• १३ साउन २०८१, आइतबार

दोस्रो मेचीनगर 'तरुल उत्सव'

blog

विष्णुप्रसाद पोखरेल 

दमक, माघ १ गते । रैथाने बाली प्रवर्द्धनका लागि झापाको मेचीनगर नगरपालिका ४ बाहुण्डाँगीमा विभिन्न संस्कृति कार्यक्रम र जनचेतना मूलक कार्यक्रमहरू सहित दोस्रो मेचीनगर 'तरुल उत्सव' भएको छ । नेपाल र भारतबाट उत्सवमा ५ हजारभन्दा बढीको सहभागिता रहेको छ । 

नेपालमा वर्णशङ्कर र उन्नत जातका बालीहरूको प्रवेशले गर्दा रैथाने तथा स्थानीय बाली लोप हुने क्रममा रहेकाले यसको संरक्षणमा गत वर्षदेखि यहाँ माघे संक्रान्तिको अवसर पारेर सांस्कृतिक कार्यक्रमहरू सहित तरुल उत्सव मनाइने गरेको छ । तरुल उत्सवमा स्थानीय तथा पहाडी क्षेत्रको राडी लगायतका उत्पदानहरुको प्रदर्शनी र बिक्री समेत गरिने गरेको छ ।

रैथाने बाली भन्नाले जस्तै तरुल, सिमल तरुल, स्कुस, पिंडार, रुख टमाटर, गुन्द्रुक, कमीसाग, पाइ साग, अकबर खासाना, विहा, खाल, साग, गिठा, सिस्ना, पुदिना, सिप्लीकान, कोइरालो, वरेला, ओल, चटेला लगायतको प्रदर्शन हुँदै आएको छ । माघे संक्रान्तिको अवसर पारेर बर्सेनि यो उत्सव मनाउन थालिएको वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभएको छ ।

यस्ता किसिमका स्थानीय बालीको विस्तार गरी जैविक विविधता संरक्षण, खाद्यीमाग्री आपूर्ति, पौष्टिक तथा औषधिजन्य बाली प्राप्ति र आयस्तर वृद्धिका लागि उपयोग गर्नु नितान्त आवश्यक देखेर नै महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । विभिन्न स्थानमा पाइने रैथाने बालीहरूलाई कम मेहनत, कम स्याहारसुसार र रोग किराबाट कम नोक्सान भई राम्रो उत्पादन लिन सकिने उहाँले जनाउनुभयो ।

उत्सवमा भारतका पर्यटन गान्धिकको रूपमा परिचित ग्रामीण पर्यटन विज्ञ राज वशु सहितको उपस्थिति थियो । उत्सवमा सहभागी उहाँले झापा तथा बाहुण्डाँगी क्षेत्र ग्रामीण पर्यटनको ठुलो सम्भावना रहेको बताउनुभएको छ । नेपाल र भारतको संयुक्त संयोजनमा ग्रामीण क्षेत्रको पर्यटनको विकासका लागि सहकार्य गर्न सकेमा यसले दुवै देशको हित गर्ने पनि उहाँले बताउनुभयो ।

"रैथाने बाली तथा खाद्य परिकारहरू पनि पर्यटनसँग जोडिएको हुन्छ", उहाँले भन्नुभयो । "नेपालमा ग्रामीण पर्यटनको सम्भावना धेरै नै रहेकाले यस विषयमा नेपालमा एउटा ठुलो कार्यक्रम गर्ने आफ्नो सोच रहेको समेत उहाँले बताउनुभएको छ । मिलेर अघि बढ्न म सधैँ तयार र तत्पर छु", उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रैथाने बालीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो क्रममा रहेको भन्दै उहाँले यसको प्रवर्द्धन गर्न पनि अनुरोध गर्नुभयो । पौष्टिक तत्त्वले भरिपूर्ण रहने रैथाने बाली लोप हुँदै गएको उल्लेख गर्दै यो यस्ता बालीको विस्तार र बजारीकरणका लागि लाग्न उहाँले सुझाव दिनुभयो ।

हात्ती पर्यटन प्रवर्द्धनमा सरकारको सहयोग रहन्छ 

यसैगरी तरुल उत्सवमा सहभागी रहनुभएका कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बाहुनडाँगीलाई पूर्वको पर्यटनको हवको रूपमा विकास गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने र कार्यक्रम बनाउने बताउनुभएको छ । "बाहुनडाँगीलाई पर्यटनको हवको रूपमा विकास गर्न कोशी प्रदेशले पहिलो पटक बजेट समेत छुट्याएको छ", उहाँले भन्नुभयो ।

स्थानीय उत्पादनलाई पर्यटन र हात्तीसँग जोडेर बाहुनडाँगीलाई पर्यटकीय हवको रूपमा विकास गर्न सकिने उहाँले जनाउनुभयो । होमस्टे, स्थानीय उत्पादन र हात्तीलाई पर्यटनसँग जोडेर पर्यटकीय विकासको सम्भावनाको विषयमा विस्तृत अध्ययन गरेर कार्यक्रम ल्याइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।