीतलहर कष्टकर हुने गरेको हो । शीतलहरको प्रभाव भने हामीकहाँ मात्र हुने होइन । पाकिस्तानको रावलपिन्डीदेखि बङ्गलादेशको रङ्गपुरसम्म फैलिने गरेको शीतलहरले खास गरी दक्षिण एसियाको उत्तरी मैदानी इलाकामा धेरै प्रभाव पार्ने गरेको छ । यसले हरेक वर्ष करिब एक अर्ब मानिसलाई प्रभावित गर्ने गरेको विभिन्न अध्ययनले देखाएको मौसमविद्को भनाइ छ । शीतलहरले मानव स्वास्थ्यमा असर गर्नुका साथै बालीनाली, पशुचौपाया, सडक यातायात, हवाई उडान, पर्यटन, शैक्षिक संस्थालगायतमा पनि उत्तिकै प्रभाव पार्ने हुँदा जीवनयापन निकै सकसपूर्ण हुने गरेको यथार्थ जगजाहेर छ ।
यतिबेला तराई/मधेशको जनजीवन पुसको अन्तिम सातादेखि सुरु भएको शीतलहरका कारण निकै कष्टकर बनेको देखिन्छ । कतिपय क्षेत्रमा त मध्य पुसदेखि नै शीतलहर सुरु भइसकेको थियो । अधिक चिसोका कारण ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी एवं केटाकेटी बढी प्रभावित भएका छन् । शीतलहरका कारण ‘कोल्ड डाइरिया’, भाइरल ज्वरो, निमोनिया, क्रोनिक कफ, रुघाखोकी, श्वासप्रश्वासमा समस्या, हाडजोर्नीलगायतका बिरामीले अस्पताल तथा स्वास्थ्य संस्थामा चाप बढेको छ । यस्ता बिरामीको तत्काल उपचारमा सहज पहुँच पु-याउन आवश्यक देखिन्छ । सार्वजनिक स्थलमा दाउरा तथा घुर बालेर ताप्ने दैनिकी नै बनेको छ । कतिपय शिक्षण संस्थामा बिदा दिइएको छ । स्थानीय तहले आगो ताप्न दाउरा वितरण गरेर शीतलहरबाट जोगाउने प्रयत्न गरेका भए पनि यसरी बाँडिएका दाउरा अपर्याप्त भएको स्थानीयको गुनासो छ ।
आर्थिक रूपमा विपन्न परिवारले स्थानीय तह एवं सङ्घ संस्थासँग न्यानो कपडाका लागि आग्रह गरिरहेका भए पनि समयमा व्यवस्थापन हुन सकिरहेको छैन । दैनिक ज्यालादारी गरेर जीवनयापन गर्नेहरूका लागि त झनै ठुलो समस्या देखिएको छ । प्रदेश सरकार तथा स्थानीय तहले गरिब तथा विपन्न परिवारलाई चिसोबाट बचाउन आवश्यक प्रबन्ध मिलाउने आश्वासन हरेक वर्ष दिँदै आएका भए पनि व्यवहारमा चाहिँ ‘आग लागी झुपडी त डेढ घडी भद्रा’ को लोकोक्ति चरितार्थ हुँदै आएको यथार्थलाई नकार्न सकिने अवस्था छैन । शीतलहर चलुन्जेल विधि र प्रक्रिया पु-याउन तथा जोहो गर्नमै समय लाग्ने र शीतलहरको कहर सकिन लाग्दा मात्र व्यवस्थापन हुने परम्परागत रोगको उपचार अझै हुन सकिरहेको छैन । आगो लागेपछि तत्काल निभाउनेतिर लागिहाल्नुपर्नेमा भद्रा अवधिभर कुनै कार्य गर्न हुँदैन भनेर ज्योतिषीले निषेध गरे जस्तो गरेर पर्खिंदा झुपडी खरानी बनिसकेको हुन्छ । ठिक यस्तै स्थिति शीतलहर एवं अन्य प्राकृतिक विपत्तिमा पनि देखिने गरेको भुक्तभोगीको भनाइलाई मनन गर्नुपर्ने हुन्छ ।
त्यसो त सरकारले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा नियमावली २०७६ जारी गरेर प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपत् व्यवस्थापन समिति गठन गरेको छ । प्रदेशमा पनि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपत् व्यवस्थापन परिषद् र विपत् सम्बन्धित मन्त्रालयको मन्त्रीको अध्यक्षतामा प्रदेश विपत् व्यवस्थापन समितिको व्यवस्था छ । यति हुँदाहुँदै पनि समयमा व्यवस्थापन गर्न नसक्दा हरेक विपत्मा परेका नागरिकले सास्ती खेप्ने क्रममा सुधार हुन नसक्नुप्रति पीडितको रोष प्रकट हुनु नाजायज मान्न हुँदैन । विपत्मा परेका नागरिकको जीवन रक्षा गर्नु सरकारको जिम्मेवारी भएकाले शीतलहरबाट जोगाउन हरेक तह र तप्का तत्काल व्यवस्थापन कार्यमा लाग्न आवश्यक देखिन्छ ।