• ९ मंसिर २०८१, आइतबार

नमिलेको गणित

blog

अन्य प्राणीभन्दा मानिसको मन चञ्चल हुन्छ । त्यसैले सानातिना समस्याले पनि मानिसको मन दुःख्छ । फेरि असीमित चाहना र उद्देश्यले गर्दा मानिसले आफ्नो चित्तलाई पनि शान्त राख्न सक्दैन । मूलमा पानी पलाए जस्तै इच्छा पलाइरहन्छ । यो स्वाभाविक प्रक्रिया पनि हो । त्यसैले धेरै मानिस जिन्दगीको गणित मिलाउन नसकेर अलमलमा परेका हुन्छन् । जिन्दगीको गणित नमिलाई मन शान्त हुँदैन । 

आध्यात्मिक जीवनको मुख्य उद्देश्य भनेको मोक्ष प्राप्त गर्नु हो । मोक्ष प्राप्त नहुन्जेल जन्म र मृत्युको चक्रमा घुमिरहनु पर्छ । दुःखको सागरमा पौडी रहनु पर्छ । त्यसैले महात्मा, ऋषि, देवता पनि मोक्ष प्राप्त गर्न चाहन्छन् । मोक्ष प्राप्त गर्न मनलाई शान्त गरी शून्यतामा लैजानु पर्छ । यही शून्यतालाई ऋषिहरूले आकाश मण्डल जस्तो शून्यतालाई १२ भागमा विभाजन गरी १२ राशि बनाएका छन् । प्रत्येक राशिको नाम नौ वटा राखिएको छ । १२ लाई नौले गुणन गर्दा १०८ हुन आउँछ । यस्तै एक वर्षलाई १२ महिनामा विभाजन गरिएको छ । यी १२ महिनाको नाम नक्षत्रको नाममा राखिएको छ । त्यस्तै २७ नक्षत्रको नाम दक्षप्रजापतिका छोरीको नामबाट राखिएको भनाइ छ । १२ राशिलाई नौ (ग्रह) ले गुणन गर्दा पनि १०८ हुन्छ । यसैले हरेक मन्त्रको जप गर्दा १०८ जप गर्ने धर्मशास्त्रमा उल्लेख भएको हुनु पर्छ । मन्त्र जप गरी मनलाई शून्यतामा लगी मोक्ष प्राप्त गर्न ऋषिहरू १०८ जप गर्छन् ।

बुद्धको पनि प्रमुख लक्ष्य मोक्ष प्राप्त गर्नु हो । चेतनालाई जागृत गरी आत्मा साक्षात्कार नबनेसम्म जिन्दगीको गणित मिल्दैन । जिन्दगीको गणित मिलाउन नसकेर नै इच्छा उब्जिरहन्छ, आशा पलाइरहन्छ, अपूर्ण मन भाैँतारिइरहन्छ । आत्मा साक्षात्कारबाट मोह, माया विलीन भएर त्याग भावना जागृत हुन्छ । उदार मन भएकाले एकदिन शरीर त त्याग गर्नु पर्छ भनेर भएका सम्पत्ति पनि दान गर्छन् । त्यागबाट नै बलि राजा उदार, परोपकारी दानवीरका रूपमा चिनिए । उनको शासनकालमा समृद्धि थियो । त्यसैले जनता खुसी थिए । उनको यही सफलताले गर्दा देवताहरू चिन्तित हुन थाले । बलिले अश्वमेघ यज्ञ समापन गरेको बेला वामनको रूप धारण गरेर भगवान् विष्णु उपस्थित भए । बलि राजाले वामनलाई आदरपूर्वक सत्कार गरेर आपूmकहाँ आउनुको कारण सोधे । वामनले हरि भजन गर्नका लागि तीन पाउ जमिन चाहेको व्यक्त गरे । राजा बलिले म यत्रो राजा यति सानो तीन पाउ जग्गा माग्नु भयो भनेर अहङ्कार गरी दिने सङ्कल्प गरे । 

