• ९ मंसिर २०८१, आइतबार

विपतमा स्वास्थ्य चुनौती

blog

दुई महिनाअघि जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडालाई केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको भूकम्प गयो । यो भूकम्पले पश्चिम रुकुममा पनि क्षति पुर्‍यायो । यसै गरी गत महिना बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टरको भूकम्प गयो । यी भूकम्पले धनजनमा क्षति पुर्‍यायो । भूकम्प प्रभावित क्षेत्रमा बढ्दो चिसोले दुई महिनामा करिब ३४ जना मानिसले ज्यान गुमाउनु पर्‍यो । यसमा बालबालिका र सुत्केरीको सङ्ख्या पनि सामेल छ । यस प्राकृतिक विपत्तिमा मुख्य गरी सुत्केरी र गर्भवती महिला तथा बालबालिका र वृद्धवृद्धाको जीवन कठिन भयो । अझ घट्दो तापक्रमले थप समस्या सिर्जना गरेको छ । चिसोले गर्दा श्वासप्रश्वास र झाडापखालाका बिरामी बढेका छन् । भूकम्प पीडितहरू घरबार विहीन हुँदा त्रिपालमा बसेका छन् । त्रिपालमा बसेका कारण चिसोले झन् सताएको छ । करिब तीन सयभन्दा बढी परकम्प आएकाले मानिसहरू खुला आकाशमा रात बिताउन बाध्य भए । यसको उचित व्यवस्थापन हुन नसके वा अझ ढिला भए मातृ तथा शिशु मृत्युदर बढ्ने सम्भावना छ । नेपालले दिगो विकास लक्ष्य अन्तर्गत मातृ मृत्यु दर प्रति एक लाखमा ७५ पुर्‍याउने लक्ष्य लिएको छ । यस सन्दर्भमा प्राकृतिक विपत्तिले ल्याउने स्वास्थ्य समस्यालाई सही समयमा सम्बोधन गर्नु अपरिहार्य छ । यसो गर्न सकिएन भने हामीले वर्तमानका मानव स्रोतलाई मात्र नभई भविष्यका कर्णधारलाई पनि गुमाउन पुग्ने छौँ । 

संयुक्त राष्ट्र जनसङ्ख्या कोषको अनुसार, भूकम्पले असी हजारभन्दा बढी प्रजनन उमेरका बालिका तथा महिलालाई असर गर्ने आकलन गरिएको छ । शौचालय, घरहरू भत्केका छन् । यसले गोपनीयता राख्न असहज हुँदा व्यक्तिगत सरसफाइमा कमी हुने गर्छ, जसले गर्दा उनीहरूको प्रजनन स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना बढी हुन्छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेकाले चार हजारभन्दा बढी गर्भवती महिलालाई प्रसूतिको बेला समस्या आउन सक्ने जनाइएको छ । स्वच्छ पानी र सरसफाइको कमीका कारण जाजरकोटमा फेरि हैजाले महामारी लिन सक्छ । सर्ने, नसर्ने रोगका साथै खोपबाट बच्न सकिने रोगहरूले झन् दुःख दिन सक्छ । जनसङ्ख्या कोषले जाजरकोट र रुकुम पश्चिममा बालिका तथा महिलाविरुद्ध हुने हिंसा, भेदभावविरुद्ध भइरहेका काम समेत प्रभावित हुन सक्ने भन्दै समयमा ध्यान दिन ध्यानाकर्षण गराएकोे छ । भूकम्पले विद्यालयका भवनमा क्षति पुर्‍याएकोले बालबालिका शिक्षाबाट वञ्चित छन् । यसले गर्दा बालविवाहको दर बढ्न सक्ने अनुमान गरिएको छ । बालबालिकाको संयुक्त राष्ट्र कोष (युनिसेफ) का अनुसार करिब एक लाख पचास हजार व्यक्तिलाई पानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सेवा सुविधाको आवश्यकता पर्ने छ । 

खेतीपाती गर्ने तथा वस्तुभाउ पाल्नेले आफ्नो कामलाई निरन्तरता दिन सकेका छैनन् । यसले खाद्यान्नमा समस्या परेको छ । समयमै समस्याको हल गर्न सकिएन भने कुपोषण अझै बढ्न सक्छ । पाँच वर्षभन्दा कम उमेरका बत्तीस हजारभन्दा बढी बालबालिका तथा छ हजारभन्दा बढी गर्भवती महिला कुपोषणको सिकार हुन सक्ने तथ्याङ्क सार्वजनिक भएको छ । जाजरकोटको कृषि विकास कार्यालयका अनुसार करिब नौ करोड रुपियाँ बराबरको खाद्यान्न नष्ट भएको छ । 

प्राकृतिक प्रकोपमा मानिस विक्षिप्त हुन सक्छ । त्यसैले प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसँगै मानसिक स्वास्थ्यका लागि पनि परामर्शको उचित व्यवस्थापन हुनु पर्छ । २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टरको भूकम्पले अकल्पनीय समस्या सिर्जना गरेको थियो । यही भूकम्पबाट हामीले पाठ लिई क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ त भन्ने कुराका बारेमा पूर्वतयारी गर्नु पथ्र्यो तर बेलाबेलामा यस्ता भूकम्प गए पनि हामीले भरपर्दो तयारी अझै गर्न सकेका छैनौँ । 

