• १३ असोज २०८१, आइतबार

नाटकमार्फत ‘मनका कुरा’

blog

काठमाडौँ, पुस १७ गते । मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या भन्ने बुझ्नु पर्छ । मानसिक समस्या जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्छ । बालबालिका, वयस्क, वृद्धवृद्धा सबै उमेर समूहलाई हुन्छ । यो दीर्घकालीन समस्या पनि हो । यो रोग लागेपछि छिटै निको हुँदैन । जसले गर्दा यस्तो रोग लागेका मान्छेको दैनिकीमा ठुलो असर गरिरहेको हुन्छ । 

हेर्दा स्वस्थ मान्छेजस्तो देखिए पनि मानसिक सन्तुलन ठिक हुँदैन । मानसिक समस्या विभिन्न प्रकारका हुन्छन्  । डिप्रेसन, एन्जाइटी डिसअर्डर, निद्रासम्बन्धी रोग, मानसिक असन्तुलनलगायत मानसिक समस्या नेपालमा धेरैजसोमा देखिने गरेको छ । मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गका रूपमा लिए पनि यसको प्रवर्धनका लागि व्यक्तिगत तथा सामुदायिकस्तरमा धेरै काम भएको पाइँदैन । यसै कुरालाई दृष्टिगत गर्दै मनोसामाजिक एवं मानसिक स्वास्थ्यका बारेमा दृश्य सादृश्य नाटक समूहले विभिन्न स्थानमा नाटक ‘मनका कुरा’ मञ्चन गरेको छ ।

शालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको नाटकमा दिवाकर घिमिरे, दीपमाला परियार, शान्ति भट्टराई, प्रतीक दुलाल, उन्नत उप्रेती, अस्मिता ढकाल, सरस्वती अधिकारी, शालिक भण्डारीको जीवन्त अभिनय रहेको छ । मानसिक स्वास्थ्यमा रहिआएको समाजको लाञ्छना र विभेदलाई सबै तवरबाट हटाउनुपर्ने, मानसिक स्वास्थ्य शिक्षा र साक्षरतामा वृद्धि गर्नुपर्ने, जस अन्तर्गत मानसिक स्वास्थ्यका बारेमा खुला रूपमा छलफल एवं जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने, गुणस्तरीय मानसिक सेवामा पहुँच बढाउनुपर्ने नाटकका लेखक भण्डारीले बताउनुभयो । नाटकलाई काठमाडौँ, मकवानपुर, नुवाकोटका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।