• १३ साउन २०८१, आइतबार

पाम र भटमासको तेलको व्यापार घट्दा आयातनिर्यातमा सङ्कुचन

blog

विश्वास रेग्मी/लक्ष्मी सापकोटा

काठमाडौँ, माघ ८ गते । कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ ।

अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयातनिर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो । 

भारतले कच्चा पाम र भटमासको भन्सार महसुल नलाग्ने व्यवस्था गरेपछि भारतीय व्यापारीले सोझै यी वस्तुको आयात गर्दा नेपालले प्राप्त निर्यातको अवसर गुमाएको देखिन्छ । जसले गर्दा आर्थिक वर्ष २०७८/७९ को छ महिना (साउन–पुस) मा यी दुई वस्तु ६६ अर्ब रुपियाँभन्दा बढीको निर्यात भएकामा चालु आवको सोही अवधिसम्म तीन अर्ब रुपियाँ पनि पुग्न सकेको छैन । दुई वर्षको अन्तरालमै यी दुई वस्तुको समग्र आयात नै ६३ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ । 

गत आवको सोही अवधिको तुलनामा पनि यी दुई वस्तुको निर्यात चालु आवमा २३ अर्ब रुपियाँले घटेको देखिन्छ । आव २०७९/८० को छ महिनामा करिब २६ अर्ब रुपियाँ बराबरको यी वस्तुको निर्यात भएको थियो । 

आयातको तुलनामा निकै कम मात्र निर्यात हुने नेपालका लागि प्रमुख वस्तुकै निर्यात वर्षमा २० अर्ब रुपियाँभन्दा बढी खस्किँदा त्यसको सोझो असर समग्र निर्यातमा प्रतिविम्बित भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुससम्म नेपालले करिब ७५ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ जुन अघिल्लो आवको पुससम्मको तुलनामा सात प्रतिशतले कम हो । 

यस अवधिमा सबैभन्दा धेरै निर्यात घटेका वस्तुमा पनि पाम तेल र भटमास नै परेका छन् । यी दुई वस्तुको भारतीय बजारमा माग बढ्दा आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यातको आकार नै दुई खर्ब नाघेको थियो तर त्यसयता यी वस्तुको निर्यात घटिरहँदा नेपालको समग्र निर्यात नै घटिरहेको देखिन्छ । 

पाम तेल र सोयाबिन तेलको निर्यात घट्दा त्यसका लागि आवश्यक कच्चा पाम र कच्चा सोयाबिनको आयात पनि घटेको छ । भारतीय बजारमा प्रवेशको अवसर गुम्दा कच्चा पाम र सोयाबिनको आयात उल्लेख्य घटेको भन्सार विभागकै तथ्याङ्कले पुष्टि गर्छ । यी दुई कच्चा वस्तुको आयात खुम्चिँदा नेपालको कुल आयातको आकारमा पनि घटेको देखिन्छ । 

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले पाम तेलल र सोयाबिनको आयातनिर्यात कम हुँदा समग्र व्यापारमा सङ्कुचन आएको बताउनुभयो । आर्थिक गतिविधि सुस्त भई बजार चलायमान नहुँदा माग कम भएकाले आयातमा कमी आएको जानकारी दिनुभयो । “विगतका वर्षमा पाम तेल र सोयाबिनको निर्यात बढ्दा समग्र निर्यात ह्वात्तै बढेको थियो,” उहाँले भन्नुभयो, “भारतले भन्सार महसुल हटाएपछि निर्यात घट्यो, वस्तुको दीर्घकालीन रूपमा निर्यात बढाउन एकीकृत व्यापार रणनीतिले पहिचान गरेको उत्पादनको विकास गरेर निर्यात बढाउनु पर्छ ।” 

क्वालिटी रिफाइनरीका सञ्चालक विपिन काब्रा नेपालबाट निर्यात हुने वस्तुको प्रतिस्पर्धी क्षमता घट्दा पाम तेल र भटमासको तेलको निर्यात घटेको बताउनुहुन्छ । “भन्सार महसुल र त्यसमा मूल्य अभिवृद्धि कर जोड्दा २३ प्रतिशत महसुल बुझाउनु पर्छ,” उहाँले भन्नुभयो, “उता भारतले पाम र भटमासको शून्य महसुल गराउँदा हामीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै रहँदैन ।” महसुलकै कारण नेपालको उत्पादन महँगो हुँदा पाम र सोयाबिन निर्यातमा नेपालको ठुलो सम्भावना गुमेको उहाँको भनाइ छ ।

आव २०७८/७९ को छ महिना (साउन–पुस) सम्म कच्चा पाम तेलको आयात २६ अर्ब ४९ करोड रुपियाँ बराबर भएकामा आव २०७९/८० मा घटेर २२ अर्ब चार करोड रुपियाँमा झरेको थियो । चालु आवको सो अवधिमा कच्चा पाम तेलको आयात घटेर छ अर्ब ४८ करोड रुपियाँमा झरेको विभागको तथ्याङ्कले देखाएको छ । 

यस्तै आव २०७८/७९ को छ महिनामा ३६ अर्ब ५४ करोड रुपियाँ बराबरको कच्चा सोयाबिन आयात भएकामा आव २०७९/८० मा घटेर ३० अर्ब रुपियाँमा झरेको छ । चालु आवको छ महिनामा सोयाबिन तेलको आयातमा उल्लेख्य गिरावट आएर सात अर्ब ८० करोड रुपियाँमा सीमित हुन पुगेको तथ्याङ्कले देखाएको छ । 

विभागको तथ्याङ्क अनुसार छ महिनामा आयात तीन प्रतिशतले घटेर सात अर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपियाँमा झरेको छ । अघिल्लो वर्षको सो अवधिमा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपियाँ बराबरको आयात भएको थियो । छ महिनामा निर्यात ७.२३ प्रतिशतले घटेर ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपियाँ बराबरको निर्यात भएको थियो । आयात घटेसँगै व्यापार घाटा २.६२ प्रतिशतले घटेर छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपियाँ व्यापार घाटा रहेको थियो । आयातनिर्यातमा कमी आउँदा पछिल्लो छ महिनामा कुल वैदेशिक व्यापार ३.४७ प्रतिशतले घटेर आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपियाँमा कुल वैदेशिक व्यापार रहेको थियो । 

छ महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रुपियाँ बराबरको आयात भएकामा निर्यात भने ५० अर्ब ४४ करोड ५१ लाख रुपियाँ बराबरको भएको छ । आयात उच्च भए पनि निर्यात न्यून हुँदा भारतमा चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख रुपियाँ व्यापार घाटा रहेको छ । यस्तै सो अवधिमा अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ४७ अर्ब ३९ करोड ६४ लाख रुपियाँ बराबरको आयात हुँदा एक अर्ब ६० करोड ६३ लाख रुपियाँ बराबरको निर्यात भएको छ । आयात बढ्दै गए पनि निर्यात न्यून हुँदा चीनमा एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख रुपियाँ व्यापार घाटा रहेको छ ।