• १३ असोज २०८१, आइतबार

नवदुर्गा नाच प्रदर्शन

blog

भक्तपुर, पुस १७ गते । भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा नाच सोमबार मध्यपुर थिमिमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगण विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा मध्यपुर थिमि नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । नवदुर्गा देवगण नारायणमान वनमालाले पुस १० गतेबाट सुरु भएको नाच सोमबार प्रदर्शन गरी सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले मध्यपुर थिमिको मरु टोलमा वाराही नाच, सिम्म दुम्म ङालाकेगु, महाकाली र श्वेतभैरव ङालाकेगु नाच प्रदर्शन गरी सम्पन्न भएको जानकारी दिनुभयो । 

नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने प्रचलन रहेको छ । नाचमा १३ वटा मुकुन्डो रहने र मुकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । नाचमा भैरव, महाकाली, वाराही, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्छन् । नाचका क्रममा बाजा बजाउनेसमेत गरिन्छ । परम्परागत वेशभूषामा देवगणको प्रतीकका रूपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नु पर्छ । साथै नाचका क्रममा घरपरिवारसँग छुट्टिएर बस्नुपर्ने, खानामा बार्नुपर्नेलगायत परम्परा छ । 

प्रख्यात मल्लकालीन नवदुर्गाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगु भनिन्छ । जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भने हुँदैन । मुकुन्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ । यो जात्रामा दर्शकले सिट्ठी बजाउँदै मुखमा हत्केलाले थप्थपाउँदै आबाबाबा... गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्छन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासका रूपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो ।

भक्तपुरका राजा भुवन मल्ल (सन् १५०५–१५१९) ले सञ्चालनमा ल्याएको बताइन्छ । नेपाल संवत् ६३३ (इसं १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तत्कालीन राजा भुवन मल्लले नाच चलाएको संस्कृतिविद् ओम धौभडेलको भनाइ छ ।