• १४ वैशाख २०८२, आइतबार

मातृऔँसीको महत्व

blog

जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी,’ मर्यादा पुरुषोत्तम श्रीरामद्वारा उच्चारित यो श्लोकले भन्छ : आफूलाई जन्मदिने आमा र आफू जन्मिएको भूमि बराबर स्वर्ग पनि होइन । यो श्लोकले आमाको महत्व र स्थानलाई कुन हदसम्म हाम्रो समाजले स्वीकारेको छ र पुजिएको छ भन्ने प्रस्ट गर्छ । आज मातातीर्थ औँसी । यस दिनलाई आमा ख्वाउने औँसी, मातृ औँसी, मातृ दिवस, मदर्श डेलगायत विभिन्न नामले सम्बोधन गरिन्छ । 

आमाको महान् योगदान, कष्टपूर्ण काम, त्याग, तपस्या र अतुलनीय मायाको सम्झना स्वरूप सम्मानपूर्वक आमालाई यस दिन देवतुल्य मानि पूजा अर्चना गरी मिष्ठान्न भोजन गराई विभिन्न उपहार दिई आमाबाट आशीर्वाद लिने चलन छ । विवाह गरेको छोरी पनि यस दिन माइती आउने र टाढा टाढा बसेका सन्तान पनि आमा भएको ठाउँमा फर्की आमालाई पूजा अर्चना गरी विभिन्न उपहार दिई आशीर्वाद थाप्ने चलन छ । यस्तै दिवङ्गत आमाको सम्झनामा मातातीर्थ तीर्थस्थलमा गई स्नान गरी श्राद्ध, तर्पण, पिण्डदान, भिक्षादान दिए आमाको आत्मालाई तृप्त हुन्छ भन्ने विश्वास छ । नेपाल जस्तै अन्य देशमा पनि आआफ्नो मान्यता अनुसार मातृ दिवस मनाउने चलन छ । 

आमा शब्द आफैँमा पनि आत्मियता र अपनत्व दर्शाउने शब्द हो । आमा शब्द उच्चारण गर्दा उच्च सम्मान र न्यानोपनाको आत्मीयताको आभाष हुने गर्छ । संसारमा सबैथोक किन्न पाइन्छ धनले तर जन्मदिने आमा, आमाको माया, आशीर्वाद किन्न पाइन्न । आमाले नै हामीलाई कैयौँ पीडा सहेर नौ महिना गर्भमा राखी जन्म दिएर स्तनपान गराई पालनपोषण गरी योग्य, सक्षम र योग्य बनाई सही बाटो पहिल्याउने महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको हुन्छ भने सबै किसिमको समस्यामा मार्गनिर्देश गर्ने गर्नुहुन्छ । त्यसैले आमालाई प्रेमको प्रतीक, पृथ्वी, धर्ती भनेर सम्बोधन गर्ने गरिन्छ । हो, यिनै आमाको सम्झना वा सम्मानमा वैशाख औँसीको दिनलाई मातातीर्थ औँसी, मातृ दिवसका रूपमा मनाउने चलन छ । 

आमा जीवित हुनेहरूले वैशाख औँसीका दिन आमालाई पुज्ने, आमाको मुख हेर्ने चलन रहेको छ । उक्त दिन सन्तानहरूले जन्मदिने आमाको मुख हेर्ने र जन्मदिने आमालाई खुसी पार्न गच्छे अनुसार मिठाई, फलफूल, लत्ता कपडा मिष्ठान्न भोजन र विशेष उपहार प्रदान गरी आमालाई खुसी बनाई आशीर्वाद लिने चलन रहेको छ । आमा गुमाएकाले भने उक्त दिन दान दिने, श्राद्ध गर्ने गर्छन् । साथै आमाविहीन अधिकांश सन्तति काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं ६ महादेवस्थानस्थित मातातीर्थ तीर्थस्थलमा गई अघिल्लो दिन राति जाग्राम बसी आमाको सम्झनामा बत्ती बाल्ने र औँसीको दिन आमाको सम्झनामा श्राद्ध, सिदा, दान, लत्ता कपडालगायत फलफूल र मिठाई दान दिने चलन छ । यसदिन श्राद्ध गर्न मृत्यु तिथि नचाहिने हुँदा आमाको मृत्युको तिथिमिति जानकारी नहुने र विशेष कारणले श्राद्ध गर्न छुटेकाहरूले पनि यस दिन श्राद्ध गर्ने गर्छन् । यसरी श्राद्ध दान गर्दा आमालगायत आफ्ना पितृहरूले प्राप्त गर्छन् भन्ने मान्यता छ । 

