• १२ असार २०८१, बुधबार

चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु

blog

चितवन, पुस १० गते ।  चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम छ ।

पर्यटन विकासका लागि पुस १० गते देखि १४ गतेसम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो ।चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरु गरिएको क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो ।  महोत्सव सुरु हुनु पूर्व सौराहामा बिहान शोभायात्र निकालिनेछ । चितवन हात्ती महोत्सवमा सञ्चालन गरिँदै आएको गतिविधिलाई रूपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव आयोजना गरेका हुन् । 

यस वर्षको पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता रहेको अध्यक्ष गिरीले बताउनभयो ।  महोत्सवलाई आकर्षक बनाउन यहाँका व्यवसायीहरूले चित्रसारी पुलदेखि नै सौराहालाई सजाएका छन् । महोत्सव स्थललाई ध्वजापताकाले सजाइएको छ । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन ।

२०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गिरीले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएको क्षेत्रीय होटेल सङ्घले जानकारी दिएको छ ।  तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ । इतिहासमै पहिलो पटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरूले पर्यटन गतिविधि सुरु गरेका हुन् । साबिकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यस पटकको महोत्सवमा हात्तीदौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गादौड प्रतियोगितालाई यथावत् राखिएको छ । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय भेष भूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिनेछ । 

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रवर्द्धक तथा रत्ननगर नगरपालिका संरक्षक छन् ।


Author
शालिग्राम नेपाल

उहाँ गोरखापत्रका लागि चितवनबाट रिपोर्टिङ गर्नुहुन्छ ।