• २४ वैशाख २०८२, बुधबार

हनुमाननाच प्रदर्शन

blog

ठाकुरप्रसाद आचार्य  

बागलुङ, पुस १३ गते । नेवार समुदायमा लोकप्रिय हनुमाननाचको संरक्षणमा पछिल्लो समय बागलुङका युवाले सक्रियता देखाएका छन् । हनुमाननाच नेवार समुदायको पुरानो मौलिक कला संस्कृति हो । युवा कला संस्कृतिको संरक्षणमा जुटेपछि आजकल मेला, पर्व र महोत्सवमा  हनुमाननाच प्रदर्शन गर्न थालिएको छ । 

बिहीबारदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवमा युवाले हनुमाननाच देखाउँदै बजार परिक्रमा गरे । महोत्सवको उद्घाटन गर्न आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले रुचिका साथ हनुमाननाचको अवलोकन गर्नुभयो । बजारमा निकालिएको -यालीमा धेरैको आँखा पनि हनुमाननाचतिरै थियो । युवाको समूह हनुमानको भेषमा नाच्दा बजारमा रौनक छाएको थियो । झ्याली र मृदङ्गाको तालमा हनुमानको भेष पहिरेर नाच्ने गरिन्छ । नौ जोडी कलाकारले जामा लगाएर खुट्टामा छमछम बज्ने चाप, सिमलीको पुछार, हातमा लौरो समातेर एकआपसमा सङ्गीतको तालमा लौरो जुधाउँदै नाच्दा दर्शक आकर्षित भएका थिए। 

पूजा विधि गरेर मात्र हनुमाननाच देखाउने प्रचलन भए पनि बिहीबार महोत्सवका पाहुनालाई देखाउन हनुमाननाच प्रदर्शन गरिएको हनुमाननाच संरक्षण परिषद् बागलुङका उपाध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । हनुमाननाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थ श्रेष्ठले हाम्रो कला र संस्कृति संरक्षण गर्ने दायित्व युवापुस्ताको भएकाले हनुमाननाच संरक्षणमा युवालाई अघि सारेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “हनुमाननाच हाम्रो सांस्कृतिक पहिचान हो । यसलाई जोगाइराख्ने र पछिल्लो पुस्तामा हस्तान्तरण गर्न आवश्यक ठानेर युवालाई तालिम र प्रशिक्षण सञ्चालन गर्ने गरेका छौँ । मौलिक संस्कृतिका रूपमा रहेको हनुमाननाच संरक्षणमा युवाले चासो दिन थालेपछि विशेष कार्यक्रममा प्रदर्शन गर्न सक्ने भएको उहाँले जानकारी दिनुभयो । 

हनुमाननाच संरक्षण परिषद्का उपाध्यक्ष राजभण्डारीले बेलाबखतमा बजारमा आयोजना हुने मेला महोत्सवले नाचको महिमा, महत्व र कला नयाँ पुस्तामा हस्तान्तरणका लागि टेवा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “हनुमाननाचका धेरै ताल छन्, पूजा विधि गरेर मात्र नाच देखाउनु पर्दछ । पूजा विधि नगरी सबै ताल देखाउन नमिल्ने भएकाले महोत्सवका अवसरमा हामीले नमस्ते ताल, छ ताल र बाह्र ताल मात्र देखाएका हौँ ।” 

हनुमाननाचमा कलाकार, वाद्यवादक, पुजारी, मुख्य (प्रधान केजी) व्यवस्थापक आदी गरी झन्डै ८० देखि १०० जनाको समूहको आवश्यक पर्ने उहाँले बताउनुभयो । हनुमाननाच सिक्न र नाच्न युवा पुस्ताले रुचि देखाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नाचको संरक्षण र युवा पुस्तामा सिप हस्तान्तरणका लागि युवालाई तालिम र प्रशिक्षण दिने गरेको छु ।”