बलिको छोरी रत्नमालाले यति राम्रो वामनलाई स्तन पान गराउन पाए हुन्थ्यो भनी विचार गरी । वामन रूप धारण गरेका विष्णुले पनि मनमनै चाल पाएर पूरा हुन्छ भनी दिए । वामन अवतारी विष्णुले तीन पाउमा एक पाउ राख्दा स्वर्ग, अर्को पाउ राख्दा पृथ्वी सकियो । अनि अर्को पाउ बलिको शिरमा राखेर पातालमा धसिदिएको बेला बलिकी छोरीले यसलाई दूध होइन विष पिलाउनुपर्ने भनी मनमा सोची । भगवान् विष्णुले यो पनि चाल पाई पूरा गरिदिन्छु भने । यही कुरो भगवान् विष्णु श्रीकृष्णको अवतार लिएर जन्मनुभएको बेला बलिकी छोरी रत्नमाला पुतनाको रूप लिएर जन्मिएकी थिइन् । पुतनाले श्रीकृष्णलाई विष पिलाएकी थिइन् । यसरी मनमा आउने तर्कवितर्क र आकाङ्क्षाबाट सतर्क हुन नसकेसम्म मानिसले पनि दुःख पाइरहन्छ । मनमा अशान्ति हुन्छ । मनमा दुःखको कारखाना खुल्न थाल्छ । बच्चादेखि वृद्ध हुँदासम्म समय अनुसारका लोभ र मोह जाग्छ । बच्चामा खेलौनाको मोह, जवानीमा पति वा पत्नीको मोह, वृद्धावस्थामा सन्तानको मोह जाग्छ । यो प्राकृतिक नियम पनि हो ।

मानिस विषयसँग सम्पर्क गरी इन्द्रियहरूले सुख अनुभूति लिई आनन्द लिन खोज्छ । यसैबाट  दुःख सुरु हुन्छ । प्राणीहरू स्वाभाविक रूपमा विपरीत लिङ्गीमा आकर्षित हुन्छन् । सुरुमा यो क्रियाकलाप आनन्ददायक हुन्छ । केही समयपछि विभिन्न कारणले विछोड हुनु पर्छ । बिछोडले पीडा हुन्छ । संयोगपछि वियोग हुनुपर्ने भएकाले यसबाट शोक र चिन्ता हुन्छ । यो परिणाम नै जीवनमा नमिलेको गणित हो । जबसम्म हामी मोक्षको गतिमा परेको हुन्नौँ, तबसम्म हाम्रो जन्म भइरहने माथि पनि उल्लेख गरियो । इच्छा र आकाङ्क्षाले जीवनमा अनेकौँ बाधा आइरहन्छ । यसले मन पिरोलिरहन्छ । अहिलेको समयमा मानिसले लिन मात्र जानेका हुन्छन्, दिन जान्दैनन् । परिस्थिति व्यवहार चलाउन सबैलाई कठिन भएको छ । यो कठिनाइलाई पार लगाउन मानिस पैसाको पछि लाग्ने गरेका छन् । 

पैसाका लागि मरिमेटेर ठुल्ठुला अपराध गर्न पनि नहिचकिचाउने भएका छन् । सानो गल्ती चाहेर वा नचाहेर पनि हुन्छ तर इमानको मुकुन्डो लाएर बेइमान गर्नेहरू बढिरहेका छन् । नित्य पवित्रताकै खोजीमा लाग्ने विद्वान् पनि कहीँ न कहीँ चुकेको हुन्छ । यस्तो विद्वान्लाई तिल बराबरको पाप पनि पहाड झैँ देखा पर्छ । प्रायः मानिसमा बेइमानको सानो भए पनि दाग भएका हुनाले शतप्रतिशत इमानदारी भएका मानिस अहिलेको अवस्थामा पाउन कठिन छ । बोधिज्ञान प्राप्त गर्न इमानदार भएर शील पालन गरेको हुनु पर्छ । इमानदार मानिसले सत्य बोल्छ । त्यो कुरा अरूलाई पच्दैन । उदेखि अरू टाढा हुन्छन् । त्यसैले त्यस्तो मानिसको साथी कम हुन्छ । अरूले मिलाएर बोलेको पनि मन पर्दैन । रिस उठ्न थाल्छ । सत्यमा मिलावट हुनु हुँदैन । यस्तो कुरा धेरैले व्यवहारमा अनमेल भएको भन्छन् । त्यसैले समाजमा बाहिरी सङ्गत गर्न गाह्रो भएको छ । 

