• १३ साउन २०८१, आइतबार

भव्य बन्यो केशरमहल

blog

काठमाडौँ, माघ २ गते । पुनर्निर्माण थालिएको चार वर्षमा केशरमहल भव्य र आकर्षक रूपमा तयार भएको छ । २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहलको ९५ प्रतिशत काम पूरा भएको छ ।निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको छ । अब ढल व्यवस्थान, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी छ । गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम भइरहेको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्नेमा त्यहाँ रहेका कार्यालय सार्न ढिला हुँदा र कोभिड–१९ ले गर्दा निर्माण कार्य ढिला हुन पुगेको हो ।

निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाका आयोजना व्यवस्थापक नरकान्त सापकोटाले भन्नुभयो, “केशरमहलभित्रका काम प्रायः सकिइसकेको छ, बाहिरी सौन्दर्यको काम मात्र बाँकी छ ।” पुनर्निर्माण कार्यको आर्थिक प्रगति ९२ प्रतिशत छ । भ्याटबाहेक ५९ करोड रुपियाँमा पुनर्निर्माण गरिँदै छ ।

हाल केशर पुस्तकालय केशरमहल परिसरमा निर्माण गरिएको अस्थायी टहरोमा छ । आगामी फागुनदेखि पाठक तथा अनुसन्धानकर्ताले भव्य भवनभित्रै पुस्तक अध्ययन गर्न पाउने छन् । पुनर्निर्माण सम्पन्न भएपछि यो सम्भवतः नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन हुने छ ।

केशरमहलका भित्तामा रहेका पुरातात्त्विक महत्त्वका पेन्टिङलाई दुरुस्त गर्ने कार्य बाँकी छ । पुनर्निर्माण सम्पन्न हुँदा दलिन छोप्न राखिएका आकर्षक फलामे बुट्टेदार पाता (फल्स सिलिङ) को काम भने बाँकी रहने छ । बेलायतबाट ल्याइएका ती पाता खियाका कारण ९० प्रतिशत नै काम नलाग्ने अवस्थामा छन् । हरेक कोठामा फरक फरक बुट्टाका छन् भने पुरातात्त्विक भवनका कारण तिनको सट्टा फल्स सिलिङको प्रयोग गर्न नमिल्ने भएकाले भारतबाट प्रविधि झिकाएर पछि तयार पारिने आयोजना व्यवस्थापक (इन्जिनियर) सापकोटाले बताउनुभयो ।

केशरमहलमा ६१ वटा कोठा छन् । दुई स्थानमा आपत्कालीन फलामे भ-याङ निर्माण गरिएको छ । भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । उहाँका अनुसार केशरमहलका सबै भित्ता १२ मिलिमिटर मोटाइका फलामे पाताले ‘ज्याकेटिङ’ गरिएको छ । नियमित मर्मतसम्भार गरेमा यसले एक सय वर्ष धान्न सक्ने छ । उहाँले पुनर्निर्माणका व्रmममा सो भवन विगतमा नियमित मर्मतसम्भार नभएको देखिएको बताउनुभयो ।

केशरमहल निर्माण गर्दा दलिनमा सल्लाका काठ प्रयोग भएका थिए । ती कुहिएकाले तिनका सट्टामा अब सालका काठ प्रयोग गरिएको छ । बिजुलीका तारलाई भित्ताभित्र (अन्डर वाइरिङ) व्यवस्थापन गरिएको छ । बगैँचामा इटालीबाट ल्याइएका आधुनिक बत्ती जडान गरिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणाका छोरा केशरशमशेरको निजी निवास केशरमहल २०२६ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । 

पुनर्निर्माण थाल्नुअघि रहेका शिक्षाका निकायलाई भक्तपुरको सानोठिमीमा सारिएको छ । विशेष गरी वैदेशिक शिक्षाका लागि ‘नो अब्जेक्सन लेटर’ लिन जाने विद्यार्थीले बढी समस्या भोग्नु परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थीसँग प्रत्यक्ष सरोकार राख्ने निकायलाई केशरमहलमा सार्नेबारे आफूहरू सकारात्मक रहेको बताउँदै भन्नुभयो, “पुनर्निर्माण गरिएको केशरमहलमा कुन कुन शिक्षा निकायलाई व्यवस्थापन गर्ने भन्नेबारे आन्तरिक परामर्श भइरहेको छ ।”

उहाँले अलग्ग बजेट व्यवस्थापन गरेर केशरमहलको नियमित मर्मतसम्भार गरिने बताउनुभयो । “केशर पुस्तकालयलाई भव्य र आधुनिक बनाउन सूचना प्रविधिको विकासलाई प्रयोगमा ल्याउनुपर्ने छ । त्यसका लागि प्रयासरत छौँ ।”