मातातीर्थ कुण्ड 

त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासको क्रममा घुम्दै हाल मातातीर्थ तीर्थस्थल भएको स्थानमा आई पुग्नुभएछ । यहाँका स्थानीय बासिन्दाले अपरिचित र नौलो मानिस देखेर श्रीरामसँग युद्ध गरेछन् । धेरै बेरको घमासान युद्धले गर्दा दुवै पक्ष थकित र तिर्खाले आकुल, व्याकुल भएछन् र दुवैको सहमतिले युद्ध रोकी पानीको खोजी गर्न थाले छन् । पानी खोज्दै जाँदा कतै नभेटेपछि भगवान् श्रीरामले गङ्गामाताको स्तुति गर्नुभयो, “माता गङगासमो तीर्थ पिता पुष्कर मे वच” भन्ने मन्त्रोचारण तीन पटक गर्दै जमिनमा वाणप्रहार गर्नुभएपछि वाण लागेको ठाउँबाट पानी निस्कियो र पछि सोही ठाउँ कुण्डको रूपमा विकसित भयो । सो ठाउँबाट सबैले पानीको प्यास मेटाए र माता सीताजीले पानी पिउने क्रममा सो कुण्डमा सारा ब्रह्माण्डको साक्षात दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउने क्रममा सीता माताको स्वरूप कुण्डमा रहेको शिलामा कोरिन पुग्यो भन्ने किंवदन्ती छ । 

धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमज्यूको भनाइ अनुसार आमा नभएकाहरूले आमाको नाममा तर्पण, पिण्डसहित श्राद्ध, पुरोहितलाई सिधादान, भोजन गराई दिवङ्गत आमा र उनले गरेको महान् एवं कष्टकर कामको ऋण तिर्नुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतम । उहाँका अनुसार जीवित हुँदा सम्मानपूर्वक खुसी राखी स्याहारसुसार गर्नु पर्छ र मृत्युपछि श्रद्धापूर्वक श्राद्ध, दान गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । मातातीर्थ तीर्थस्थल आफैँमा पुण्यभूमि हो । मातातीर्थ तीर्थस्थलको देवलोक, पितृलोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । मातातीर्थ औँसीको दिन मातातीर्थ तीर्थस्थलबाट सिधै देवलोक र पितृलोकसँग जोडिने हुँदा सो दिन यसस्थलमा आई पितृहरूको सम्झनामा गरेको कार्यले पूर्णता पाई मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।

हिमवत् खण्डको नेपाल महात्मेमा पनि यस तीर्थस्थलको विषयमा चर्चा गरिएको छ । यस तीर्थस्थलमा स्नान गरी श्राद्ध, दानादी गरेको खण्डमा दिवङ्गत पितृहरूले प्राप्त गर्ने र सो कार्यले यस लोकमा पुण्यप्राप्त गरी परलोक पनि सुध्रिने भनि उल्लेख भएको पाइन्छ । यस्तै, कलिको देवताको रूपमा चित्रित विरूपाक्षलाई मातृसम्भोगको पाप लागि सो पापबाट मुक्ति पाउन संसार भ्रमण गर्ने क्रममा भगवान् श्रीकृष्णसँग मातृसम्भोगको पाप कटाउने उपाय सोध्दा मातातीर्थमा स्नान गरी कुण्डको पानीले पशुपतिनाथ मन्दिरमा अभिषेक गरेको खण्डमा मातृ सम्भोगको पापबाट मुक्ति पाइन्छ भनी भगवान् श्रीकृष्णले बताउनुभएको कुरा महाभारतमा उल्लेख भएको पाइन्छ । आज पनि विरूपाक्ष सो पाप मोचन गर्न खातिर पशुपति मन्दिरको पूर्वपट्टी बागमती खोलाको किनारमा विराजमान रहनुभएको देख्न सकिन्छ । मातातीर्थको पानी लगि पशुपतिनाथलाई अभिषेक गरेको खण्डमा सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ । 

चन्द्रागिरि नगरपालिका वडा नं ६ मा अवस्थित धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलसमेत रहेको यस तीर्थस्थल चन्द्रागिरि डाँडाको काखमा अवस्थित छ । यस तिर्थस्थललाई चारैतिरबाट पर्खालले घेरिएको छ । आमाको मुख हेर्ने कुण्ड मातातीर्थ क्षेत्रको उत्तर पूर्वमा रहेको छ भने कुण्डको दक्षिणतर्फ मातेश्वर महादेव मन्दिर रहेको छ भने महादेवको मन्दिरको पश्चिममा आमाको पूर्णकदको मूर्ति रहेको छ । मन्दिर क्षेत्रको बिचमा मातातीर्थ पोखरी छ भने पोखरीको दक्षिणतर्फ उत्तर फर्किएको १२ धारा रहेको छ । मन्दिरको उत्तरतिर पर्खाल बाहिर कलात्मक १० वटा धारा रहेको छ । जसको निर्माण कार्यमा सहयोग महादेवस्थान मातातीर्थ खानेपानी समितिबाट प्राप्त भएको थियो । मातातीर्थ औँसीको दिन यस तीर्थस्थलमा हिन्दु धर्मावलम्बी मात्र नभई बौद्ध धर्मावलम्बी, मुस्लिम, क्रिश्चियनलगायत अन्य धर्मावलम्बीले पनि मेलामा सहभागिता जनाई आआफ्नो धर्म अनुसार आमाको सम्झनामा दान, श्राद्ध गर्ने गर्छन् ।