• १३ असोज २०८१, आइतबार

गोरखापत्रका पूर्वसम्पादक पोखरेलको निधन

blog

स्वर्गीय गोकुलप्रसाद पोखरेल

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १६ गते । गोरखापत्रका पूर्व सम्पादक गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ । उहाँ ८७ वर्षका हुनुहुन्थ्यो । उहाँ दमको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

धनकुटाको कचिँडेमा जन्मिनुभएका पोखरेलका छोरा विदेशमा रहनुभएकाले मङ्गलबार मात्र उहाँको अन्त्येष्टि गरिने पारिवारिक स्रोतबाट थाहा भएको छ । स्वर्गाीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

उहाँ २०३७  वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक हुनुभएको थियो । गोरखापत्रको साहित्यिक सहप्रकाशन मधुपर्क मासिकको २०३६ सालमा कामु सम्पादक हुनुभएको थियो भने २०३८ सालमा सम्पादकको जिम्मेवारी वहन गर्नुभएको थियो । 

गोरखापत्रकै सहप्रकाशन मुना बालपत्रिकाको सुरुवातदेखि पोखरेल प्रधान सम्पादक हुनुभएको थियो । उहाँ मुनाको प्रधान सम्पादक २०४७ साल पुस अङ्कदेखि २०४८ साल मङ्सिर अङ्कसम्म हुनुभयो ।

पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष हुनुभयाे । राष्ट्रिय समाचार समितिका सम्पादकसमेत हुनुभएका पोखरेल राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि हुनुभएको थियो । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत हुनुभएका उहाँले पत्रकारिता क्षेत्रमा ४० वर्ष बिताउनु भएको थियो ।