विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश नेपाललाई विश्वले चिन्छ । शान्ति क्षेत्रका रूपमा संयुक्त राष्ट्रसङ्घमा पनि केही वर्षअघि नेपालले मान्यता पाएको थियो । यही पृष्ठभूमिका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको चारदिने नेपाल भ्रमण र भ्रमणको बेला विश्व शान्तिको सन्देश प्रवाह गर्नु अलौकिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणको बेला अशान्तिबाट आक्रान्त विश्वमा शान्तिको सन्देश दिनु दूरगामी महत्वको विषय हो । सरकारको समृद्धि, सुशासन र सामाजिक न्यायको क्षेत्रमा यस भ्रमणले ठुलो अर्थ राख्छ ।
शान्तिको अनुभूतिजन्य मूलभूत पक्ष भनेकै भौतिक र मानसिक पक्ष हुन् । भौतिक शान्तिले शारीरिक शान्तिदेखि, हाम्रो शरीरले निरन्तर अन्तरसम्बन्ध र अन्तर्क्रिया गर्ने जीवन र जगत्का सम्पूर्ण व्यावहारिक पक्ष, पारिवारिक, सामुदायिक, आर्थिक, राजनीतिक, सामाजिक, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियदेखि विश्व ब्रह्माण्डीय शान्तिसँग जोडिएको अर्थ राख्छ । व्यावहारिक (भौतिक) शान्तिको वास्तविक अनुभूतिपछि मात्र व्यक्तिगत शान्तिदेखि परिवार, समाज, समुदाय, राष्ट्र हुँदै विश्व मानव–समुदायले शान्तिको अनुभूति गर्न सक्ने परिस्थिति र परिवेशको वातावरण निर्माण हुन सक्छ ।
नेपाल विगत २५ सय वर्षदेखि विश्व शान्तिका लागि अनवरत् प्रयासमा छ । नेपालले महामानव गौतम बुद्ध जस्ता विश्व शान्तिका प्रणेता जन्माएर नेपाललाई विश्वसामु चिनाएको छ । त्यसैले त नेपालले विश्व शान्तिको सन्देश फैलाउने ऐतिहासिक एवं विशिष्ट जिम्मेवारी निर्वाह गर्दै आइरहेको छ । बुद्धको धर्म र दर्शन आज एसिया महादेश छिचोलेर पाँचै वटा महादेशमा मानवीय मूल्य र मान्यताको शान्ति सन्देश मात्र भएका छैनन्, ‘जीवन जिउने कला’ र ‘जीवनमार्ग’ समेत बन्न पुगेको छ । विश्वका उत्कृष्ट विश्वविद्यालयमा नियमित अध्ययन र अध्यापनको विषय बनिसकेको छ । त्यसैले होला, महाकवि एडविन आर्नोल्दले ‘एसियाको ज्योति’ को नामले बुद्धलाई गौरवान्वित हुने गरी चिनाएको छ ।
यस मानेमा नेपाल विश्व शान्तिको उद्गमस्थल हो । यो नेपालका लागि विशिष्ट पहिचान र गर्वको विषय मात्र नभई प्रत्येक नेपालीलाई अन्तर्राष्ट्रियस्तरमा शिर ठाडो पार्ने अस्त्र पनि बनेको छ ।
करिब २५ सय वर्षअघि बुद्धले चिनाएको ‘शान्तिभूमि’ पृथ्वीनारायण शाहकालमा ‘दुई विशाल ढुङ्गाबिचको तरुल’ का रूपमा चिनिएको थियो । राजा वीरेन्द्रको पालामा ‘शान्ति क्षेत्र’ का रूपमा संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव पारित गरिएको थियो । यो नेपालका लागि राजा वीरेन्द्रको विशिष्ट योगदान मान्न सकिन्छ । पृथ्वीनारायण शाहकालदेखि सन् १८१५ को सुगौली सन्धिसम्म नेपाल निरन्तर युद्धबाट गुज्रिनु प-यो । १०४ वर्ष एकतन्त्रीय राणाकालको अँध्यारो युगको सामना गर्नुप-यो । २००७ सालमा प्रजातन्त्र आए पनि जनतामा सामाजिक, आर्थिक, राजनीतिक रूपमा समानताको पूर्ण हकअधिकार, वाक् स्वतन्त्रता, जातीय विभेद र छुवाछुत अन्त्य, धार्मिक स्वतन्त्रता, राजनीतिक रूपमा महिला, जनजाति, मधेशी, दलित, सीमान्तकृत आदिको समानुपातिक समावेशी सहभागिता हुन पाएको थिएन ।
