गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ७ गते । छुदेन काविमोको पुस्तक ‘उरमाल’ लाई मदन पुरस्कार–२०८१ प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार–२०८१ र लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्याउनुभएका प्रेमदेव गिरीलाई जगदम्बाश्री प्रदान गर्ने निर्णय गरेको हो । लेखक काविमो दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनबारे लेखिएको पहिलो उपन्यास ‘फातसुङ’ बाटै चर्चामा आउनुभएको थियो । उरमाल उहाँको दोस्रो उपन्यास हो, जुन चिया टिप्ने श्रमिकको पीडालाई नजिकबाट नियालेर लेखिएको छ ।
यस वर्षको मदन पुरस्कारका लागि सात वटा पुस्तक छनोटमा परेका थिए । छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरूपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह नेपालको भोट–चीन सम्बन्ध र भारत’ र तीर्थ श्रेष्ठको ‘हिउँको गीत’ छनोटमा परेका थिए ।