काठमाडौं, पुस ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ ।
भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार राति प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच भेटवार्ता भएको हो ।
यसअघि बिहीबारै श्रीलङ्काका विदेशमन्त्री साब्रीले परराष्ट्रमन्त्री एनपी साउसँग भेट गर्नुभएको थियो । भेटमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ ।
श्रीलङ्काका विदेशमन्त्री साब्री बुधबार चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएको थियो । नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आउनुभएको हो ।