इटहरी, वैशाख १३ गते । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने प्रतिबद्ध गर्नुभएको छ । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा इटहरीमा सम्पन्न स्ट्रोक मास्टर क्लासमा उहाँले यस्तो प्रतिबद्ध गर्नुभएको हो ।
प्रदेश सरकारले स्ट्रोकको उपचारमा उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । पछिल्लो समय स्ट्रोक तथा पक्षघातका बिरामीहरू बढिरहेको बताउनुहुँदै यता तर्फ ध्यान दिनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘कोशी प्रदेशमा स्ट्रोकका बिरामी बढिरहेका छन् । जनप्रतिनिधि र विज्ञहरूबिच समन्वयको अभाव छ । आगामी वर्षका लागि बन्ने नीति तथा कार्यक्रमहरूमा स्वास्थ्य क्षेत्रप्रति विशेष जोड दिनेछु ।’’
सोही अवसरमा वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति प्रा.डा. सन्जिवकुमार शर्माले नेपालका दूरदराजका नागरिकलाई स्ट्रोकबारे सचेतना फैलाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।
स्ट्रोकको उपचारको अत्याधुनिक प्रविधि, तरिका, उपचार पद्धतिका बारेमा डाक्टर, नर्स, फिजियोथेरापिस्ट लगायतका स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्ट्रोक मास्टर क्लासको आयोजना गरेको एशोसिएसनका संस्थापक अध्यक्ष एवम् नेशनल न्यूरो सेन्टरका वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘एनएसए र एनएसपी ले देशभरका स्वास्थ्यकर्मीहरुलाई स्ट्रोक उपचारमा सहजिकरण गर्ने उद्देश्यले हामीले स्ट्रोक मास्टर क्लासलाई निरन्तरता दिइरहेका छौँ ।’’
आयोजकका अनुसार उक्त क्लासबाट झण्डै तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु लाभान्वित हुनुभएको छ ।