• ९ मंसिर २०८१, आइतबार

युवालाई स्वदेशमै रोजगार

blog

नेपालबाट महिनामा झन्डै ५० हजार युवा रोजगार वा अध्ययनको क्रममा विदेश जाने गरेका छन् । देशका करिब ५० लाख जनशक्ति अहिले पनि विदेशी भूमिमा पसिना बगाइरहेको आकलन गरिएको छ । अध्ययन तथा रोजगारीको क्रममा बिदेसिने कतिपय युवा त्यहीँ घरजम गरेर बस्ने गरेका पनि छन् । नेपाली युवा बिदेसिनुको प्रमुख कारण राजनीतिक वितृष्णा, शिक्षित बेरोजगारी, अरूको सिको अनि थेग्नै नसक्ने महँगी नै हो । यसरी दक्ष तथा अर्धदक्ष जनशक्ति विदेश पलायनले भोलि देशको अवस्था के हुने हो भन्ने चिन्ता लिनु र यसको समाधानमा केन्द्रित हुनु आजको प्रमुख विषय हो । 

उद्योगधन्दा बन्द हुँदै जानु, नयाँ उद्योगधन्दा स्थापनाका लागि वातावरण नबन्नु, स्वदेशमा श्रम बिक्री हुने क्षेत्र पनि दिनानुदिन तहसनहस हुनुले जनशक्ति पलायन भइरहेका छन् । अब यसमा परिवर्तन हुन जरुरी छ । जनतालाई आभास हुने गरी विकासका लागि सरकारले काम गर्नु अपरिहार्य छ । हाल बिदेसिएका युवाले पठाएको रेमिट्यान्सले देशको अर्थ व्यवस्थालाई सघाए पनि, उनीहरूको पारिवारिक जीवनस्तरमा सुधार आए पनि यो दीर्घकालीन समाधानको बाटो भने होइन । 

देशमै केही गर्छु भनेका युवाले पनि आर्थिक, सामाजिक समस्या झेल्नु परेको छ । यी समस्या समाधानका लागि युवालाई गाउँगाउँमा गएर सहयोग गर्ने वातावरण निर्माण गर्नु पर्छ । नत्र उनीहरूमा देशप्रेम तथा देशप्रति सकारात्मक भावना बढ्नुको सट्टा, वितृष्णा र नकारात्मक सोचको विकास हुन्छ । अनि उनीहरू पनि विदेश जान खोज्छन् । यस विषयमा सरोकार निकाय सजग हुनु पर्छ । देशमा रोजगारीको अभावले युवा आफ्नो श्रमशक्ति विदेशी भूमिमा बेच्न बाध्य भएका हुन् । उनीहरूको मुख्य उद्देश्य नै केवल परिवारको दैनिक खर्च चलाउनु हो । बिहान बेलुकाको छाक टारेर थोरै बचेखुचेको सम्पत्ति पनि घरघडेरी जोड्नु हो । हातमा सिप र पाखुरामा बल छउन्जेल कमाइ होला तर बुढेसकालमा के गरी जीवन चलाउनु भन्ने उनीहरूमा चिन्ता छ । उमेर र बल छउन्जेल परिवारबाट टाढा रही विदेशी भूमिमा पसिना बगाउनुपर्ने गुनासोसहितको पीडा उनीहरूमा देखिन्छ ।

देशमा भएका राजनीतिक परिवर्तनले स्वदेशमै रोजगारी पाइएला, देश समृद्धितिर अगाडि बढ्ला र रोजीरोटीको प्राप्तिसँगै स्वावलम्बी हुन सकिएला भन्ने सपना बुनेका युवामा राजनीतिक वितृष्णा बढ्दै गएको छ । सबै प्रकारका परिवर्तनमा जोस जाँगरसहित आन्दोलनमा होमिएका युवा आज रोजीरोटीका लागि बिदेसिन विवश हुनु पर्दा दुखित छन् । राज्यस्तरबाट दशकौँदेखि समुन्नत, समृद्ध र आधुनिक नेपाल निर्माण गर्ने परिकल्पना त उनीहरूले सुनिरहे । पछिल्लो समयमा भने सरकारले नयाँ विकासका योजना अगाडि सारेको छ । युवा केही आशावादी देखिएका पनि छन् तर यसको कार्यान्वन के हुने हो भन्ने आशङ्काले उनीहरूलाई छाडेको छैन । युवा रोजगार भए मात्र देश द्रुततर गतिमा आर्थिक विकासको फड्को मार्न सक्छ । त्यसैले युवा स्वरोजगारका विषयमा सम्बन्धित निकायले नीतिनियम र योजनाको प्रभावकारी कार्यान्वयन गर्नु पर्छ र यसमा व्यवधान आए नयाँ नीतिनियम ल्याउन पनि अब ढिला गर्नु हुँदैन । 

