सामाजिक सञ्जाल सूचनाको जबरजस्त स्रोत बन्न पुगेको छ । मूलधार भनिएका सञ्चार माध्यमले पनि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पछ्याएर समाचार सम्प्रेषण गर्ने स्थिति सिर्जना भएको छ । यस्तोमा अब सञ्चार माध्यमले कसरी फरक र मानवीय चासोका सामग्री दिन सकिन्छ भन्ने विषयलाई केन्द्रमा राख्न नसक्ने हो भने सञ्चार माध्यमलाई थप कठिन हुने छ ।
मुलुकको पत्रकारिता क्षेत्र एकपछि अर्को सङ्कटमा फस्दै गइरहेको छ । पत्रकारहरू जागिर गुमाउनेदेखि कार्यरत संस्थाबाट जबरजस्ती निकालिनेसम्मका घटना सामान्य बन्न थालेका छन् । कहलिएका सञ्चार माध्यमसमेत यस प्रवृत्तिबाट अछुतो रहन सकेको देखिँदैन । मूलधारका मिडिया हुन् वा स्वरोजगारमूलक सूचीमा रहेका नै किन नहुन्, पत्रकारिता पेसा जोखिम र सङ्कटमा छ ।
मिडिया उद्योग नै धराशायी बन्न लाग्दा स्वरोजगार भनिएका साना मिडिया झन् बढी सङ्कटमा छन् । पत्रपत्रिकाको प्रकाशन बाढी जस्तै उर्लिएको कुनै समयलाई स्मरण गर्ने हो भने अहिले सपना जस्तो लाग्छ । प्रविधिको विकाससँगै खुलेका अनलाइन सञ्चार माध्यमले पनि ठुलो चुनौती सामना गरिरहेका छन् ।
आखिर किन सञ्चार माध्यमले यस्तो सङ्कट बेहोर्न थाले त ? आर्थिक मन्दी, कोरोनाको प्रभाव र विश्वमा चलेका युद्धलाई देखाएर मिडिया उद्योग सुस्त बन्न थालेको बताइरहेको बेला यसको समाधान के हुनसक्छ ? अनि सञ्चार माध्यममाथि समस्या निम्तिँदा जनता सूचनाको हकबाट वञ्चित हुने अवस्था बन्छ वा बन्दैन ? यसको पनि उत्तर खोजी हुनु पर्छ ।
सञ्चारका माध्यमलाई सेवामुखी व्यवसाय र राज्यको चौथो अङ्गका रूपमा लिइए पनि पछिल्लो समय सञ्चार माध्यमले आफ्नो गरिमा जोगाउने गरी काम गर्न सकेका छैन । सूचनामा समेत व्यापारीकरण मौलाएको छ । यस्तोमा बिनायोजना धमाधम खुलेका सञ्चार माध्यमहरू बन्द हुने, पत्रकारले पारिश्रमिक नपाउने र सञ्चालक नै भाग्ने स्थिति आउन सक्दैन भन्न सकिँदैन ।
सानो क्षेत्रमा रहेका सञ्चार माध्यमले निरन्तरता दिनै नसक्ने अवस्था सिर्जना भएको छ । साना र स्वरोजगारमूलक मिडिया भनिएकाहरू पनि चल्न सकेका छैनन् । बजार निश्चित घेरामा सीमित भए पनि सञ्चार माध्यममा आएको फड्कोले चुनौती थपिने व्रmम जारी छ । विज्ञापन बजारको आकार सानो र असाध्यै सकसपूर्ण रहेको छ । यस्तो बेला बजारको सन्तुलनसँग नमिल्ने गरी उच्च तलबभत्तासहित पत्रकारसँग श्रम सम्झौता गर्ने प्रवृत्ति पनि देखिएको छ । यो पनि सञ्चार गृह बन्द हुने कारण बनिरहेको छ । समाचार कक्ष कसरी चल्न सक्छ, समाचारका विषयवस्तुमाथि छलफल कसरी गर्नेभन्दा पनि अन्य कुरामा ध्यान पुग्नाले सञ्चार माध्यम धराशायी बन्ने देखिन्छ ।
विशेष गरी विशुद्ध नाफा कमाउने र आफ्ना कर्तुत लुकाउने माध्यमका रूपमा लगानी गरेर खुलेका सञ्चार माध्यम धराशायी बनेका देखिन्छन् । सहकारीको करोडौँ रकम अपचलन गरेर पनि सञ्चार माध्यम खुलेका छन् । पछिल्लो समय ठुला र नाम चलेका सञ्चार माध्यममा जनशक्ति कटौती गर्ने, समयमै तलब नदिने जस्ता समाचार पनि सुन्नु परेको छ ।
सञ्चार मध्यममा लगानी गर्नेहरूले आफ्ना अन्य व्यवसायलाई प्रवर्धन गर्नु मात्रै नभई आफ्ना विभिन्न खाले कर्तुत लुकाउनका लागिसमेत लगानी गर्ने गरेको पाइन्छ । यस्तै राजनीतिक पहुँच स्थापित गर्न पनि सञ्चार माध्यमलाई हतियारका रूपमा प्रयोग गर्ने प्रचलन बढ्दो देखिन्छ । दलाली गर्नेदेखि विभिन्न क्षेत्रमा व्यापार गर्नेहरूले अध्ययन अनुसन्धान नै नगरी सञ्चार माध्यममा लगानी गर्ने र त्यसको उद्देश्य नै थाहा नहँुदासमेत समस्या निम्तिने गरेको छ । सञ्चार माध्यममा लगानी सेवाभाव राखेर गर्नेभन्दा पनि स्वार्थ पूरा गर्ने ध्येयले हुने हुनाले पनि समस्या जटिलतातर्फ जान खोजेको देखिन्छ ।
