• १६ भदौ २०८१, आइतबार

वडावडामा घुम्ती शिविर सञ्चालन

blog

घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्नुहुँदै पालिका अध्यक्ष केशरकुमार सुब्बा ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रवाह गरेको छ । गाउँपालिकाले वडा–वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी स्थानीय सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । 

प्रशासकीय केन्द्र रहेको बाहेकका वडाहरुमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका छ वटा वडामध्ये प्रशासकीय केन्द्र रहेको वडा २ थेचम्बु बाहेकमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रवाह गरिएको छ । घुम्ती शिविरमार्फत् ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता वितरण, योजना सम्झौता जस्ता सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार वडा १ नाङ्खोल्याङ र वडा ३ तिरिङ्गे, वडा ४ डुम्रिसे, वडा ५, चाक्सिबोटे र वडा ६ थुम्बेदिनमा शिविर सञ्चालन गरिएको छ । वडा–वडामा सञ्चालित शिविरमार्फत ६१३ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र ३१३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, शिविरमा १२३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सात जनालाई अपाङ्गता परिचयपत्र वितरण, नौ वटा योजनाको सम्झौता र एक व्यवसाय दर्तासम्बन्धी सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ । पालिकावासी नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी घरदैलोमै पुगेर सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो ।