• १३ साउन २०८१, आइतबार

स्वास्थ्य शिविरमा एक हजार बढीले लिए सेवा

blog

सहदेव बस्नेत

जाजरकोट, पुस २९ गते । जाजरकोटको कुशे गाउँपालिकाका तीन स्थानमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार बढी बिरामीले उपचार सेवा पाएका छन् । नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत क्यानेडियन रेडक्रसको सहयोगमा कुसे गाउँपालिका ३ को टापुचौर, वडा नम्बर ६ को घरङ्गा र वडा नम्बर ९ को पैकमा शिविर सञ्चालन गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटका सभापति हरिबहादुर बस्नेतले चिसोले सुत्केरी र बालबालिकाहरू बढी मात्रामा बिरामी भएको सूचनाका आधारमा एक हप्ते आपत्कालीन स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभएको छ । दुर्गममा रहेका यहाँका बासिन्दालाई सामान्य उपचारका लागि पनि हजारौँ रुपियाँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । 

आपत्कालीन स्वास्थ्य शिविरबाट घरदैलोमै सेवा पाउँदा हामी एकदमै खुसी छौँ, स्थानीय गौरी बुढाले खुसी व्यक्त गर्नुभयो । भूकम्पपछि त्रिपालको बसाइले बिरामी रहेकाले गाउँघरमै राम्रोसँग चेकजाँच गर्न पाउनु ठुलो भाग्य भएको बुढाले बताउनुभयो ।

भौगोलिक विकटताका कारण घण्टौँ पैदल हिँडेर उपचारका लागि बिरामीहरू शिविर आएका थिए । नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले शिविरमा रुघाखोकी, टाइफाइड, निमोनिया, दम, पखाला, पाठेघर खस्ने समस्या, गर्भवती, सुत्केरी, पेटका बिरामी, मनोरोगी, छाला र आँखा लगायतका समस्या लिएर बिरामीहरू आएको जानकारी दिनुभयो ।

शिविरमा वीर अस्पतालका डाक्टर राजन नारायण नकर्मी र डाक्टर सोभना थापा सहितको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो । बिरामीलाई उपचार सेवाका साथै आवश्यक परामर्श, औषधी वितरण, मनोसामाजिक परामर्श प्रदान गरिएको थियो । 

जटिल खालका बिरामीलाई भने सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको डा.नकर्मीले बताउनुभयो । धेरै जसो महिलाहरूमा पाठेघर खस्ने समस्या, दम र चिसोका बिरामी महिला, बालबालिका, सुत्केरी, गर्भवती र वृद्धवृद्धामा धेरै स्वास्थ्य समस्या देखिएको डा. नकर्मीले बताउनुभयो ।

यस्तै, गाउँपालिका उपाध्यक्ष देवीका सिंहले भूकम्पपछि दुर्गम कुशेमा पहिलो पटक गरिएको आपत्कालीन स्वास्थ्य शिविरबाट धेरै बिरामीहरू लाभान्वित भएको बताउनुभयो ।