सञ्चार माध्यम विशुद्ध सूचना सम्प्रेषण गर्ने र जनविश्वासको आधारमा चल्ने संस्था हो । यस्तो संस्थामा काम गर्ने पत्रकार, कर्मचारी, व्यवस्थापक र लगानीकर्ता सबै सचेत र जिम्मेवार बन्नु पहिलो सर्त हो । सूचनाको व्यापकता र यसमा देखिएको विविधीकरण प्रमुख चुनौती हो ।
विश्व भूमण्डलीकरण र प्रविधिको तीव्र विकासका कारण अनलाइन सञ्चार माध्यमको प्रभाव बढ्दो व्रmममा छ । हिजोआज सामाजिक सञ्जाल सूचनाको जबरजस्त स्रोत बन्न पुगेको छ । मूलधार भनिएका सञ्चार माध्यमले पनि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पछ्याएर समाचार सम्प्रेषण गर्ने स्थिति सिर्जना गरेको छ । यस्तोमा अब सञ्चार माध्यमले कसरी फरक र मानवीय चासोका सामग्री दिन सकिन्छ भन्ने विषयलाई केन्द्रमा राख्न नसक्ने हो भने सञ्चार माध्यमलाई थप कठिन हुने छ ।
सञ्चार माध्यमको प्रमुख चुनौती सामाजिक सञ्जाल मात्रै छैन । समाचार उत्पादनमा सञ्चार माध्यमले गर्ने लगानी विशुद्ध समाचारका लागि हुन आवश्यक छ तर बनिसकेका समाचारसमेत समाचार कक्षमै मृत हुने अवस्थाका कारण पनि सञ्चार माध्यमप्रति मानिसको हेर्ने दृष्टिकोण नकारात्मकतर्फ उन्मुख छ ।
सञ्चारविज्ञ मार्सल म्याक्लुहानले कुनै समय ‘मिडियम इज द म्यासेज’ अर्थात् माध्यम नै सन्देश हो भनेका छन् । यसको अर्थ हो, ठुला र नाम चलेका सञ्चार माध्यमको प्रभाव साना र नाम नसुनेकाभन्दा बढी प्रभावकारी हुन्छ भन्ने हो । प्रविधिको विकास र पहुँचअघि यो विषय सही पनि थियो । चितवनको चुनाव प्रभावित पार्न काभ्रेमा नभएको घटनालाई भएको भनेर गलत समाचार प्रकाशन गरेको उदाहरण भुक्तभोगीहरूले सार्वजनिक गरेकै छन् । त्यसबेला सम्पादकले समाचार कक्षमा आएर काल्पनिक समाचार लेख्न लगाएको पनि भनिएको छ । यस्तै रेडियो नाटक ‘वार अफ द वल्र्डस्’ ले आममानिसलाई प्यानिक बनाएको र मानिस सडकमै उत्रिएको बताइन्छ । कोलम्बिया ब्रोडकास्टिङ बिल्डिङ (सिबिएस) रेडियो कार्यव्रmमका कारण मानिस सडकमै भागदौड मच्चिएको विषय र हिटलरका मन्त्री जोसेफ गोयबल्सको शैली पनि हेर्न सकिन्छ ।
यसरी हेर्दा कुनै समय सञ्चार माध्यमको प्रभाव, लोकप्रियता र उसले कमाएको ख्यातिबाट समेत प्रभावित हुने गर्दथ्यो तर पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताले अपलोड गरेका सामग्री नै ती माध्यमका लागि सूचनाको स्रोत बनिरहेका छन् । यसर्थ अब ‘मिडियम इज द म्यासेज’ भन्ने विषय लगभग भत्किएको छ किनभने मिडिया कन्टेन्ट उत्पादनमा लगानी र श्रमको विषय अन्योल हुँदा अवस्था यस्तो बनेको हो ।
मिडियाले आफ्नो प्रभाव कायमै राख्नका लागि सामाजिक सञ्जाललाई भन्दा पनि भुइँमान्छेका विषय र सबैले देखेको तर नठम्याएको विषयलाई उजागर गर्नु पर्छ । भ्रष्टाचार, अनियमितताविरुद्ध निर्मम बन्नु पर्छ । समचार सामग्री उत्पादनमा गुणस्तर कायम राख्न यो नै सर्वोत्तम विकल्प हो । प्रतिशोध साँध्नकै लागि समाचार कक्षलाई प्रभावित पार्नु हुँदैन ।
सञ्चार माध्यम लोकतन्त्रको आधारस्तम्भ पनि हो । लोकतन्त्रलाई जीवित राख्न स्वतन्त्र, निष्पक्ष र निर्भीक सञ्चार माध्यम पहिलो सर्त हो । सञ्चार माध्यम प्रतिपक्षी पनि हो भन्ने विश्वास गरिन्छ । यस कारण राज्यले सञ्चार माध्यमलाई जगेर्ना गर्नु पर्छ । पत्रपत्रिका वर्गीकरणको आधारमा राज्यले लोककल्याणकारी विज्ञापन दिने गरे पनि धेरै जस्तो साप्ताहिक पत्रिका बजारमा देखिँदैन तर उनीहरू वर्गीकरणमा उच्च अङ्क प्राप्त गरिरहेका छन् । थोरैप्रति छापेर पुर्याउनैपर्ने स्थानमा बाहेक बाहिर पत्रिका भेटिन्न तर राज्यबाट त्यस्ता पत्रिकाले विज्ञापनबापतको नियमित रकम बुझिरहेका छन् । राज्यले यस्ता तमाम विकृतिलाई रोक्नु पर्छ ।