• १३ साउन २०८१, आइतबार

भद्रपुरमा कृषक परिचयपत्र वितरण सुरु

blog

लीलाराज खड्का 

विर्तामोड, पुस २० गते।  भद्रपुर नगरपालिकाले व्यावसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरेर किसान परिचय पत्र वितरण गर्न सुरु गरिएको छ।  

नगर सरकारले व्यावसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत किसान परिचयपत्र वितरण अभियान थालेको नगरपालिकाले जनाएको छ।

सङ्घीय सरकारबाट प्राप्त शसर्त अनुदान अन्तर्गत प्रतिवर्ष प्राप्त दुई लाख रकममा नगर सरकारले १० लाख थप गरेर वडा नम्बर १ र २ मा किसान  परिचयपत्र वितरण गरिसकेको र बाँकी अन्य वडा नम्बर ३ र ४ मा किसानको पहिचानको काम सुरु गरिरहेको नगरपालिकाका कृषि शाखाका निमित्त प्रमुख सुमन विमलीले जानकारी दिनुभयो।

नगर कृषि शाखाका निमित्त प्रमुख सुमन विमलीका अनुसार नगर कार्यपालिकाले तय गरेको मापदण्ड अनुसार भद्रपुर नगर क्षेत्रमा व्यावसायिक कृषि कर्म गरिरहेका किसानको स्थलगत अनुगमन पश्चात् पहिचान गरेर किसान परिचयपत्र वितरण गरिने छ।

पछिल्लो चरणमा वडा नम्बर ३ र ४  का किसानको विवरण लिएर परिचयपत्र प्रमाणीकरण प्रक्रियाका लागि वेबसाइटमा नाम सार्वजनिक गरिसकिएको  छ।

यसका लागि नेपाल सरकारको सर्शत अनुदानबाट आउने वार्षिक दुई लाख रकम कम भएपछि बाँकी काम रहेका वडामा एकमुष्ट किसान परिचयपत्र वितरण गर्न नगरपालिकाले १० लाख रकम विनियोजन गरेर काम अगाडि बढिरहेको निमित्त प्रमुख विमलीको भनाइ छ। 

यस्तै भद्रपुर नगरपालिकाले पशुपालन र कृषि कर्ममा कृषकलाई सहज वातावरण निर्माण गर्न नगरको दक्षिणी क्षेत्रमा पर्ने वडा नम्बर १, २ र ३ लक्षित गरी कृषि र पशुको प्राविधिक सेवा विस्तार गरेको छ। यस सेवा केन्द्र स्थापनासँगै सयौँ पशुपालक कृषक लाभान्वित भएको नगर कृषि तथा पशुपन्छी शाखाको दाबी छ।

यता कृषिको वाली लगाउँदा हुने जोखिमबाट लगानी सुनिश्चित गर्न कृषि बिमा कार्यक्रम लागु गरिएको भद्रपुर नगरपालिकाले जनाएको छ। 

त्यस्तै नगरपालिकाले नगर क्षेत्रमा कृषि प्रयोजनका लागि सञ्चालन गरिने कृषि सिँचाइको विद्युत महसुलको ५० प्रतिशत रकम नगरपालिकाले तिरिदिने घोषणा गरेको छ।

नगर प्रमुख गणेश पोखरेलका अनुसार कृषि उत्पादनको लागत घटाएर व्यावसायिक कृषिमा किशानको आकर्षण बढाएर अन्न उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर गराउन अनुदान कार्यक्रम ल्याइएको हो।