सजीव होस् वा सृष्टिको उद्भव, अस्तित्वको बहसमा मातृत्व छुट्दैन । पूर्वीय दर्शन हुन् वा पश्चिमी सभ्यता, आदिवासीका मिथक हुन् कि आधुनिक दर्शनशास्त्र, आमाको भूमिकाबिना पूरा हुन सक्दैनन् । यही सत्य हृदयङ्गम गरी विख्यात साहित्यकार रुडयाड किप्लिङले लेख्नुभएको छ, “भगवान् सबैतिर पुग्न सक्दैनन्, त्यसैले भगवान्ले आमाको सृष्टि गरे ।” अधिकतर महिला आफैँ सन्तान जन्माएर हुर्काउँछन्, भविष्य सन्तानकै लागि समर्पित गर्छन् । केही बिरलै आमा छन्, जो आफ्ना सुख, सुविधा र जीवनको पर्वाह गर्दैनन्, असहाय बालबालिकालाई मातृत्व दिन्छन्, भविष्य निर्माण गरिदिन्छन् । यस्तै बिरलै र नमुना आमा हुनुहुन्छः कमला पराजुली ।
३८ वर्षीया पराजुलीलाई अझै बिहे गर भन्ने प्रस्ताव र सुझाव आउँछन् । अचेल उहाँ जवाफ दिनुहुन्छ, “मेरा ३० जना छोराछोरी छन्, अब बिहे केका लागि ?” पराजुली नेतृत्वको ‘अमोर सेवा नेपाल’ले स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ मा बालगृह चलाएको छ । बाह्र वर्षअघि स्थापित बालगृहको अवस्था र मान्छेको हेर्ने दृष्टिकोणमा यो अवधिमा ठुलो परिवर्तन आएको छ । भनिन्छ, बाह्र वर्षमा खोलो फर्किन्छ । पराजुलीले नजिकैको आँधीखोला फर्किएको त देख्नुभएको छैन, शायद त्यसको भावार्थ जस्तै परिवर्तन भने भोग्नुभएको छ ।
फेदीखोला–१ को घरबाट उहाँ पोखराको पृथ्वीनारायण क्याम्पस दैनिक गाडीमा ओहोरदोहोर गर्नुहुन्थ्यो । बाटामा कतै टिनका झुपडी थिए, कतै बसबाट गगनचुम्बी महल देखिन्थे । किशोरी हुँदा नै पराजुलीको ध्यान भने न कुनै लक्का जवानले खिच्न सके, न कुनै भौतिक सुख, सुविधाले तान्यो । बाटोमा सडकछेउ बेवारिसे बालबालिका देखिन्थे । बाआमा छाड्न नसकेर उहाँ घरबाटै जाने आउने गर्नुहुन्थ्यो । उहाँको मनमा आयो, यति ठुली हुँदा त म बाआमा छाड्न सक्दिनँ, यी सानासाना भाइबहिनी कसरी बाँच्दा हुन् ?
दैनिक देखिने यस्ता विडम्बनापूर्ण दृश्यले उहाँलाई पिरोलिरह्यो । महँगा गाडीमा मालिकसँगै कुकुर, बिराला हुइकिन्थे, सडक पेटीका बालबालिका भने त्यही गाडीको धुँवा र धुलोमा छोपिन्थे । एक दुई जना त म हुर्काउन सक्छु भन्ने लाग्थ्यो उहाँलाई । त्यसै गरी अरूले पनि पालिदिए कोही सडकमा हुनु पर्दैनथ्यो भन्ने तर्कना आउथ्यो । गाउँमा कसैका बच्चा जन्मिए काखमा लिइहाल्नुपर्ने, त्यसरी लिन नपाए रोइहाल्ने स्वभाव थियो उहाँको ।
परिवारको साहिली छोरी पराजुलीका एक भाइ हुनुहुन्थ्यो । कोभिड महामारी संसारभर आयो, एउटा बज्रपात उहाँमाथि पनि प-यो । कोभिडले भाइलाई लिएर गयो । अरू चार दिदीबहिनीको बिहे भइसकेको छ, सबैको गृहस्थी जीवन राम्रै चलेको छ । पराजुलीको काँधमा भने ३० छोराछोरीसहित बाआमा पाल्ने जिम्मेवारी आएको छ । अनेक दुःख झेल्दै अगाडि बढ्ने उहाँमाथि करिब एक वर्षअघि अर्को दुःख थपियो । असाध्य रोग क्यान्सरले आक्रमण गरेछ । भलै, आधुनिक उपचार पद्धतिका कारण अहिले उहाँ निको भइसक्नुभएको छ ।
असहाय र सडकमा रहेका बालबालिकालाई मातृत्व दिने उहाँको उत्कट इच्छाले आकार लिएकै थिएन । उहाँ २०६७ तिर दिदीभिनाजुलाई भेट्न काठमाडौँ जानुपर्ने भयो । त्यहाँ पनि उही कुरा आयो बिहेको । पराजुलीले लक्ष्य सुनाएपछि केहीबेर वातावरण शान्त रह्यो । उहाँका भिनाजु रामप्रसादले भन्नुभयो, “बुढानीलकण्ठमा मेरी एक जना साथी छिन् । उनले तिमीले भनेको जस्तै काम गरेकी छन् । त्यहाँ गएर बुझ ।”
