• १४ वैशाख २०८२, आइतबार

पुनर्सञ्चालनमा आयो उदयपुर सिमेन्ट

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख १४ गते  । आर्थिक सङ्कटबाट गुज्रिरहेको उदयपुर सिमेन्ट उद्योग छ महिनापछि पुनर्सञ्चालनमा आएको छ । अदालत र कर्मचारी संयन्त्रको अवरोधले छ महिनादेखि बन्द उद्योग बिहीबार रातिदेखि सञ्चालनमा आएको हो । बिहीबार रातिदेखि उद्योग सञ्चालनमा आएका  निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिनुभयो । मेसिन उपकरण सञ्चालनमा रहेकाले बिहीबार रातिदेखि क्लिङ्कर उत्पादन सुरु भएको हो । पहिलो दिन नै उद्योगले चार हजार बोरा सिमेन्ट उत्पादन गरिसकेको साहले जानकारी दिनुभयो । 

दैनिक चार सय मेट्रिक टन क्लिङ्कर उत्पादन हुने उद्योगसँग १२ दिनसम्म पुग्ने कोइला र डिजेल मौजुदा छ । यो अवधिमा उत्पादित क्लिङ्करबाट सिमेन्ट बिक्री गरी पुँजी परिचालन गर्ने योजना बनाइएको निमित्त महाप्रबन्धक साहले बताउनुभयो । “मौजुदा कच्चा पदार्थले १२ दिनसम्म उत्पादन गर्न पुग्छ त्यसपछि थप कोइला र डिजेल खरिद गर्न यो बिचमा उत्पादन हुने सिमेन्ट बिक्रीबाट रकमको जोहो गरिन्छ,” उहाँले भन्नुभयो । 

उद्योग सञ्चालनमा कानुनी जटिलता कायमै रहेको छ । ललितपुर जिल्ला अदालतले कोइला सप्लायर्स पायोनियर होल्डिङको नौ करोड ९२ लाख ७७ हजार बक्यौता १५ दिनभित्र तिर्न उद्योगलाई पत्राचार गरेको छ । भुक्तानी नभए उद्योगका बैङ्क खाता बन्द हुने चेतावनीसमेत दिइएको निमित्त महाप्रबन्धक साहले बताउनुभयो । 

यसअघि पनि काठमाडौँ जिल्ला अदालतको आदेशमा उद्योग सञ्चालनार्थ ल्याइएको ऋण रकमबाट रौता सर्भिसेजलाई ९६ लाख ९२ हजार भुक्तानी गरिएको थियो । पूर्ण सरकारी स्वामित्वको यो उद्योगको दैनिक आठ सय मेट्रिक टन गैँडा सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ । 

विगत तीन वर्षदेखि घाटामा चल्दै आएको उद्योगलाई सुचालु गर्न गत चैतमा नेपाल सरकारले १६ करोड रुपियाँ अनुदान दिएको थियो । यसबाट मेसिन मर्मतमा पाँच करोड रुपियाँ खर्च भएको छ । बाँकी रकमबाट सञ्चालनको प्रयास भइरहँदा अदालतको भुक्तानी आदेशले उद्योग थप सङ्कटमा परेको साह बताउनुहुन्छ । 

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले उद्योग बन्द हुनु दुःखद भएको बताउनुभयो । उद्योग सञ्चालनका लागि सङ्घीय सरकार, प्रदेश, स्थानीय सरकार र राजनीतिक दल सबैसँग मिलेर पहल गर्ने र यस्ता सरकारी उद्योग निर्बाध सञ्चालनका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।