इमानदार मानिसको पनि मनस्थिति कञ्चन हुन मुस्किल भइरहेको छ । मन निर्मल भएको व्यक्तिले बुद्धिद्वारा सत्गुण स्थापित गर्न सक्छ । मनलाई नियन्त्रण गरेर मात्र समाधिस्थ हुन सकिन्छ । यस्तो व्यक्तिमा इन्द्रिय तृप्तिका विषयमा आकर्षण हुँदैन, जसले गर्दा राग र द्वैषबाट मुक्त भई मनमा विकारको विकर्षण हुँदैन । यस्तो व्यक्ति एकान्त स्थलमा बस्न रुचाउँदछ । सम्पूर्ण भौतिक वस्तुप्रति अनाशक्त भई झुटा क्रियाकलापबाट पूर्णतया मुक्त हुन्छ । यस स्थितिमा ब्रह्म साक्षात्कार हुन पुग्दछ । बुद्धकालीन समयमा कोशल राज्यको राजधानीमा श्रावस्ती नाम गरेको समृद्ध नगर थियो । त्यस नगरमा चालिस कोटि धन भएको एक जना महाजन थियो । महाजनको पटाचारा नामकी छोरी अत्यन्तै राम्री थिइन् । छोरीलाई अरूको आँखा नलागोस् भनेर सबै सुविधा घरमै उपलब्ध गराई बाहिर जान बन्देज लगाइएको थियो । रूपकी घमण्डी पटाचाराले यौवनको मात चढेपछि अन्य कुनै केटो देख्न नपाएपछि घरको नोकरसँग प्रेम गरी भागी विवाह गरिछे । पटाचाराकी दुई जना बच्चामध्ये एक जनालाई बाजले लग्यो र अर्कोलाई बाढीले बगायो । श्रीमान्लाई सर्पले टोकेर मृत्यु भयो । आमा, बाबु र भाइको पनि आँधीहुरीमा घर भत्केर मृत्यु भयो । पटाचारा पागल जस्तो भई । वस्त्रहीन भएर हिँड्न थाली । केटाकेटीले पागल भनी ढुङ्गामुढा गर्न थाले । भाग्दाभाग्दै जैतिवनमा बुद्धले प्रवचन गरिरहेको ठाउँमा पुगी ।

मान्छेले रोक्न थाले । तथागतले नरोक्नू मेरो सामु आउन दिनू भनी आज्ञा भयो । तथागतलाई देख्नेबित्तिकै पटाचारको ज्ञानको चक्षु खुल्न थाल्यो । अनि लाज मान्न थाली । अरू भन्तेले पटाचारालाई चीवर दिए । त्यही लगाई । पटाचार तथागतको शरणमा परेर आफ्नो दुःखपीडा पोख्न थाली । तथागतले भन्नुभयो– अब तिमी मेरोसामु आइपुग्यौ । दुःख हुँदैन । मृत्यु जसको आउँछ, उसलाई मृत्युबाट बचाउन कसैले सक्दैन । कुन समयमा कसको कसरी मृत्यु हुनुपर्ने हो, त्यो भएर छोड्छ । जजसको मृत्युमा तिमीले आँसु बगाइरहेका छौ, यो दुःख त जन्मजन्मान्तर भोग्दै आएकी छौ । महासागरभन्दा बढी आँसु बगाएर आइसकेकी छौ । त्यसैले यसको कुनै अर्थ छैन । तथागतको प्रवचन सुनेर पटाचारको हृदय शुद्ध हुन थाल्यो । तिनले तथागतसँग साधनाको अनुमति लिएर साधना गरी निर्वाण प्राप्त गरी । जन्मजन्मान्तरबाट हुने दुःखबाट मुक्त पाइन् । 

