• २७ पुस २०८१, शनिबार
blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस २३ गते । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता रहेकाको अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार आइतबार प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडामा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।

बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदाता नामावलीमाथि कसैको पनि दावी विरोध र उजुरी नपरेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँले ३४७ जना मतदाताको अन्तिम नामावली प्रकाशन भएको बताउनुभयो । यस प्रदेशमा प्रदेश सभा सदस्य सिट ११० र स्थानीय तह ११९ रहेका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मलाई मनोनयन दर्ता गर्ने गरी समय तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सर्वदलीय बैठकमा भएको सहमति अनुसार दलहरूलाई आधा घण्टा उम्मेदवारी मनोनयनका लागि समय दिइने भएको छ ।

निर्वाचन आयोगमा दल दर्ता भए अनुसार सबैभन्दा पहिले नेकपा एमाले र त्यसपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र क्रमशः अन्य दललाई उम्मेदवारी मनोनयन गर्ने समय मिलाइएको छ ।