गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १० गते । नयाँ वर्षको पहिलो साता नेपाली चलचित्रले हलहरूमा आशालाग्दो व्यापार गरेका छन् । अहिले हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘पीताम्बर’, ‘अन्जिला’ ले राम्रो व्यापार गरिरहेका छन् । ‘कर्मा’ भारतीय चलचित्र ‘केशरी च्याप्टर २’ र ‘जाट’ ले भने उल्लेखनीय व्यापार गर्न नसकेको हल सञ्चालकको भनाइ छ । यद्यपि वैशाखको दोस्रो साताबाट नेपाली चलचित्रले पुनः राम्रो गति लिने आशा चलचित्रकर्मीले लिएका छन् । वैशाख दोस्रो सातादेखि चलचित्र ‘भूठान’, ‘खेल’, ‘झिल्को’, ‘उनको स्वेटर’ र ‘जार’ प्रदर्शन हुँदै छन् । पाँच वटा चलचित्रका कथा फरक विषयमा केन्द्रित छन् । यी पाँचै चलचित्रले दर्शकलाई हलसम्म तान्ने अपेक्षा चलचित्रकर्मीको छ ।
भूठान
अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको यस चलचित्रबाट आशा गरिएको छ । चलचित्रमा अभिनेता आचार्य भुटानी आप्रवासीको भूमिकामा देखिनुभएको छ । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीको दैनिकी र देशप्रेमको कथामा आधारित चलचित्र वैशाख १२ गतेबाट प्रदर्शन हुँदै छ । चलचित्रमा दयाहाङ राई, पूजा चन्द लामा, ऋचा घिमिरे, जोयश पाण्डे, अदिति प्याकुरेल, हलिउड अभिनेता ब्रुस डर्नलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका लेखक तथा निर्देशक विनोद पौडेल हुनुहुन्छ ।
खेल
भूठानसँगै वैशाख १२ गते चलचित्र ‘खेल’ प्रदर्शन हुँदै छ । चलचित्र हरर, थ्रिलर र सस्पेन्स विधामा बनेको निर्माण पक्षले जनाएको छ । अनुराग प्रधान र आस्था श्रेष्ठ निर्देशित चलचित्र अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका चार साथीको कथामा आधारित छ ।
चलचित्रमा चार साथीको विगतका घटना वरिपरि घुमेको कथालाई देखाइएको छ । चलचित्रमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, भोलाराज सापकोटा, किरण श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
झिल्को
यादवकुमार भट्टराई निर्देशित चलचित्र ‘झिल्को’ मोबाइलको प्रयोगले बालबालिकामा परेको असरको विषयवस्तुमा आधारित छ । वैशाख १९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अहिलेका
पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई प्रस्तुत गरिएको छ ।
चलचित्रको कथा तथा पटकथा निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले लेख्नुभएको हो । चलचित्रमा आयुषी ढकाल, सुनील पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
उनको स्वेटर
सामाजिक कथामा आधारित चलचित्र ‘उनको स्वेटर’ मा प्रेम, स्मृति र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । अभिनेता विपिन कार्की र अभिनेतृ मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र वैशाख २६ गतेबाट प्रदर्शन हुँदै छ ।
चलचित्रका अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङ, सुरज तमुलगायत रहनुभएको छ । नवीन चौहानको लेखन र निर्देशनमा बनेको चलचित्र आर्टमाण्डुले निर्माण गरेको हो । चलचित्रको ‘काफ्ले’, ‘मखमली’ र ‘फूल’ बोलको गीत अहिले धेरै नै चर्चामा छ ।
जार
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ उहाँको कृति ‘विपना कतिपय’ सङ्ग्रहमा सङ्कलित छ । कृतिमा रुद्रमान, हर्षजित र ठुली गरी तीन पात्रको कथा रहेको छ । जस अनुसार चलचित्रमा सौगात मल्ल रुद्रमान, अनुपविक्रम शाही हर्षजित र गीताञ्जली थापा ठुलीको भूमिकामा देखिनुभएको छ । भागेर अर्को विवाह गरेकी स्त्रीको दोस्रो श्रीमान्लाई पहिलो श्रीमान्ले जार भन्ने प्रचलन छ । यही जार संस्कृतिमा आधारित चलचित्र फेर्री टेल पिक्चर्सले निर्माण गरेको हो । वैशाख २६ मा प्रदर्शन हुने चलचित्रका लेखक तथा निर्देशक फुर्वाछिरिङ लामा हुनुहुन्छ ।