नेपालगन्ज समाचारदाता
नेपालगन्ज, मङ्सिर ९ गते । नेपालगन्जमा आयोजना गरिएको तेस्रो प्याब्सन अन्तरविद्यालय जिल्लास्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि नेपालगन्जस्थित एन्जल्स माविले हाँसिल गरेको छ । निजी बिद्यालयको सङ्गठन प्याब्सन बाँकेले शनिबार आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिताको तेस्रो संस्करणमा एन्जल्स लगातार दोस्रो वर्ष उत्कृष्ट हुँदै उपाधि राख्न सफल भएको हो ।
प्रतियोगितामा जयवागेश्वरी मावि दोस्रो, जेएस मावि तेस्रो तथा गोर्खा, युनाइटेड र सगरमाथा विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको प्याब्सन बाँकेका अध्यक्ष एम रावतले जानकारी दिनुभयो । प्र्रतियोगितामा विजयी भएका विद्यालयलाई प्याब्सनका पूर्वअध्यक्ष विद्यामान राजभण्डारी, प्राज्ञिक सल्लाहकार डा. राजेशकेशर खनाल, सल्लाहकार केशरबहादुर आलेलगायतले पुरस्कार, प्रमाणपत्र र सिल्ड वितरण गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न मौलिकतासमेतको मापन गरी मूल्याङ्कन पद्धति बनाइएको आयोजक प्याब्सन बाँकेका अध्यक्ष एम रावतले जानकारी दिनुभयो ।