विसं २००७ साल हुँदै २०१७ साल, २०३६ साल, २०४६ साल र २०५२ साल फागुनमा सुरु भएको सशस्त्र सङ्घर्ष हुँदै २०६२/६३ सालमा भएका विभिन्न राजनीतिक आन्दोलनका कारण २०६५ मा नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक देशका रूपमा स्थापित भयो । २०७२ सालमा सङ्घीय गणतान्त्रिक नेपालको पहिलो ऐतिहासिक संविधानको घोषणा भयो । गणतान्त्रिक संविधानको घोषणापछि नेपाली जनताले दीर्घप्रतीक्षित सुख, शान्ति, समृद्धि र पूर्ण विकासको वातावरण अनुभूति गर्न पाएका छन् ।
मेरो जीवन शैली एक बौद्ध भिक्षु भए पनि देशको सचेत नागरिकको हैसियतले देश सङ्कटग्रस्त परिस्थितिबाट गुज्रिँदा देशमा शान्ति कायम गर्न सक्दो योगदान गर्नु पर्छ भन्ने नागरिक कर्तव्यबोधले २०६२/६३ मा शान्तिका लागि नागरिक ऐक्यबद्धतामार्फत देशमा शान्ति बहालीका लागि सक्दो भूमिका निर्वाह गरेको स्मरण गरेको छु । २०६३ देखि २०६४ को अन्तरिम संसद्मा र २०६४ को पहिलो संविधान सभामा जनताको राय सुझाव लिन घरदैलो कार्यक्रमदेखि जनताले चाहेको, मन परेको, अपनत्व अनुभव गर्न सक्ने संविधान निर्माण कार्यमा पङ्क्तिकारले पनि विवेक–बुद्धिले भ्याएसम्म योगदान गर्न पायो ।
संविधान निर्माण र संसदीय सम्बोधनका दौरान नेपालका सबै धार्मिक स्थल लागुपदार्थ, मादक पदार्थ जस्ता सबै खालका विकृतिजन्य व्यापारमुक्त शान्तिक्षेत्र घोषणा हुनुपर्ने, नेपालको शैक्षिक पाठ्यक्रममा नैतिक शिक्षा अनिवार्य गर्नुपर्ने, अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मभूमिसम्बन्धी अज्ञानता र भ्रम चिर्न विदेशमा नेपाल सरकारको प्रत्यक्ष प्रतिनिधि निकाय दूतावासहरूले बुद्ध नेपालमा जन्मेकोबारे विशेष अभियान चलाउनुपर्ने, लुम्बिनी गुरुयोजना यथाशीघ्र तर्जुमा गर्नुपर्ने, लुम्बिनी विश्वविद्यालयको स्थापना, लुम्बिनी विमानस्थलको निर्माण तथा विकास गर्नुपर्ने आदि सदैव स्मरण भइरहने योगदान हुन् ।
देशमा विकास र समृद्धिका लागि स्थायी शान्ति अपरिहार्य हुन्छ । बिनास्थायी शान्ति, कुनै पनि देशमा विकास र समृद्धि नहुने कुरा इतिहासकालदेखि देख्दै र भोग्दै आएको तथ्यगत सत्य हो । नेपालको सन्दर्भमा इतिहासको विभिन्न कालखण्डमा भएको सामाजिक–आर्थिक–राजनीतिक क्रान्ति र परिवर्तनको मूल लक्ष्य स्थायी शान्ति र समृद्धिका लागि नै थियो । देशमा स्थायी शान्ति, समृद्धि र विकासको प्रचुर सम्भावना देशको बागडोर हाँक्ने राजनीतिक नेतृत्वको सक्षमता, दूरदर्शी दृष्टिकोण र कार्यगत योजनामा भर पर्छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले नेपाल सरकारको बागडोर सम्हालेको एक वर्ष पुगेको सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा शान्ति र विकासका लागि विभिन्न क्षेत्रमा भए/गरेका उल्लेखनीय योगदान/सम्झौता भएका छन् ।
प्रधानमन्त्री प्रचण्डको एक वर्षे कार्यकालमा देशमा शान्ति, समृद्धि र अन्तर्राष्ट्रिय रूपमा विश्व शान्तिका लागि निर्वाह भएका उल्लेखनीय एवं महत्वपूर्ण योगदान रहेका छन् । राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको नेपाल भ्रमणको अवसरमा नेपालको शान्ति प्रक्रlया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल भयो । राष्ट्रसङ्घको तर्फबाट सहयोग, सद्भाव र समर्थन रहने अभिव्यक्ति सङ्घीय संसद्को संयुक्त सदनमा सम्बोधनका क्रममा उहाँले बताउनुभएको थियो । पूर्वमहासचिव बान कि मुनपछि नेपाल भ्रमणमा आउने र विश्व शान्तिको प्रणेता भगवान् बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरी विश्वमा ‘नेपाल