• १३ असोज २०८१, आइतबार

‘मेघमानव’ सार्वजनिक

blog

काठमाडौँ, पुस १३ गते । सर्जक अर्चितबाबु मर्सिफुलको दोस्रो कृति उपन्यास ‘मेघमानव’ सार्वजनिक भएको छ । नेपाली लेखक सङ्घद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार डा. ध्रुवचन्द्र  गौतम, सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठलगायतका स्रष्टाले सो उपन्यासको लोकार्पण गर्नुभएको हो ।  

साहित्यकार ध्रुवचन्द्र  गौतमले उपन्यास ‘मेघमानव’ मा समेटिएका विषयवस्तुको अध्ययनमा सर्जक अर्चितबाबु मर्सिफुलको कल्पनाशील क्षमताको राम्रो परिचय दिएको बताउँदै आगामी दिनमा पनि यस्तो कल्पना गर्ने सिपलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभयो । उहाँले साहित्य सिर्जनाका विविध विधामा पोख्त हुन आवश्यक क्षमतामध्ये उपन्यास विधाका लागि सर्जकको कल्पना गर्न सक्ने खुबीले कृतिको स्तर, भाव, सन्देशलाई निक्कै माथि  पु-याउने बताउनुभयो ।

आख्यान विधामै बढी कलम चलाउनु हुने गौतमले आफूले जीवनभर लेख्ने काम नै गरे पनि १२ वर्षको उमेरमै उपन्यास विधाको पुस्तक प्रकाशन गर्ने लेखक अर्चितबाबु पहिलो भएको उहाँले अनुभव सुनाउनुभयो । यसअघि लेखक मर्सिफुलले १२ वर्षको उमेरमा ‘पञ्चमणि’ उपन्यास बजारमा ल्याउनुभएको थियो । डा. शैलेन्दुप्रकाश नेपालले सानै उमेरमा लेखन विधामा आकर्षित मर्सिफुलले अध्ययनसँगै जुनियर राइटर एसोसिएसनको स्थापना गरी कक्षा ७ देखि नै साहित्यको सेवा थाल्ने असाधारण प्रतिभा भएको बताउनुभयो ।

उहाँले यसअघि बजारमा आएको मर्सिफुलका कृति पाँचमणिमा पनि पाँच थरी मणिको चमत्कार, असर प्रभावबारे कल्पनामा आधारित मणिको कथा समेटिएको कृतिकै दोस्रो भागका रूपमा प्रकाशित सो उपन्यासले पाठकको मन जित्ने बताउनुभयो । 

त्यसै गरी समालोचक अनुपमा रेग्मीले विभिन्न ग्याजेटमा भुलेर बस्ने, कलेजको गृहकार्य गरेर समय बिताउने युवा उमेरका सर्जक मर्सिफुलले अध्ययन र सिर्जनालाई सँगसँगै डो¥याउँदै उपन्यास जस्तो कृति सार्वजनिक गर्नु निक्कै प्रशंसीय काम हो भन्नुभयो । 

उहाँले मर्सिफुलका कृतिमा टाइम मेसिनलगायतको कल्पना गर्दै आजका युगका पाठकलाई आकर्षित गर्ने विषय समेटिएको बताउनुभयो । नेपाली लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठले लेखक मर्सिफुलको यात्रा साहित्य जगत्का लागि प्रारम्भको बिन्दुमा रहे पनि उहाँको कृति नेपाली साहित्यफाँटका लागि निक्कै प्रशंसनीय स्थान ओगट्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले १२ वर्षकै उमेरदेखि साहित्य यात्रा थालेका लेखकको हौसलाका लागि सङ्घले कृति प्रकाशनमा सहयोग गरी हौसला प्रदान गर्ने जमर्को गरेको बताउनुभयो । युनिग्लोब कलेजका निर्देशक मनसुन केसीले अर्चितबाबु मर्सिफुल जस्ता प्रतिभा भएका विद्यार्थीको प्रतिभाले फक्रन पाउने मञ्च प्रदान गर्न आफ्नो कलेज सधैँ सजग र प्रयासरत रहेको बताउनुभयो ।  

लेखक अर्चितबाबु मर्सिफुलले आफूले ‘मेघमानव’ का लागि करिब चार पटकसम्म पाण्डुलिपि तयार गरेको स्मरण गर्दै कृतिलाई पाठकसमक्ष ल्याउन सकेको अनुभव सुनाउनुभयो ।