• ९ मंसिर २०८१, आइतबार

स्वदेशी चिज बिक्री नहुँदा उद्यमी मर्कामा

blog

काठमाडौँ, पुस २० गते । नेपालमा आयातित चिजका कारण स्वदेशी चिज बिक्री नभएकाले उद्योग नै बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगीले कृषि तथा पशुपन्छी विकासमन्त्रीसमक्ष गुनासो गरेका छन् । 

चिज उद्योगीको छाता सङ्गठन हिमालयन चिज उत्पादक सङ्घ इलामले बिहीबार कृषिमन्त्री डा. वेदुराम भुसाललाई ज्ञापनपत्र बुझाउँदै सो गुनासो गरेको हो । उद्योगीको गुनासो सुनेपछि कृषिमन्त्री भुसालले आयात नियन्त्रण गर्न आफूले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

यससँग सम्बन्धित निकायसँग आयातलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनी छलफल गरी कुनै निर्णय लिने तथा मौज्दात रहेका चिज तथा अन्य दुग्ध पदार्थ कसरी बिक्रीवितरण गर्नेबारे पनि पहल गरिने उहाँले प्रतिबद्धता जनाउनुभएको हो । बिक्री नभएको चिज भण्डारमा लामो समय मौज्दात राख्दा कुहिने र बिग्रिने हुनाले त्यसलाई चाँडो बिक्रीवितरणका लागि व्यवस्था मिलाउन सङ्घले मन्त्रीसँग आग्रह गरेको छ । सरकारले आत्मनिर्भर तथा स्वदेशी उद्यमीलाई संरक्षण गर्नका लागि विदेशी दुग्ध पदार्थ पूर्ण रूपले बन्द गर्नुपर्ने तथा भन्सार कर बढाई स्वदेशी उत्पादन मात्र बिक्रीवितरण हुने वातावरण मिलाइदिन सङ्घले आग्रह गरेको छ । २०७९ साल चैतमा पनि कृषि सचिवलाई चिजको अवस्थाबारे सङ्घले जानकारी गराएको थियो तर कृषि मन्त्रालयले त्यसप्रति कुनै ध्यान नदिएका कारण अवस्था भयावह बन्दै गएको सङ्घका पदाधिकारी टुलु तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेशको इलाम जिल्लामा मात्र एक लाख केजीभन्दा बढी चिज भण्डारमा छ, त्यसमध्ये लगभग २० देखि २५ हजार किलो चिज कुहिसकेको छ, त्यो अब काम लाग्ने अवस्थामा नै छैन ।” 

भारतबाट विभिन्न किसिमका दुग्ध पदार्थ चिज, घिउ आदि वस्तु सस्तोमा आयात हुँदा नेपालमा उत्पादन भएको दुग्ध पदार्थ बिक्रीमा सिधै असर परेको बताउँदै उहाँले नेपालमा दुध महँगो छ, त्यसको आधारमा चिज महँगो हुने कुरा भइहाल्यो तर भारतबाट सस्तो चिज आयात हुँदा आफूहरूको बिक्री नभएर स्टोरमा थन्केको दाबी गर्नुभयो । 

सङ्घका अनुसार इलाममा मात्र दुर्गम क्षेत्रमा उत्पादन हुने दुध साना किसानबाट खरिद गरी दैनिक तीन सय लिटरदेखि दुई हजार लिटरसम्मको दुधबाट चिज उत्पादन भइरहेको छ तर स्थानीय विभिन्न करका कारण चिज उत्पादन महँगो भएको कृषिमन्त्री भुसाललाई सङ्घका उपाध्यक्ष महेन्द्र प्रधानले जानकारी गराउनुभएको छ । 

भारतलगायत विभिन्न देशबाट चिज आयात नियन्त्रण गर्नुपर्ने उपाध्यक्ष प्रधानले बताउनुभयो । आयातमा नियन्त्रण नगरेसम्म उत्पादन गरिएका सबै चिज भण्डारमा नै कुहिने अवस्था सिर्जना हुने उहाँले दाबी गर्नुभयो । भारतबाट आउने चिज नेपालभन्दा धेरै सस्तो भएका कारण आयात रोक्नु प¥यो या दुधको मूल्य कम गर्नु पर्‍यो, दुइटामध्ये एउटा कुनै उपाय लगाउन मन्त्रीसँग आग्रह गरिएको उहाँले बताउनुभयो ।