• १३ साउन २०८१, आइतबार

छाडा गाईगोरु व्यवस्थापन गर्दै सिद्धार्थनगर

blog

नगरपालिकाले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखेका गाईगोरु । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पाैडेल

भैरहवा, पुस २९ गते । छाडा गाईगोरुको समस्या विकराल बनेपछि सिद्धार्थनगर नगरपालिकाले नियन्त्रणका लागि दोस्रो पटक अभियान सुरु गरेको छ । गत वर्ष पनि छाडा गाईबस्तु नियन्त्रण अभियान चलाएको नगरपालिकाले यस वर्ष फेरि समस्या दोहोरिएपछि दोस्रोपटक पनि अभियान सञ्चालन गरेको हो ।

"गत वर्षसम्म नगरमा छाडा गाइगोरुको आतङ्क र यसबाट सृजित समस्याले नगरवासी पीडित थिए । यसको समस्या समाधान गर्न नसकेको भन्दै जताततै नगरपालिकाको आलोचना भएपछि नियन्त्रणका लागि अभियानको थालनी गरेका थियौँ", नगरपालिकाको छाडा चौपाया व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेले भन्नुभयो, "यो समस्या पुनरावृत्ति हुन थालेकाले दुई दिनदेखि गत वर्षमा जस्तै अभियान चलाएका छौँ ।"

नगरमा छाडा अवस्थामा फेला पारिएका गाइगोरुलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ । नियन्त्रणमा लिइएका गाईगोरुलाई देवकोटाचोक नजिकै होल्डिङ सेन्टरमा जम्मा गर्ने गरिएको छ । होल्डिङ सेन्टरमा गाईगोरुलाई पशु चिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरी घाँस, पराल खुवाएर राखिएको छ । यसका लागि नगरपालिकाले आफ्ना कर्मचारी र अन्य थप जनशक्तिको परिचालन गरेको छ ।

"दुई दिनभित्रमा सम्बन्धित चौपायाका धनी आएर नसकारेमा होल्डिङ सेन्टरमा राखिएका ती गाइगोरुलाई ट्रकमा लोड गरी विभिन्न गौसंरक्षण तथा अनुसन्धान केन्द्रमा लगेर व्यवस्थापन गरिने छ", घिमिरेले भन्नुभयो, "गाइगोरु सकार्न आउने सम्बन्धित धनीलाई पाँचदेखि सात हजार जरिवाना तिराउने गरिएको छ ।" उहाँका अनुसार दुई दिनमै होल्डिङ सेन्टरमा ४५ वटा गाइगोरु जम्मा भैसकेका छन् । छाडा छाडिनेमा दुध दिने गाई पनि छन् । जम्मा गर्ने क्रम जारी छ । गत वर्ष नगरमा यसरी नै १७० वटा छाडा गाईगोरुलाई नियन्त्रणमा लिई व्यवस्थापन गरिएको थियो ।

छाडा गाइगोरुको कारण राजमार्ग र नगरका भित्री सडक जताततै कुरूप देखिन्थे । मलमूत्रको फोहरले नगर दुर्गन्धित बनेको थियो । राजमार्ग र भित्री सडकमा हुने दुर्घटनाले धेरै मानिसको ज्यान गयो । थुप्रै घाइते भए । गाडीको ठक्करले गाइगोरु नै मर्ने गरेका छन् । थुप्रै घाइते हुने गर्छन् । खेतीवाली खाइदिने गरेको गुनासो किसानले गर्ने गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले छाडा गाइगोरु नियन्त्रणका लागि नगरपालिका संवेदनशील भएर लागेको बताउनुभयो । "नियन्त्रण तथा व्यवस्थापन गर्न सहज छैन", उहाँले भन्नुभयो, "कतिपय मानिस किन मेरो गाइगोरुलाई छोपेको ? भन्दै नगरपालिकामा आएर झगडा गर्ने गर्छन् ।" उहाँको भनाइमा सिद्धार्थनगर नगरपालिकासँग जोडिएका अन्य पालिका र सीमापारि भारतबाट समेत छाडा गाइगोरु आउने गर्नाले नगरमा बर्सेनि समस्या दोहरिने गरेको हो ।