• २३ वैशाख २०८२, मङ्गलबार

बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

blog

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह बद्रीनारायण धामको अवलोकनपछि आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख २३ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बद्रीनारायण धामको मङ्गलबार अवलोकन गरेपछि उहाँले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको थियो, यसलाई निरन्तरता दिन ध्यान दिने छु,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

समाजका हरेक व्यक्तिले बद्रीनारायण धामको विकास र विस्तारमा लाग्नुपर्ने उहाँको भनाइ थियो । धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्नसमेत उहाँले आग्रह गर्नुभयो । समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । रासस