• १३ असोज २०८१, आइतबार

संविधानको संशोधन कांग्रेसले गर्ने छ : उपप्रधानमन्त्री खड्का

blog

काँग्रेस बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवम् कांग्रेसका उपसभापति खड्का । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस ७ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराउनु भएको छ । 

कांग्रेस बागमती प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै पार्टी उपसभापति खड्काले यस्तो विचार राख्नु भएको हो । 

गणतन्त्रलाई हल्लाउने प्रयास भइरहेको बताउँदै उहाँले संविधानको रक्षा कांग्रेसले गर्ने दृढता व्यक्त गर्नुभयो । संविधानको आवश्यकताअनुसार संशोधन कांग्रेसले गर्ने तर त्यो परिवर्तनको पक्षमा रहने पनि उहाँको भनाइ छ । ‘जनता मालिक भएको संविधानप्रति हामी इमानदार हुनैपर्छ’ उहाँले भन्नुभयो । 

उहाँले नेतृत्वमा रहेका सबैले राम्रो काम गरे पार्टी आफैँ सुध्रिने बताउँदै  पार्टीलाई सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको धारणा राख्नु भयो । 

कार्यक्रममा उपसभापति खड्काले पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वाग्मती प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाएको छ । यहाँ आएका सुझावबाट हामीलाई प्रेरणा मिलेको छ, पार्टी नेतृत्वमा सुधारिएको व्यक्ति आएमा र हामीले आफैँमा सुधार ल्याएमा पार्टीमा पनि सुधार हुने हो । हाम्रो पार्टी भगवान्,  बिपी र  गणेशमान आएर सुधार गर्नुहुन्न, हामीले नै गर्ने हो ।’’

यो पनि पढ्नुहोस

पार्टी सुधारका लागि जिम्मेवार पदमा रहेकाहरूले काम गर्नुपर्ने उपसभापति खड्काको भनाइ छ । 

‘‘जिम्मेवारीमा भएकाहरूले बोलेर मात्रै हुँदैन । सबैलाई जोडेर संविधान बनाउन सक्ने पार्टीले आफ्नै पार्टी बनाउन नसक्ने भन्ने हुँदैन, पार्टीले विगतमा गरेका कमजोरी दोहोर्‍याउनु हुँदैन, उपसभापति खड्काले भन्नुभयो । 

सरकारले इमानदारितापूर्वक काम गरेको पनि उपप्रधानमन्त्री खड्काले प्रस्ट पार्नुभयो । 


उहाँले भन्नुभयो, ‘‘सरकारले सबै ठीक गर्‍यो वा सरकारले सबै बेठीक गर्‍यो भन्ने दुवै भनाइ गलत छन् । सरकारले इमानदारितापूर्वक काम गरेको छ, सत्य यही हो तर गरेको काम गरेको भनिदिनुपर्‍यो । सकारात्मक सोचले सदाचारका लागि गरिरहेका प्रयासलाई पार्टीले बिर्सिनु भएन ।’’

पार्टी सभापतिसँग गुनासो केका लागि हो भन्ने पनि उपसभापति खड्काले प्रश्न गर्नुभयो । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व आगामी महाधिवेशनबाट छोड्ने घोषणा गरिसक्नुभएको अवस्थामा राम्रो काम गरेर कमजोरी सुधारी अघि बढ्नुपर्ने खड्काले सुझाव दिनुभयो । पार्टीका कमजोरी भए पनि देशमा जति प्रगति भएको छ, त्यो कांग्रेसको नेतृत्वमा भएको उहाँको दाबी छ ।