• १४ वैशाख २०८२, आइतबार

चल्यो शिक्षकले राजीनामा दिने लहर

blog

तम्घास समाचारदाता 

तम्घास, वैशाख १४ गते । गुल्मीमा २९ जना शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार गत साउन १ गतेदेखि हालसम्म २९ जना शिक्षकले राजीनामा दिएका छन् । प्राथमिक तहमा २५ जना, निम्न माध्यमिक तहमा दुई जना र माध्यमिक तहमा दुई जना गरी कुल २९ जना शिक्षकको राजीनामा स्वीकृत भएको छ । 

उदय माध्यमिक विद्यालय चन्द्रकोटका माध्यमिक तहमा अध्यापन गराउने भीमबहादुर थापा र जनबोध माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने गीता भण्डारीले राजीनामा दिनुभएको हो । थापाले बिरामी भएर र भण्डारीले तथ्याङ्क अधिकृतमा नाम निकालेर राजीनामा दिएको घिमिरेले बताउनुभयो । यस्तै २८ जना शिक्षकको अनिवार्य अवकाश भएको पनि उहाँले बताउनुभयो । 

पछिल्लो समयमा शिक्षण पेसामा खासै रुचि नहुनु र वैदेशिक रोजगारीको लहरले पनि राजीनामा दिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको घिमिरेले बताउनुभयो । राजीनामा दिनेमा करिब आधाको सङ्ख्यामा वैदेशिक रोजगार रहने गरेको उहाँको भनाइ छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले विद्यालय राजनीतिक अखडा बन्नु, शिक्षकलाई जीवन निर्वाह गर्न पनि समस्या हुनु, शिक्षण पेसामा भविष्य नदेख्नु र निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनुले पनि शिक्षण पेसाबाट राजीनामा दिने गरेको बताउनुभयो ।

शिक्षक अभाव

गुल्मीमा  गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक अभाव देखिएको छ । धुर्कोट गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा राहत र अनुदानका लागि गणित र विज्ञान विषयमा तेस्रो पटक विज्ञापन गरेको छ । तेस्रो पटकको विज्ञापनमा पनि यो समाचार तयार पार्दासम्म आवेदन नपरेको गाउँपालिकाले जनाएको छ । 

धुर्कोट गाउँपालिका–६ को धुर माध्यमिक विद्यालयमा  गणित र वडा नम्बर ३ को  निन्युखर्क माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका लागि तेस्रो पटक विज्ञापन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो । तेस्रो पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै मुस्किल भएको उहाँको भनाइ छ । सहरमा सबैको रुचि हुने र गाउँमा शिक्षक आउन नमान्ने भएका कारण पनि थप समस्या आउने गरेको पन्थीले गुनासो गर्नुभयो । नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा शिक्षक अभाव देखा पर्नुले विद्यार्थीको पठनपाठनमा समस्या आउने देखिन्छ । 

छैटौँ पटकमा शिक्षक

केही महिनापहिले जिल्लाको मुसीकोट नगरपालिकाको मुसीकोट माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयका लागि  माध्यमिक तहमा गणित शिक्षकका लागि  छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो । शिवशङ्कर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी  शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएको  नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो । सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको उहाँले बताउनुभयो ।

गुल्मीमा सामुदायिक र संस्थागत गरी ५९० विद्यालय र ५६ हजार २०३ विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखि कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी तीन हजार १५३ जनाको दरबन्दी रहेको  कार्यालयले जनाएको छ ।