यस्तै हिरण्यकश्यपु एक शक्तिशाली आसुरी कुलका राजा थिए । उनको छोरा प्रह्लाद नारायणभक्त थिए । दैत्य कुलमा जन्मेर पनि सत्गुणी आश्रय लिएको हुनाले आसुरी भावना उनमा थिएन । शान्ति, दया, सरलता भएका प्रह्लादलाई उनको बुवा हिरण्यकश्यपुले मृत्युशय्यामा पु¥याउन कठोरभन्दा कठोर सजाय दिन खोजे तर ती सबै काम लागेन । प्रह्लाद राग, द्वैष, मायामोहबाट टाढा बसेर नारायण भक्तमा लिप्त भई ब्रह्म साक्षात्कार भए ।

ब्रह्म साक्षात्कार भएको अवस्थामा जसरी निरन्तर पानी बगेर समुद्रमा परिरहँदा पनि समुन्द्र शान्त देखिन्छ । ब्रह्म साक्षात्कार भएको व्यक्ति जस्तोसुकै कठिनाइ आइपरे पनि मन विचलित नगरी शान्त अवस्थामा बस्न सकिन्छ । इच्छा तृप्तिमा लागिपर्नेले त्यो शान्ति पाउन सक्दैन । सांसारिक विषयवस्तुमा अल्झिरहँदा मेरो भन्ने भावना हुन्छ । यो भावनाले अशान्ति भइरहन्छ । इमान, इज्जत, धर्म नैतिक नभए मानिस सुखी हुँदैन । इमान र नैतिक नभएपछि क्रोध धेरै पाल्नुपर्ने हुन्छ । क्रोधले रगत तातेर ऊर्जा खर्च हुन्छ । अनि कान्ति क्षय हुन्छ । 

नैतिक इमान भए पनि सरसल्लाह भएन भने मनमनै रिस बोक्नुपर्ने हुन्छ । सरसल्लाह कमीले घर कलह हुने र साथीभाइमा मनमुटाव हुने हुन्छ । त्यसैले जतिसुकै उच्च घरानाको मानिस भए पनि सरसल्लाह र ज्ञानको कमीले दुःखदायी जीवन व्यतीत गर्नुपर्ने हुन्छ । एक आपसमा सल्लाह भयो भने दोस्रो व्यक्तिको मनसाय बुझ्न पाइन्छ । यथार्थ कुरा बुझेपछि आउने रिस शान्त हुन सक्छ । मोह त्याग भएपछि मनमा दुर्भावना हुँदैन । दुर्भावनाले मानवलाई बेचैन बनाउँछ । मोहलाई त्यागिसकेपछि मन कञ्चन भएर अरूप्रति दया भावना जाग्छ । अन्तिममा हामीले सबैभन्दा माया गर्ने यो देह पनि त्याग्नै पर्छ । कहिले कसरी त्याग्ने भन्ने सवाल आउँछ । चेतनालाई जागृत गरी ज्ञानले त्याग गर्न सके बुद्धत्व प्राप्त हुन्छ । बुद्धत्व प्राप्त गर्न नसकेसम्म पुनः जन्मनुपर्र्ने, जन्मपछि दुःख झेल्नुपर्ने हुन्छ । त्यसैले पुनः जन्म हुनु नै नमिलेको गणित हो । 

Author

अशोक शोकी