• १३ असोज २०८१, आइतबार

ललितकलामा ‘काठमाडौँ ट्रिएनाले’

blog

काठमाडौँ, पुस १२ गते ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनबिच ‘काठमाडौँ ट्रिएनाले’ सञ्चालनसम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । प्रतिष्ठानका तर्फबाट सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनका तर्फबाट निर्देशक सङ्गीता थापाले हस्ताक्षर गर्नुभयो । 

नेपाली कलालाई विश्वसामु चिनाउने, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबिच कलासम्बन्धी विचारको आदानप्रदान गर्ने/गराउने र कलामार्फत पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ कला महोत्सवका रूपमा आयोजना हुँदै आएको ‘काठमाडौँ ट्रिएनाले’ लाई अझ फरक र पृथक् रूपमा अघि बढाउनका लागि प्रतिष्ठान र फाउन्डेसनले सहकार्य गरेका हुन् । 

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भन्नुभयो, “प्रतिष्ठानसँग सहकार्य गर्न उहाँहरूले हार्दिक सद्भाव लिएर उत्सुकता जनाउनुभयो । हामीलाई पनि यो आवश्यकता थियो ।” उहाँले नेपाली कलाका क्षेत्रमा ऐतिहासिक रूपमा काम गर्न पनि आफूहरूले यस कार्यक्रममा सहकार्य गरेको बताउनुभयो । उहाँले थप्नुभयो, “राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो पहिचान, पहुँच र पहलका लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।”

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाली कलालाई विश्वस्तरमा पुर्‍याउने लक्ष्य राखेर प्रतिष्ठानले ‘काठमाडौँ ट्रिएनाले’ गर्न लागिएको बताउनुभयो । उहाँले नेपाली कलालाई जनस्तरसम्म पुर्‍याउने गरी काम अगाडि बढाउने जानकारी दिनुभयो ।

सिद्धार्थ आर्ट फाउन्डेसनका निर्देशक सङ्गीता थापाले भन्नुभयो, “प्रतिष्ठान आगामी ‘काठमाडौँ ट्रिएनाले’ को प्रतिष्ठानसँग मिलेर काम गर्न पाउँदा एकदमै खुसी छु । हामी ट्रिएनालेलाई सफलतापूर्वक सम्पन्न गर्ने काम गर्छौं ।” उहाँले नेपाली कला इतिहासको आगामी बाटो तय गर्ने युवापुस्ताले नै ‘काठमाडौँ ट्रिएनाले’ लाई अघि बढाउने छ भन्ने आफ्नो विश्वास रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सहप्राध्यापक सुजन चित्रकारले ‘काठमाडौँ ट्रिएनाले’ विगतदेखि वर्तमानसम्मका विविध पक्षको चर्चा गर्दै प्रतिष्ठानसँग सहकार्य गरेर आगामी दिनमा कार्यक्रम गर्दा त्यसले नेपाली कलाको क्षेत्रमा पार्ने सकारात्मक प्रभाव र चुनौतीलगायतका विषयमा चर्चा गर्नुभयो । उहाँले मोफसलमा रहेका कलालाई पनि अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने र नेपालको माटो सुहाउँदो कलाको मोडललाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सबैलाई समेटेर सामूहिक काम गर्ने प्रयासको थालनी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो गौरवपूर्ण ट्रिएनालेलाई अझ गौरवपूर्ण बनाउनका लागि तथा कला उत्सवलाई अझ महìवपूर्ण बनाउनका लागि र सबैको स्वीकार्यता, सौहार्दता बोध गराउने उद्देश्यले यस कार्यक्रमलाई अघि बढाएका हाैँ ।”