प्राकृतिक तथा गैरप्राकृतिक विपत्बाट जनधन, सांस्कृतिक सम्पदाको संरक्षण गर्नका निम्ति विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, ऐन, २०७४ ले भूकम्प, डढेलो, हिमपात, असिना, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर विपत्लाई प्राकृतिक विपत् भनेको छ भने अनिकाल, डढेलो जस्ता प्रकोपलाई गैरप्राकृतिक विपत्को रूपमा अर्थाएको छ । मनसुनजन्य तथा अन्य विपतका कारण वर्षेनी जनधनको ठूलो क्षति हुने भएकाले जाजरकोटमा विपत पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० पनि रहेको छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोटका घरमा धेरै क्षति भएको छ । गोरखा भूकम्पभन्दा कम रेक्टरको भए पनि रातको समय, ढुङ्गामाटोले निर्मित घर र घट्दो तापक्रमले गर्दा जाजरकोट र पश्चिम रुकुममा असर बढी गरेको छ । यसले हाम्रा घर वा अरू कुनै संरचना बनाउँदा भूकम्प प्रतिरोधी बनाउन पर्दछ भन्ने कुरा सिकाएको छ । विज्ञहरूले पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने प्रबल सम्भावना छ भनेर बताइरहँदा हाम्रो असावधानीका कारण हामीले दुःख पाइरहेका छौँ । 

दुर्गम जिल्लामा मौसम तथा सडकको अवस्थाको कारण समयमै सहायता पुर्‍याउन असहज हुन्छ । यहाँ गरिबी ब्याप्त छ । भौतिक संरचना, स्वास्थ्य सेवा, खानेपानी, विद्यालय तथा आश्रयस्थलको अभाव छ । पर्याप्त स्वास्थ्य केन्द्र तथा औषधी पनि हुँदैन । त्यसैले भूकम्प जस्ता प्रकृतिक प्रकोपमा  पीडित नागरिकहरूका लागि सुरक्षित आश्रय स्थल, सुरक्षित शौचालय तथा स्वच्छ खानेपानी र उचित खाद्यान्न उपलब्ध गराउन असहज हुन्छ । राज्य संयत्र यस्ता कुरामा सदा सिकारु भइरहने कार्यले हजारौ नागरिकले जीवन गुमाउनु पर्ने वा दीर्घ रोगी भइ कष्टकर जीवन यापन गर्न बाध्य हुनु पर्ने अवस्था आइपर्दछ ।

गत वर्ष जाजरकोटका स्वास्थ्य चौकीमा सामान्य औषधि पनि पुग्न नसकेको समाचार हामीले सुनेकै हो । झन् अहिलेको विपत्तिमा अवस्था कस्तो होला अनुमान लगाउन सकिन्छ । सामान्य स्वास्थ्य सेवाका लागि जिल्ला अस्पताल गए पनि सोभन्दा बढी सेवा चाहिँदा घन्टौँ लगाएर सुर्खेत वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ । यही कारण यहाँ घरमै बच्चा जन्माउने दर बढेको छ । यसले आमा र शिशुको स्वास्थ्य जोखिममा परेको छ । 

प्राकृतिक विपत्तिमा अर्को समस्या भनेको सुरक्षित स्थान नहुनु हो । सुरक्षित स्थानको अभावमा बालिका असुरक्षित रहन्छन् । भागदौड र वरिपरिको वातावरणले बालबालिकाको मानसपटलमा नकारात्मक असर पु¥याउँछ । त्यसैले उनीहरूको निम्ति पनि सुरक्षित क्षेत्रको विकास गर्नुपर्दछ । 

पराकम्पनले गर्दा घरभित्र बस्न डर हुन्छ । अस्थायी बासस्थानमा पनि भीडभाड हुन्छ । सफापानी तथा सरसफाइको अभाव हुन्छ । यसले संक्रामक रोग फैलने डर हुन्छ । अत्यावश्यक स्वास्थ्य सेवा सुविधामा बाधा पुग्दा नियमित खोपको कार्यक्रममा पनि बाधा पुग्दछ । पर्याप्त खानपानको अभावमा बालबालिकाको रोगसँग लड्ने क्षमतामा कम भएर दादुरा र रुबेलाजस्ता रोगहरू फैलिन सक्छन् । यही कारण स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुबेला तथा टाइफाइड विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको थियो । 

प्राकृतिक तथा गैरप्राकृतिक विपतबाट बच्नका लागि आवश्यक उपाय अपनाउँदै सो सम्बन्धी जोखिम न्यूनीकरण तथा उचित व्यवस्थापनका लागि अग्रसर हुनु जरुरी छ । नेपालको जुन भूभागमा भूकम्प गए पनि समयमै त्यसका लागि द््रुत टोली तैनाथ गर्न सकियो भने हुन सक्ने मानवीय क्षति केही हद सम्म कम गर्न सकिन्छ तर राष्ट्रिय विपतका बेला तत्काल गर्न सकिने उद्धार र उपचारको भरपर्दो कार्यक्रम नहुँदा हाम्रा लागि हरेक विपत्ति नयाँ र असहज बन्ने गरेको छ ।  

Author

अंशु भुसाल