• २३ पुस २०८१, मङ्गलबार

पौडेलको ‘यात्राको धुन’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते । समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ को लोकार्पणसँगै पाठकमैत्री भेटघाट आयोजना गरिएको छ । प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा भएको उक्त समारोहमा समालोचक विष्णु ज्ञवालीले अमेरिका, भारत र युरोपका विभिन्न देश गरी १० देशमा घुमेर उहाँले लेख्नुभएको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ ले आफू विदेश नगए पनि विदेश भ्रमण गराएको स्मरण गर्नुभयो । 

उहाँले भन्नुभयो, “समालोचक पौडेल नियात्राकार बनेर आउनुभएको छ, यो कृतिमा मैले विविधता देखेँ, विदेश भ्रमणका विषय उल्लेख गर्नुभएको छ, बेला बेलामा उहाँले नेपालको प्युठान लैजानुहुन्छ, त्यहाँको भिर, पाखा, पखेराको अनुभूति दिलाउनुहुन्छ, जसले उहाँको यो लेखनमा विविध रङ भरिएको महसुस गरेको छु ।” 

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले लेखक पौडेल सुरुवाती चरणमा उहाँले सुरु गर्नुभएको निबन्ध र सिर्जनामा फर्किनुभएको आफूले पाएको बताउनुभयो । अहिले नेपालमा उस्तै उस्तै प्रकृतिका सिर्जना आउने गरेको सन्दर्भ जोड्दै उहाँले नेपाली मौलिकता झल्किने गरी पुस्तक

आउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा लेखक पौडेलले उठेका जिज्ञासा मेटाउँदै भन्नुभयो, “सर्जक पाठकका अनुभूतिसँग खेल्न सक्नु पर्छ, आफूले यस कृतिमा त्यही प्रयास गरेको छु, भएका कमजोरी स्विकार्छु र सुधार गर्दै लैजान्छु ।”  उहाँले समालोचना छाडेर नियात्रातिर लाग्नुभएको त होइन भन्ने लेखक साहित्यको आशङ्का मेट्दै यो विभिन्न देश भ्रमण गर्दाको नियात्रासङ्ग्रह भएको तर आफूले समालोचना लेखनबाट नथाकेको बरु कृति ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले नियात्राभित्र यथार्थ र कल्पना हुने कोरा कल्पना नभएर यथार्थपरक कल्पनाको व्यङ्ग्य यसभित्र रहेको बताउनुभयो । नियात्राका लागि चाहिने गुणहरू समाज, संस्कृति, जनजीवनका पक्ष र पाटाहरू आंशिक रूपमा पुस्तकमा रहेको उहाँको भनाइ थियो । विदेशमा घुमिरहँदा वा न्युयोर्कको टाइम्स स्क्वायरमा घुमिरहँदा देखिएको नग्न संस्कृति सबै चिजप्रति आफू संवेदनशील भएको बताउनुभयो ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यय, प्रगतिशील लेखक सङ्घका उपमहासचिव बालमुकुन्द कार्की, प्रा. तेलविलास अधिकारीलगायतले लेखक पौडेलको व्यक्तित्व र कृतिका बारेमा चर्चा गर्नुभएको थियो ।