बुद्धको जन्मभूमि हो’ भन्ने सन्देश उहाँले दिनुभएको छ । सन् २००८ मा बुद्ध जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनीको अशोक स्तम्भबाट नेपालमा दिगो शान्ति र समृद्धिको साथै विश्व शान्तिका लागि आवश्यक पहल गर्ने ऐतिहासिक घोषणा गर्नुभएको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र स्थायित्व कायम गर्न बहुपक्षीय कूटनीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विश्व समुदायले भोगिरहेका चुनौतीको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रसङ्घको समयानुकूल सुधार तथा सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभएको प्रसङ्ग उहाँको कार्यकालको उल्लेखनीय पाटो हो ।
संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भएको कोप–२८ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्रीले २०८० मङ्सिर १३ देखि १७ गतेसम्म सहभागी भई सम्बोधन गर्नुभएको थियो साथै नेपालले आयोजना गरेको उच्चस्तरीय बैठकमा उहाँले जलवायु परिवर्तनबाट नेपाल जस्ता पर्वतीय मुलुकले भोग्नु परेका समस्यालाई अन्तर्राष्ट्रिय समुदायसामु जलवायु परिवर्तनका असर कम गर्न नेपाल सरकारले चालेका कदम र कोप–२८ मा नेपालले उठाउने एजेन्डा र प्राथमिकताका क्षेत्रका सम्बन्धमा जोडदार प्रस्तुति दिनुभएको थियो । सोही कार्यक्रममा जलवायु परिवर्तनबाट नेपालको हिमाली क्षेत्रमा परेको दुष्प्रभाव र त्यसबाट नेपाललगायत अन्य देशको समग्र विकास तथा मानव सभ्यतामाथि गम्भीर चुनौती आइपरेकाले नेपालका हिमालमा औद्योगीकरणबाट परिरहेको नकारात्मक वातावरणीय प्रभावको क्षतिपूर्ति माग गर्न सक्नु नेपालको कूटनीतिक सफलता हो ।
७ अक्टोबर २०२३ मा दक्षिण इजरायलको किवुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपालीको शव नेपाल ल्याइएको तथा नेपाल फर्कन इच्छुक इजरायलस्थित नेपालीको उद्धारका गरी नेपाल फर्काइएको साथै हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल स्वदेश फिर्ताका लागि नेपाल सरकारबाट पहल भइरहेको छ । सोका लागि इजरायल र कतारलगायत अन्य देशका माध्यमबाट भरमग्दुर कूटनीतिक पहल भइरहेको छ । सुडानमा विकसित राजनीतिक परिस्थितिका कारण अलपत्र परेका ३१ नेपाली नागरिकलाई सकुशल उद्धार गरिएको कार्यबाट नागरिकप्रति सरकारले जिम्मेवारीपूर्वक कर्तव्य गरिरहेको देखिन्छ । यस्तै युक्रेन र रुसमा भर्ती भएकाहरूलाई नेपालमा फिर्ता पठाउने र युक्रेनमा बन्दी बनाइएकाहरूलाई नेपालमा ल्याउन गरिएको पहलले विश्व शान्तिको क्षेत्रमा अर्काे आयाम थपेको छ । रुस वा युक्रेन, इजरायल वा हमास (प्यालेस्टिन) को पक्षमा समर्थन नगरेर अहिलेको सरकारले सबै देशसँग समदुरीको सिद्धान्तलाई प्राथमिकता दिएर असंलग्न परराष्ट्र नीतिलाई अगाडि सारेको छ ।
नेपालले नेपाली सेना पठाएर पनि युद्धग्रस्त क्षेत्रमा शान्ति बहाली गरिरहेको छ । शान्ति सेनाको भूमिकाकै कारण विश्वमा ‘सानो मुलुकको ठुलो प्रभाव’ भनेर नेपालको प्रशंसा हुने गरेको छ । नेपाली सेनाको सिद्धान्ततः विश्व शान्तिका लागि व्यावहारिक रूपमा पनि सन्देश पठाएर र कार्यक्रम गरी विश्व शान्तिका लागि पहल गर्नु राम्रो हो । यसरी दूरदर्शी, सक्षम, गतिशील, कुशल राजनीतिक नेतृत्वको अभिभारा नेपाल र नेपाली जनताले आगामी दिनमा पनि पाउने हो भने नेपालमा स्थायी शान्ति र विकासको भविष्य सुनिश्चित देखिन्छ ।