अमृतप्रसाद पौडेल
म्याग्दी, पुस १३ गते । मुस्ताङको तल्लो भेगका घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेको छ । अत्यधिक चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ । मुस्ताङमा तापक्रम मापन केन्द्रसमेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार पुस १२ गते पछिल्लो २४ घण्टाको तापमान हेर्दा मार्फा क्षेत्रमै माइनस ४.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
उहाँले भन्नुभयो, “शीतोष्ण हावापानीमा हुने फलफूलका लागि एक हजार घण्टाभन्दा धेरै चिलिङ आवर चाहिने भएकाले चिसो हुँदा फलफूल तथा तरकारी बाली राम्रो हुने भएकाले हामी भने खुसी नै छौँ तर जनजीवन भने चिसोले कष्टकर भएको छ ।
यही प्रकारको तापक्रम रहेको खण्डमा यस वर्ष फलफूल तथा तरकारी उत्पादन राम्रो हुने छ तर बालबालिका तथा ज्येष्ठ नागरिकलाई भने निकै कठिन हुन्छ ।” मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार उपल्लो मुस्ताङ क्षेत्रमा चिसो अत्यधिक बढेको छ । चिसो बढेर पानी जम्ने र घाम नलाग्दासम्म बाहिर निस्कनै नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।
स्थानीय प्रायः जाडो छल्न आफ्नो ठाउँभन्दा बाहिर गइसकेको भए पनि माथिल्लो मुस्ताङ क्षेत्रमा बैङ्कका कर्मचारी, गाउँपालिकाका कर्मचारी र सुरक्षाकर्मी मात्रै रहेको प्रजिअ पन्तको भनाइ छ । उहाँले भन्नुभयो, “चिसो छ हिउँ परेको छैन तर पानी जम्नेदेखि चिसो अत्यधिक बढ्दा हिँडडुल गर्न सक्ने अवस्थासम्म पनि छैन ।”
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजन थापाका अनुसार यातायात सेवा नियमित रहेको र सीमा नाका खुला रहे पनि समग्र उपल्लो मुस्ताङ क्षेत्रमा स्थानीय न्यून छन् ।
सुरक्षाकर्मी र कर्मचारीबाहेकका अरू खासै नरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “सुरक्षाकर्मी कुनै पनि घटना तथा दुर्घटना भएमा उद्धार तथा राहतका लागि चनाखो छन् अन्य समस्या छैन । माथिल्लो मुस्ताङ सुनसान प्रायः भएको छ तर सुरक्षाका लागि कुनै पनि कसर बाँकी नहुने गरी हामी तैनाथ छौँ ।”