• २५ पुस २०८१, बिहिबार

विवाद समाधानका लागि चीनले मध्यस्थता गर्ने

blog

बेइजिङ, माघ ४ गते । पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकुलाई लक्षित गरी हालै भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबिच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ । पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात जना इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ ।”

उहाँले भन्नुभयो, “यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौँ । आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसङ्ख्या भएको सीमा क्षेत्रमा अतिवादीसँग जुधिरहेका छन् ।

बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकुसमूहमाथि आक्रमण गरेको बताएको थियो । तेहरानले कम्तीमा सात जनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ ।

दुवै देश बेइजिङका घनिष्ठ साझेदार र साङ्घाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन् । इरान र पाकिस्तान चीनका मित्र राष्ट्र र महत्त्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहोर्‍याउनुभयो । रासस/एएफपी