टोपलाल अर्याल
रेसुंङ्गा (गुल्मी), वैशाख १० गते । गुल्मीको इस्मा गाउँपालिका–४ कोटकोटेरी आगलागीले ध्वस्त भएको वैशाख ८ गते वर्षदिन पुग्यो, तर अग्नीपीडित सुन्दरलाल विकको घर आधा मात्रै बनेको छ ।
वर्षात सुरु भएकाले सुन्दरलालको मन पनि आधा भएको छ । किनकी वर्षदिनमा आधा बनेको घर पनि वर्षातले भत्कने जोखिम छ । गत वर्ष आगलागीले विकको किराना र फेन्सी पसलसहितको घरगोठ सबै जलेर नष्ट भयो । काम गरेर खाइरहेको मेसिन र पशुचौपाय समेत रहेनन् ।
नेता र सरकारको आश्वासनले वर्षात अगाडिनै राम्रो ओत पाउने आशा सुन्दरलालसहित अन्य अग्नीपीतिको थियो । निर्माण व्यावसायीले पैसाको कारण देखाउँदै आधा घर बनाएर छोडेका छन् ।
‘‘खुल्ला आशामुनि भएकाले ठुलो पानी परे भत्किने जोखिम बढ्यो,’’ विकले भन्नुभयो, ‘‘छिमेकीकोमा आए बसिरहेको घर पनि छोड्नुपर्ने बाध्यता छ ।’’ स्थानीय सरकारले दिने एक लाखबाट केहि काम पनि भएको छ, पछि केन्द्रीय र प्रदेशको बजेट आएन् । जसले पीडित परिवार झन् पीडामा परेका छन् ।
इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले पालिकाको तर्फबाट पाउने रकम सबै परिवारले पाए पनि संघ र प्रदेशको रकम माग गर्दै गाउँपालिकामा अग्नीपीडित आएको बताउनुभयो ।
धेरै पटक पालिकाको तर्फबाट जनप्रतिनिधिहरुले संघ र प्रदेशको समेत ध्यानाकर्षण गराए पनि रकम नआएको परियारले बताउनुभयो । एकैदिन आगलागी भएको इस्मा गाउँपालिकाकै वडा नं २ हस्तिचौरका अग्नीपीडितहरुको घर निर्माण भएका छन् । तर निर्माण व्यावसायीले घर निर्माण गरेर बुझाए पनि सरकारले पैसा नदिएकाले मानसिक तनाब खेप्न परेको अग्नीपीडित बताउँछन् । इस्मा गाउँपालिका–२ का अग्नीपीडितहरुका घरहरु पनि निर्माण गरिएको छ । तर किस्ता नआउँदा निर्माण व्यावसायी र पीडित परिवार चपेटामा छन् । आफुले घर निर्माण गरेको २०/२२ लाख रकम पाउनुपर्ने नआएपछि बाँकी परिवारको घरमा छाना राख्न नसकिएको निर्माण व्यावसायी केशव घर्तिले बताउनुभयो ।
स्थानीय सरकारले पहिलो किस्ताको रकम दिए पनि संघ र प्रदेशबाट रकम नआएपछि आफुहरु चल्ने अवस्थानै नरहेको घर्तिले बताउनुभयो । जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिबाट पनि पटक–पटक ताकेता गर्ने र केन्द्र तथा प्रदेशमा ध्यानाकर्षण गराउँदा पनि रकम भुक्तानी नभएकाले आफुहरु पीडितको अगाडि अनुहार देखाउन सक्ने अवस्थामा नरहेको इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले बताउनुभयो ।
इस्मा मात्रै २०८१ वैशाख ८ गतेको आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए । वैशाखमा इस्मासहित जिल्लाभर छ दर्जन बढि घरगोठ जलेका थिए । अग्नीपीडित परिवारले आवास निर्माणका लागि पाँच लाख पाउने व्यवस्था छ । त्यसमध्ये स्थानीय पालिकाले एक लाख र चार लाख प्रदेश तथा संघ सरकारले उपलब्ध गराउनुपर्ने हो । प्रदेशले केही रकम पठाएकाले संघ सरकारसँग साढे १२ करोड रकम माग गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनुभयो ।