• १३ साउन २०८१, आइतबार

सुन्तला उत्पादनमा वृद्धि

blog

फुङ्लिङ नगरपालिका–३ मेदिबुङका किसानको बगैँचामा फलेको सुन्तला । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २९ गते । ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादन वृद्धि भएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापा मगरले गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा सामान्य वृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष तीन हजार ५६ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष भने तीन हजार २० मेट्रिकटन मात्र सुन्तला उत्पादन भएको थियो । 

जिल्लाका किसानले यसवर्ष ३९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती लगाएका थिए । उक्त क्षेत्रफल बराबरको खेतीबाट तीन हजार ५६ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लामा ५०५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाउन सकिने खेतीयोग्य जमिन रहेको छ । 

गत वर्षभन्दा सुन्तला खेती केही विस्तार भएको र उत्पादकत्वसमेत बढेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्षको उत्पादकत्व प्रतिहेक्टर ७.८० मेट्रिकटन रहेको पनि केन्द्रले जनाएको छ ।  

यता जिल्लामा सुन्तलाको मूल्य भने प्रतिकिलोग्राम १०० देखि १४० रुपियाँ रहेको छ । उक्त मूल्यमा उत्पादक किसान तथा स्थानीय व्यवसायीले सुन्तला बिक्री गरिरहेका छन् । यहाँ उत्पादन हुने सुन्तला केही परिमाण जिल्ला बाहिरसमेत निर्यात हुनेगरेको किसानहरू बताउँछन् । किसानका अनुसार व्यापारीले प्रतिकिलोग्राम ७० देखि ८० रुपियाँका दरले सुन्तला बगैँचाबाटै खरिद गर्नेगरेका छन् ।