काठमाडौं, वैशाख ९ गते । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केही दिन पर सार्ने भएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्न अन्योल सिर्जना भएपछि परीक्षा सार्ने निष्कर्षमा परीक्षा बोर्ड पुगेको हो ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘‘परीक्षा सार्नुपर्छ भन्ने निष्कर्ष आएको छ, कति दिन सार्ने भन्ने निर्णय भइसकेको छैन, एक साता वा केही दिन बढी पनि हुन सक्छ, यस विषयमा बोर्डले औपचारिक निर्णय भने गरिसकेको छैन ।’’
आजै शिक्षा मन्त्रालयका सचिव र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भेट गर्नुभएको जानकारी प्राप्त भएको छ । शिक्षक आन्दोलनकै कारण शिक्षा मन्त्री विद्या भट्टराईले हिजो सोमबार मन्त्री पदबाट राजीनामा दिइसक्नु भएकोे छ ।