विष्णुप्रसाद पोखरेल
दमक, पुस २४ गते । झापाको दमकमा ग्यासको प्रयोगबारे सचेतना कार्यक्रम गर्ने भन्दै ठगी धन्दा गर्ने एक कम्पनीमाथि उजुरी परेको छ ।
ललितपुर महानगरपालिका १५ खुमलटारमा रहेको एल पी संयुक्त किचन ग्यास सेन्टर प्रालिले जनचेतना जगाउने भन्दै अनुमति लिएर महँगो मूल्यमा ग्यासको सिलिण्डरमा लगाउने रेगुलेटर तथा अन्य सामग्री बिक्री वितरण गर्ने गरेको पाइएपछि दमक नगरपालिकाले सचेत गराउँदै बढी लिएको रकम फिर्ता गराएको हो ।
यसको आधिकारिक बिक्रेता दमकमा कोही पनि नरहेको र स्थानीय सरकारमा यो बिक्रीका लागि व्यवसाय दर्ता समेत नगरेको भेटिएको छ । दमक नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ८ का वडाध्यक्ष धर्मराज दाहाल (दिपेश)का अनुसार जनचेतना जगाउने भन्दै गाउँघरमा पुगेर महँगो मूल्यमा रेगुलेटर बिक्री गर्ने र जडान गरे बापत थप पाँच सय रुपियाँ समेत लिने गरिएको खुलेको छ ।
एक हजार दुई सय मूल्य पर्ने रेगुलेटर दुई हजार ५० रुपियाँ लिएर बेचेको पाईएको दाहालले बताउनुभएको छ । "रेगुलेटर जडान गर्ने भनेर बेग्लै पाँच सय रुपियाँ समेत लिएको रहेछ यो त सरासर ठगी हो, उहाँले भन्नुभयो । जनचेतना जोगाउने भन्दै सामानलाई बढी मूल्य लिएर बिक्री गर्ने कार्य रोकिएको छ", उहाँले जानकारी दिनुभयो । उपभोक्तालाई आठ सय ५० रुपियाँ फिर्ता गराइएको छ ।
उपभोक्ताबाट बढी मूल्य लिएको पैसा फिर्ता गर्ने, कसैले सामान फिर्ता गरेमा फिर्ता लिइदिने र आउँदा दिनमा २० प्रतिशतभन्दा बढी मुनाफा नलिई मूल्य निर्धारण गरेर मात्र त्यस्ता सामग्री बिक्री गर्न सम्बन्धित प्रालिका प्रतिनिधि बेनुकुमार खड्कालाई निर्देशन दिइएको दाहालको भनाइ छ । ६ सयभन्दा बढी उपभोक्ताले रेगुलेटर तथा ग्यासका लागि आवश्यक सामग्री लिइसकेको बताइएको छ ।