बुढानीलकण्ठमा लक्ष्मी तामाङले किका फाउन्डेसनमार्फत बालगृह चलाउनुभएको थियो । त्यो बालगृह र लक्ष्मी तामाङ पराजुलीका लागि पाठशाला बन्यो । लक्ष्मीको सुझाव थियो, आफैँ ल्याएर पाल्छु भन्नेतिर नलाग्नू, संस्थागत प्रयास गर्नू । कानुनी रूपमा बलियो भइन्छ, सञ्चालन गर्न पनि सजिलो हुन्छ । उकालोमा खस्रिइरहेका पराजुलीका खुट्टाले भ-याङ पाए, उत्साह दोब्बर भयो । किकाको बालगृह वरिपरि हरियाली थियो, तरकारी लहलह थिए । कमलाको मनमा चित्र बन्यो, म पनि यसरी नै व्यवस्थित गर्ने छु ।
आफ्नो अठोट साकार पार्न उहाँ ठाउँ ठाउँका बालगृहहरू हेर्न र बुझ्न जानुभयो । २०६८ सालमा अमोर सेवा नेपाल दर्ता भयो । भाडाको घरमा कार्यालय राखियो । भवन बनेपछि २०७१ बाट मात्र बच्चा राख्न थालियो । कमला त्यत्तिकै हक्की र साहसी बन्नुभएको होइन । पाइला पाइलामा बेहोर्नु परेका हन्डरले सिकाएको हो । संस्था दर्ता गर्ने बेलैदेखि अनेक उल्झन आए । कसैले जग्गा उपयुक्त छैन भन्थे, कसैले यो ठिटी एक दुई वर्षपछि बिहे गरेर जान्छे, बालबालिकाको बेहाल हुन्छ भन्थे । कसैले फेदीखोलाको ग्रामीण भेगमा किन बालगृह चाहियो पनि भने ।
पराजुलीको सपना साकार पार्ने जग बनिदिनुभयो उहाँका बाआमा । संस्थाको नाममा कटुञ्जेस्वाँराको १३ आना जग्गा दिनुभयो । अनेक सास्ती झेल्दै बालगृह दर्ता भयो । त्यही जग्गामा अहिले दुई वटा भवन छन् । अचेल पराजुलीका बाआमालाई बालगृहका बालबालिका नातिनातिना जस्तै प्रिय भएका छन् । उहाँ कहिलेकाहीँ बाआमाको दृष्टिकोण बुझ्न भन्नुहुन्छ, “अब म बिहे गर्छु ।” कमलाको चलाखी नबुझ्ने बाआमा हिम्मत थप्नुहुन्छ, यत्रो काम गरेपछि पछि हट्नु हुँदैन । जति दुःख परे पनि हामी साथ दिन्छौँ । कहिलेकाहीँ मनमा आउने तर्कना पनि कर्कलाको पातका पानी झैँ हराउँछन् ।
सुरुवातमा सर्केटारीमा भाडामा घर लिएर कार्यालय सुरु गरिएको थियो । संस्थाले दानमा पाएको जग्गामा २०७० सालमा पहिलो भवनको तल्लो तला बन्यो । सुरुमा ११ बच्चा राखियो । बेला बेलामा सरकारले बालगृहका मापदण्ड बदल्दै गयो । सँगसँगै फेरिँदै गए अमोरका भवन र व्यवस्था पनि । बच्चाहरू थपिए, भवनका तला थपिए ।
पूर्वाधार र बालबालिका थपिएसँगै स्थानीय र सङ्घ सरकारको साथ पनि मिल्दै गयो । मुठी दानबाटै बालगृह चलिरहेको छ । विदेशी सहयोग अहिलेसम्म लिइएको छैन । भवनका पूर्वाधारमा राज्यको करिब एक करोड रुपियाँ लगानी भएको छ । बाहिरी सहयोग करिब २५ लाख रुपियाँ जुटेको छ । पराजुलीले मातृत्व दिनुभएका अधिकांश बालबालिका बाआमा नभएका छन् । कसैको आमा अर्कोसँग गएको, सम्पर्कमा नरहेका, अलपत्र परेका छन् । तीमध्ये २६ जना दामगाडे माध्यमिक विद्यालयमा पढ्छन् । यो मावि बालगृहबाट २५ मिनेटमा पुगिन्छ । चार जना सिद्धार्थ उच्च माविमा पढ्छन् ।
बालगृहमा हुर्किइसकेका बालबालिकालाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु अर्को चुनौती भएको छ । पराजुली भन्नुहुन्छ, “दुई जनाले त विदेश जान्छु भन्न थालिसके । पाँच छ जना बच्चाको जन्मदर्ता छैन । राज्यले सजिलो कुरा गर्छ तर काम गर्दा अप्ठेरो परिरहन्छ ।” उहाँले हुर्काउनुभएका सबै बालबालिका अहिलेसम्म बालगृहमै छन् । स्वतःस्फूर्त ती बालबालिकामध्येबाटै कसैले बालगृह सम्हालिदिए हुन्थ्यो भन्ने उहाँलाई लागिरहन्छ । बालबालिकालाई विदेश जाने होइन, लोकसेवा पढ्न उत्प्रेरणा दिने गरिएको छ ।
दुई जना बच्चाले नागरिकता पाए । अब एक जनाको निस्कने बेला भएको छ । प्रशासनले नै सिफारिस गरेका बच्चाको पनि नागरिकताका लागि प्रशासनिक हैरानी बेहोर्नु परेको उहाँको गुनासो छ । अचेल गाउँहरू वृद्धाश्रम जस्ता भएका छन् । बाआमा घर कुर्छन्, त्यहाँ न छोराछोरी छन्, न नातिनातिना । पराजुलीको योजना छ, दिवा ज्येष्ठ नागरिक सेवा केन्द्र चलाउने । जहाँ बालगृहका बालबालिकालाई गाउँका बाआमाले छोराछोरी नातिनातिनाको माया दिऊन् र संस्कार सिकाऊन् । ज्येष्ठ नागरिकको समय पनि सहज रूपमा बितोस् ।