युवा कामदारका लागि आवश्यक नीति नियम, शान्ति सुरक्षा, सेवासुविधामा त्यति ध्यान दिन सकिएको छैन । साथै उनीहरूलाई गर्ने व्यवहारले गर्दा पनि धेरै युवा विदेश जान लालायित हुन्छन् । विदेशमा श्रमिकको आवश्यक सेवासुविधामा त्यहाँको सरकारले आवश्यक नीति नियम बनाएको हुन्छ र त्यसको प्रभावकारी कार्यान्वयन पनि गरेको हुन्छ । त्यसैले विदेश गएका र विदेश जान तयारी गरेका युवा जनशक्तिलाई स्वदेशमै फर्काउन र टिकाउन अब सम्बन्धित नियकायले विदेशमा के कस्तो सुविधा उनीहरूले पाएका छन्, त्यसलाई पनि ध्यान दिनै पर्छ । नत्र भोलि देशमा सक्षम जनशक्तिको अभाव खड्किन सक्छ । देशको जिम्मेवारी सम्हाल्नुपर्ने र देशलाई समृद्धितिर बढाउनुपर्ने बेलामा युवा पलायनले देशको अर्थतन्त्रमा नकारात्मक असर गर्छ । फेरि युवामा अस्वाभाविक रूपमा बढ्दै गएको आक्रोश र असन्तुष्टिको भावनाले शान्ति सुरक्षामा पनि असर गर्न सक्छ । यसले न समृद्ध नेपाल बनाउने चाहना पूरा हुन्छ, न युवाको भविष्यको निर्माण हुन्छ । 

देशमै रोजगारीका सम्भावनाको पहिचान गरी युवा पलायनको डरलाग्दो अवस्थाको अन्त्य गर्नु पर्छ । बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका बन्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ, त्यसमा तीन तहकै सरकारको ध्यान पुग्नु पर्छ । युवालाई प्राथमिकताका साथ सहभागी गराई उत्पादनमूलक खालको कुनै पनि कार्यक्रम सरकारले अघि सार्नु पर्छ । आज देश निर्माणका लागि सबैभन्दा ठुलो चुनौतीका रूपमा युवालाई विदेश पलायनबाट कसरी रोक्न सकिन्छ भन्ने नै हो । देशमै रोजगारीका सम्भावनाको पहिचान गरी युवा पलायनको डरलाग्दो अवस्थाको अन्त्य गरिनु पर्छ । बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका लागि नीति निर्माण, योजना निर्माण भए पनि उचित कार्यान्वयन हुन सकेको छैन । यसतर्फ ध्यान जानु पर्छ ।

अझै समय घर्किसकेको छैन । देशमा दिगो शान्ति स्थापना गरी बिदेसिएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गरी समस्या समाधानको बाटोमा हिँड्नु पर्छ । स्वदेशमै रहेका युवाशक्तिलाई यहीँ बस्ने वातावरण निर्माणमा सरकार, राजनीतिक दल तथा नागरिक समाज सबै एकजुट भएर लाग्नु पर्छ । देशको विकासमा युवालाई बिर्सेर कहिल्यै पनि समृद्धि प्राप्त गर्न सकिँदैन । 

विद्यार्थीलाई दिइने सैद्धान्तिक शिक्षाले मात्रै मुलुक समृद्ध बन्दैन । मुलुकको समृद्ध बन्नका लागि व्यावहारिक शिक्षा जरुरी हुन्छ । सरकारले व्यावहारिक शिक्षामा बढीभन्दा बढी लगानी गरेर यही देशलाई कर्मथलो बनाउन सक्ने वातावरण बनाउन सक्नु पर्छ । हरेक युवा कुनै न कुनै कामका लागि सक्षम हुन्छन् । उनीहरूको साहस र क्षमता सम्बोधन गर्नु पर्छ, त्यो साहस र क्षमता प्रदर्शित गर्ने अवसरबाट वञ्चित गर्ने वातावरण हामीले सिर्जन गर्नु हुँदैन । बरु यसको ठाउँमा नयाँ नयाँ अवसरहरू सिर्जना गर्न सक्नु पर्छ । देशको राजनीतिक गतिविधिबाट असन्तोषको भावनाले ग्रसित युवालाई उत्पादनमुखी सेवामा प्रोत्साहित गर्नु पर्छ । जनचाहनालाई ध्यानमा राखेर युवाको इच्छाबमोजिमका स्वरोजगारका कार्यक्रम ल्याउन सक्नु पर्छ । नेपालको अधिकांश श्रम अक्सर सहर केन्द्रित हुने भएकाले ग्रामीण क्षेत्रको विकासमा जोड दिई थप रोजगारीको अवसर सिर्जना गरी युवा पलायन रोक्नु पर्छ । 

रोजगारीको अवसर सिर्जना गर्ने व्यक्ति तथा व्यवसायलाई न्यून ब्याजदरमा ऋण दिने, करमा छुट दिने तथा ग्रामीण र दुर्गम क्षेत्रमा रोजगार सिर्जना गर्नेलाई राज्यले विशेष सुविधा प्रदान गर्ने नीति लिएर बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिन्छ । युवा पलायनलाई जतिसक्दो चाँडो कम गर्दै स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना सबैमा उत्पन्न गराउनु नै अहिलेको प्राथमिकता हो । विदेशमा रहेका दक्ष, अर्धदक्ष र अदक्ष नेपाली श्रमशक्तिलाई फर्काएर स्वदेशमै उनीहरूको पसिना बग्ने वातावरण बनाउन सके त झन् सुनमा सुगन्ध भइहाल्यो । 

  

Author

मुरारी ढुङ्गेल